जयपृथ्वीबहादुर सिंह सम्बन्धि केही प्रसंग

श्यामबहादुर खडका

जयपृथ्वीको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कामकाबारेमा लेखाजोखाको विस्तृत अध्ययन, अनुसन्धान र चर्चा हुन नसक्नुलाई विडम्बना नै मान्नु पर्दछ । केही नयाँ काम गरेमा गाथगादी ताकेको भन्ने आरोप लाग्ने जमानामा उनले गरेका काम चानचुने दुस्साहस थिएनन् । उनलाई राष्ट्रिय विभूति घोषणा गर्नका लागि केही अगुवाहरूको दौडधुप सफल हुन सकेको छैन । उनको योगदान र दर्शनको महत्व नबुझेर ‘कौडीको भावमा मिल्कन्छ भिल्लका देशमा मणी’ जस्तै भएको छ । उनका धेरै कामहरू मध्ये केही कामका यस्ता रहेका छन् ।

शिक्षाका अभियन्ता : केहीवर्ष पहिले बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकहरूको दीक्षान्तमा उपस्थित एक वक्ताले शिक्षा क्षेत्रमा योगदान दिने व्यक्तित्वको चर्चा गर्दा जयपृथ्वीको नाम लिएका थिए । मानिसहरू शिक्षित गराउन देशभरी विद्यालय खोल्ने उनको उद्देश्य थियो । यस सम्बन्धमा राणाहरूसँग उनको विवादभई नक्सालको विद्यालय आफ्नो राज्य बझाङमा सारेका थिए । उनले स्थापना गरेको सत्यवादी स्कुलको म पनि एक विद्यार्थी हुँ । सत्यवादी पाठशाला पहिले काठमाडौंको नक्साल, बझाङको मेल्लेक (त्यस नामको विद्यालय त्यहाँ पनि छ) र पछि भोपुरमा स्थानान्तर भएको थियो । विद्यार्थीका लागि आवश्यक पर्ने पाठयपुस्तक उनले आफँैले तयार गरेका थिए ।

मानवअधिकार सिद्धान्तका जन्मदाता : विभिन्न मानिस, समाज र देश अथवा संस्थाले आफ्नो हिसाबले ब्याख्या र परिभाषित गरेको मानवअधिकारको कुरा अहिले जताततै छ्यापछ्याप्ती प्रचलनमा आएको छ । कतै कतै यसलाई राजनैतिक स्वार्थपूर्तिका लागि प्रयोग गरेको पाइन्छ । यस सिद्धान्तका अवधारणालाई सर्व प्रथम मानवतावादको रूपमा प्रयोग गरी जयपृथ्वीले नै पश्चिमी जगतको समाजलाई सिकाएका थिए ।

पहिलो विश्वयुद्धका कारण क्षतविक्षत भएका पश्चिमी समाजमा चलिरहेको दास प्रथा, जातिय, रंग र लैगिंक विभेद प्रर्याप्त मात्रामा थियो । विभिन्न समुदायहरू आपसमा लडेर ठुलो धनजनको क्षति भएको थियो । पहिलो विश्वयुद्धको शुरुवातमा, भविष्यका युद्धहरू रोक्न अन्तर्राष्ट्रिय संगठनको रुपमा ‘लिगअफ नेसन्स’ गठन गरिएको थियो । शान्ति स्थापनाको लागि यस संस्थाको कामप्रति जयपृथ्वी विश्वस्त थिएनन् । उनले आसन्नअर्को विश्वयुद्धको खतरा महसुस गरी सकेका थिए । नभन्दै दोस्रो विश्वयुद्ध भएको थियो यसको कार्य क्षमताको बारेमा जयपृथ्वीले २२ अप्रिल १९२९ जेनेभामा दिनुभएकोे प्रवचनमा भनेका थिए, ‘तपाईंलाई थाहा छ लिगअफ नेशनले राष्ट्रहरू बीचमा शान्तिकायम गर्न र यसको अभिवृद्धि गर्न प्रयास गर्दैछ । तर लिग अफ नेशनको रुपमा यसले कुनै पनि देशको आन्तरिक मामिलासँग कुनै सरोकार राख्दैन भने यसले सानो इकाइमा रहेका वर्ग, धर्म, पार्टी, समुदायका व्यक्ति र यीनीहरूको फरक राष्ट्र बनाउने मानसिकतालाई कसरी असर गर्न सक्छ ?’

जयपृथ्वीको मानवतावादलाई त्यस समाजले मानवअधिकार शब्दप्रयोग ग¥यो । पूर्वीय सिद्धान्तमा आधारित यो दर्शनलाई जयपृथ्वीले सिकाएको भन्ने कन्जुस्याइँ गरियो । अहिले पश्चिमी जगतले समानता, भाइचारा मानवअधिकार आदिको कुरा जति गरे पनि तिनीहरूलाई त्यो दर्शन सिकाउने महापुरुषहरू विवेकानन्द, अरविन्द र जयपृथ्वी नै थिए । जयपृथ्वीले विभिन्न ठाउँमा दिएको प्रवचनबाट समेत विश्वमा शान्ति स्थापना, समानता, भाइचारा र मानवअधिकारको उनको दृष्टिकोण प्रष्ट हुन्छ । उनले जात, जातिवर्ग देश वा रंगका भेदभावका बारेमा प्रतिक्रिया स्वरूप भनेका थिए, ‘शान्ति र सदभावनाको पक्षमा म यहाँआएर मानिसहरूलाई प्राप्तहुने पीडाको बारेमा विचार आदानप्रदान गर्दै, मानव पीडाहरूको निवारणका साझाआधार पत्तालगाउन सुझावप्राप्त गर्न चाहान्छु । म त्यस्तो सत्य र साझा सिद्धान्तहरू पत्ता लगाउनका लागि प्रयासरत छु जुन सबै मानिसका जुनसुकै जात, जातीवर्ग देश वा रंगका लागि लागू हुन सकोस् ।’

शान्तिप्राप्त गर्न सकिने सम्बन्धमा उनको मत थियो । ‘म प्रस्तावित गर्दछु कि आत्म त्यागको सिद्धान्त होइन, प्रत्येकले उसलाई आफ्नो स्वार्थ छोड्नु भन्दछ, तर यो स्वयं संरक्षणको सिद्धान्त हो, मानिसहरूलाई भन्नु छ कि उनीहरूको हितको लागि हो उनीहरूलाई शान्तिमय र कानुनपालन गर्नै पर्छ र त्यो हो । एकता र सहकार्यको सर्तमा तिनीहरू अधिकशान्ति र आरामका साथ बाँच्न सक्दछन् जुन विभाजन र मत भिन्नताको अवस्थाहरू अन्तर्गत छ ।’

मानवतासम्बन्धी उनको प्रवचनपछि २२ अप्रिल १९२९ जेनेभामा मानवतावादी क्लबको शाखा खोलिएको थियो । उक्त शाखा खोल्न सहयोग सहयोग गर्ने लेडी ब्लुमफिल्ड त्यस संस्थाको सम्मानित सचिव तोकिएकी थिइन् । जसले पछि सक्रिय मानवअधिकारवादीको रूपमा काम गरिन् । उनको दर्शन संयुक्त राष्ट्र संघको बडापत्रको पहिलो अध्यायको दफा १ को उद्देश्य र सिद्धान्तमा उपदफा ३ मा प्रतिबिम्वित भएको छ ।

‘एक आर्थिक, सामाजिक, सांस्कृतिक, वा मानवीय चरित्रको अन्तर्राष्ट्रिय समस्याहरू समाधान गर्न, र मानव अधिकारको सम्मान र प्रोत्साहित गर्न र जाति, लिंग, भाषा, वा धर्मको कुनै भेदभावबिना सबैको मौलिक स्वतन्त्रताका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न ।’ सोही दर्शनलाई संयुक्त राष्ट्र संघको महासभाको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणाको अनुच्छेद २ मा अझ व्यवस्थित रूपमा यसरी राखिएको छ, ‘यस घोषणामा तय गरिएका सबै अधिकार र स्वतन्त्रताको सबै हकदार छन् । कसैलाई जाति, रंग, लिंग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य स्थितिलाई हेरेर कुनै पनि प्रकारको भेदभाव गरिने छैन । यसबाहेक, कुनै पनि ब्यक्ति सम्बन्धित देश वा क्षेत्रको राजनीतिक, क्षेत्राधिकार वा अन्तर्राष्ट्रिय स्थितिको आधारमा कुनै भेदभाव गरिने छैन, चाहे त्यो स्वतन्त्र, विश्वास, गैर–स्वशासित वा अन्यकुनै सार्वभौमिकताको सिमितताको अधिनमा छ ।’

नैनीतालको घटना : गाउँमा एक जना ठूलो बुबाको नाम अतित भए पनि धेरै वर्ष नैनीतालमा बिताएर आएकाले सबैले सम्बोधन गर्दा नैनीतालले भन्ने गर्दथे । यो प्रसंग प्रस्तुत गर्दा वहाँलाई सम्झिनुपर्ने नै हुन्छ । नैनीतालमा हुँदा वहाँको साथमा एक जना नौरा, बझाङका सिंह थरका मानिस (नाम अज्ञात) पनि थिए । दुवै नैनीतालमा बसेका जयपृथ्वीले पाल टाँगेका ठाउँमा पुगेर कुरा गर्दै थिए, ‘यी हाम्रा राजाका पाल हुन अरे अब नफर्कने गरी आएका अरे ।’ त्यही बेला ती मानिसले ठूलो स्वरमा डेउडा गीत घन्काए छन् ।

पाल पडया पाल पडया भन्दापाल पडयाका रिताई
रौतेलोे फर्किन्याहोइन गया राजा बिताई ।
(पाल टाँगिएको छ त भन्छन्, तर पाल भने रित्तै छ । न त कुनै राजकुमार भयो । राजा भने अब कहिल्यै नफर्कने गरी आए ) जयपृथ्वीले त्यो मानिसलाई बोलाउन पठाए । गीत गाउने मानिस डराउँदै पालतिर गयो । फर्केर आउँदा जयपृथ्वीले घर ठेगाना आदी सोधेर भावुक भई उनलाई केही रुपैयाँ दिएर घर जान भनेछन् । भर्खरै आएका तिनीहरूको कमाई भइसकेको थिएन । रुपैयाँ पाएको मानिस घर फर्के । ठूलो बुबा धेरै वर्ष बसेर नैनीताल भएर आए ।

कालागोरा गाउँको घटनामा कारबाही : बझाङलगायत जुम्लासम्मका मानिसहरू मुग्लान जाँदा बैतडीको पुर्चुडी, कालागोराको गाउँको बाटो भएर हिँडनु पर्दथ्यो । बाटोमा त्यहाँका मानिसहरूले लठ्ठी तेस्याएर हैरानी दिन्थे । त्यो लठ्ठी नाघेमा बटुवाहरूले जरिवाना तिर्नु पर्दथ्यो । लठ्ठी पन्छाएर अगाडि बढ्दा ‘लठ्ठी हटाएकोमा’ जरिवाना लाग्थ्यो । लठ्ठी भन्दापरबाट जानखोज्दा पनि बाटो हँुदाहँुदै किन अन्यत्र गइस् भनेर जरिवाना तिर्नुपर्दथ्यो । जयपृथ्वीले थाहा पाएर नेपाल दरबारबाट पञ्चखतको माफी ल्याएर त्यहाँ कारबाही गरेपछि उक्त कार्य रोकियो ।

संस्कृत भाषामा जोड : संस्कृत भाषामा रहेका रहस्य र साहित्यहरू विस्तृत रूपमा रहेकाले यसलाई अति पुरानो भाषाको रूपमा लिइन्छ । खास गरी पछिल्लो दशकमा पश्चिमा विद्वानको ध्यान यस भाषाप्रति गएको पाइन्छ । कम्प्युटर सञ्चालन प्रयोजनका लागिसमेत यो भाषा वैज्ञानिक रहेको भन्ने गरेको पाइएको छ । जानकारहरू यसको शब्द भण्डार र उच्चारणमा स्पष्टताले अंग्रेजी र अन्य भाषा भन्दा सिक्नमा सजिलो छ भन्छन् ।

जयपृथ्वीले यस भाषाका सम्बन्धमा इ.स. १९३३ मा उनले जापान भ्रमणका क्रममा जापानी भाषा सुन्दा आफ्नो मातृ भाषासँग मिल्दोजुल्दो पाएको मानेका छन् । बोलीचालीको आधारमा धेरै भिन्नता थिएन । उनले संस्कृतलाई विश्वको सर्वाधिक प्राचिनभाषा र महान संस्कृतिको जननीका साथै सबैभन्दा वैज्ञानिक तरिकाले तयार गरिएको उत्कृष्ट भाषाभन्दै जापानी विद्वानहरूलाई जापानी भाषामा संस्कृत वर्णहरू लागू गर्न सुझाव दिएका थिए । उनले जापानी वर्णभन्दा संस्कृत वर्णका ४८ अक्षर लेख्ने चलन अपनाउँदा त्यति धेरै समय नलाग्ने तर्क दिएका थिए ।

गोरखापत्रको हालसम्मको निरन्तरताले पत्रकारितामा उनको योगदान स्पष्ट छ । वहाई धर्मको पवित्र पुस्तकमा जयपृथ्वीको विचार पनि पाठ गरिन्छ । उनको पुस्तक ज्गmबलष्कm (मानवतावाद) पश्चिमा जगतलाई पूर्वीय दर्शनतिर ध्यान खिच्न सफल भएको थियो ।

प्रतिक्रिया