बर्दिबासमा बालिका हत्याप्रकरण : प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु भएको छ। ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि भएको हत्याविरुद्ध बर्दिबासमा मंगलबार प्रदर्शन भएको थियो । गोली लागेर गम्भीर घाइते भएका बर्दिबास १ का ४३ वर्षीय बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारको क्रममा गएराति ग्राण्डि अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।

स्थानीयवासीको प्रदर्शनमा प्रहरीको गोली लागि तीनजना घाइते भएका थिए। गोली लागेर घाइते भएका अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर रहेको बताइएको छ । गोली लागेपछि न्यौपानेलाई स्थानीय बिनायक हस्पिटलमा सामान्य उपचार गरी थप उपचारको लागि मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।

गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो। बालिकाको बलात्कारपछि हत्या भएको आरोप आफन्त र स्थानीयले लगाएका छन्। बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया