प्याराग्लाइडिङमा आकर्षण बढ्दो

काठमाडौं । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् । लामो समयको लकडाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उडान गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।

सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न अहिले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यले अहिले ५० प्रतिशत छुट दिएपछि आन्तरिक पर्यटकको अकर्षण बढ्दो छ । प्रकृतिसँग रमाउनेहरुका लागि राम्रो माहोल सिर्जना भएको र व्यवस्थापन पनि चुस्त रहेको उनले बताए । अहिले एउटा कम्पनीले प्रतिदिन दुई पटक मात्रै उडान भर्ने व्यवस्था गरिएको छ । समय तालिका मिलाएर उडानको अनुमति दिइएको उनले बताए । एकै समयमा सबैलाई उडान अनुमति दिँदा टेकअप, ल्यण्डीङको समस्या उत्पन्न भइ दुर्घटनाको सम्भावना हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समय तालिका निर्धारण गरिएको हो ।

अहिले पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिसकेका छन् । कोभिड १९ लाई मध्यनजर गर्दै सरकारले लागु गरेको सुरक्षा मापदण्ड भित्र रहेर पोखरामा प्याराग्लाइडिङ सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया