कोरोनाको संक्रमणदर उस्तै

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर विगतमा जस्तै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । विहिवार गरिएको ९ हजार ४९१ पिसिआरमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । यो संक्रमणदर १७ प्रतिशत हो । यसअघि पनि १६ देखि २१ प्रतिशतसम्म यो दर रहेको छ ।  देशभर पछिल्लो २४ घण्टामा एक हजार ६१४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४० महिला र ९७४ पुरुष गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको छ । परीक्षणअनुसार संक्रमितको दर १३ दशमलब ४ रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो समय एक हजार ४२७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ९ हजार ४३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ७९३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ५७५ होम आइसोलेशनमा छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये ३३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर ६८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४१२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६३७ महिला र ४४८ पुरुष छन् । त्यसमध्ये काठमाडौँमा सात हजार ६४४, ललितपुरमा एक हजार ४९४ र भक्तपुरमा ५८९ जना सक्रिय संक्रमित छन् । हाल मनाङ, डोल्पा र मुगुमा शून्य संक्रमित छन् ।

प्रतिक्रिया