‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’ स्थापना

नुवाकोट । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को नुवाकोटमा स्थापना गरेको ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’को औपचारिक शुभारम्भ गरिएको छ । सिटिइभिटीअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–१ बान्द्रेमा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले औपचारिक रुपमा उद्घाटन गरेका हुन ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षामार्फत त्यसलाई श्रम हँुदै सीपमा रुपान्तरण गर्ने र त्यसैमार्फत उत्पादन बढाई मुलुकमा समृद्धि ल्याउन सकिने लक्ष्यअनुसार नेपाल सरकारले अहिले प्राविधिक शिक्षामा जोड दिँदै आएको बताए । शिक्षालयमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञानसहित होटल तथा पर्यटन अध्ययन गरेर तीन विषयमा यसै शैक्षिक सत्रदेखि अध्यापन गराउन लागिएको छ । आगामी शैक्षिक सत्रदेखि सिभिल इञ्जिनीयर अध्यापन गराउन सम्बन्धन प्राप्त भएको छ भने फार्मेसी अध्यापन गराउन अनुमतिको प्रक्रियामा रहेको छ ।

शिक्षालय उद्घाटन कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेससभा सदस्य बद्री मैनालीसहित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवालाले सिटिइभिटीमार्फत अनुमति प्राप्त भए पनि शिक्षालय चलाउन बजेटको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

शिक्षालय सञ्चालनको लागि अनुमति प्राप्त भए पनि बजेट सुनिश्चित नभएका कारण सङ्घ र प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत बजेट उपलब्ध गराएका छन् । बहुप्राविधिक शिक्षालयको पूर्वाधारका लागि शैक्षिक सामग्री र फर्निचरलगायतको व्यवस्था तत्कालको लागि ‘शहीद प्रतिष्ठान’मार्फत उपलब्ध गराइएको छ । शिक्षालय प्रमुख पुष्पराज प्याकुरेलको अनुसार शिक्षालयको आफ्नै भवन निर्माण पूरा नभएसम्म शहीद प्रतिष्ठानबाटै अध्यापन सञ्चालन गर्न लागिएको छ ।

विदुर नगरपालिका–१ स्थित इन्द्रेणीघाटको सिमुटारमा स्थापना गर्न लागिएको शिक्षालयको लागि चालु शैक्षिक सत्रदेखि नै अध्यापन गराउन विद्यार्थी भर्ना प्रक्रिया पूरा भइसकेको छ । सम्बन्धन प्राप्त भएसँगै भर्ना खुलाउन हतारिएकाले शिक्षालयको उद्घाटनमा केही ढिलाइ भएको शिक्षालय प्रमुख पुष्पराज प्याकुरेलले बताए । शिक्षालयमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञान र होटल तथा पर्यटन सम्बन्धी अध्यापन गर्नको लागि ४०–४० जनाको दरले १२० जना कोटा सुनिश्चित गरिएको छ । तोकिएको कोटाको लागि सिटिइभिटीबाटपूर्ण रुपमा छात्रवृत्ति रहने छ, भने विदुर नगरपालिकामार्फत नगरभित्रका विद्यार्थीको लागि एक जनालाई पूर्ण छात्रवृत्तिसहित चार सिटको लागि कोटा निर्धारण गरिएको छ । नुवाकोट घर भएका विद्यार्थीको लागि चार जनाको सिट सुनिश्चित गरिएको शिक्षालयले जनाएको छ ।

नुवाकोटको तुप्चेमा जन्मिएका पोष्टबहादुर बोगटीको हृदयघातका कारण २०७१ भदौ ३० गते निधन भएको थियो । उहाँ तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका थिए । निडर, इमान्दार तथा जनप्रिय नेताको रुपमा रहेको उनको छविको सम्मानका लागि सिटिइभिटीमार्फत उनकै नाममा नुवाकोटमा शिक्षालय स्थापना गरिएको हो ।– रासस

प्रतिक्रिया