‘मलगंवालाई उत्कृष्ट नगर बनाउछौँ’

निरसल साह, नगरप्रमख मलगंवा

२० वर्षपछि २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा सर्लाही जिल्लामा रहेको सबैभन्दा पुरानो नगरपालिका मलगंवाबाट मेयरमा विजयी भएका निरसल साहले जनप्रतिनिधिको अभावमा नगरको विकास हुन नसकेको बताएका छन् । मलगंवालाई सर्लाहीकै उत्कृष्ट नमुना नगर बनाउने प्रतिबद्धताका साथ निर्वाचनमा विजयी बनेका मेयर साह सोही उद्देश्यका साथ आफूले काम गरिरहेको बताउँछन् । उनले आफ्नो कार्यकालमा मलगंवालाई उत्कृष्ट नगरका रूपमा विकास गर्ने प्रमुख प्राथमिकता रहेको बताउँदै आएका छन् । यसै सेरोफेरोमा सौर्य दैनिकका लागि एसपी यादवले गरेको संवादको सम्पादित अंश :

नगर प्रमुखका हैसियतले नगर विकासमा तपार्इंको प्राथमिकतामा केके छन् ?
सर्लाहीको सदरमुकामसमेत रहेको मलगंवा यस क्षेत्रकै सबैभन्दा ठूलो र पुरानो ऐतिहासिक नगर हो । यो नगरले वर्षांैदेखि शिक्षा, स्वास्थ्य लगायतका सबै आवश्यकता पूरा गर्दै आएको छ, तर यो नगरको अवस्थामा भने सोचेको जस्तो फरक आउन सकेको छैन । यहाँ विकासका धेरै सम्भावना भए पनि यो नगरको विकास राम्रो तरिकाले हुन सकेको छैन । ०४९ सालमा यो नगरको म उपमेयर हुँदा मैले नै धेरै विकास–निर्माणको कामको सुरुआत गरेको थिएँ । विकास–निर्माणका योजनाहरू अगाडि बढ्न सकेनन् । वर्षांैदेखि विकास–निर्माणमा पछाडि परेको यो नगरको विकासलाई अगाडि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ । नगरका भित्री मुख्य सडक जीर्ण रहेकाले ती सडकको पुनर्निर्माण र अन्य सडकहरूको मर्मत–सम्भार, नगरको सरसफाइ, विभिन्न पार्क निर्माण, पोखरीहरूको सौन्दर्यकरण, भौतिक संरचना निर्माण, सिँचाइ, रोजगारी, शान्ति सुरक्षा र सुशासन मेरो प्राथमिकतामा छन् ।

मलगंवालाई कस्तो नगर बनाउने तपाईंको योजना छ ?
मलगंवा नगर सर्लाहीको प्रमुख केन्द्र हो । यस नगरलाई सोही रूपमा विकसित गरेर लैजाने मेरो योजना छ । यो सहरलाई व्यवस्थित र सडक विस्तार गर्न ठूलो चुनौती थियो, तर नगरवासीको सहयोगमा नगरका विभिन्न स्थानको सडक विस्तारको काम सम्पन्न भएको छ । विकासका योजनाहरू पनि टेन्डर प्रक्रियामा पुगेका छन् । विकास–निर्माणका कार्यहरू युद्धस्तरमा अगाडि बढेका छन् । विस्तार तथा निर्माण हुन बाँकी रहेका नगरका विभिन्न भित्रि सडक र गल्लीहरूको पुनर्निर्माण तथा नालाहरूको निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । अबको केही महिनाभित्र नगरका धेरै भित्रि गल्लीहरू व्यवस्थित हुनेछन् । अधिकांश क्षेत्रमा पानी जम्ने समस्या समाधान हुनेछ । नगर भित्रको मुख्य सडक विस्तार गर्ने योजनादेखि नगरको चक्रपथ सडक र बसपार्क रोडलगायत नगरका अन्य सडकहरू फराकिला पारिएको छ । र नगरका बाँकी अन्य सडकहरू फराकिला पारिँदै छन् । ती सबै काम पूरा भए भने साँच्चिकै मलगंवाको मुहार फेरिनेछ । मेरो र मसँगै निर्वाचित भएका सबै जनप्रतिनिधको एउटै चाहना छ, मलगंवालाई सर्लाहीकै नमुना र उत्कृष्ट नगर बनाउने । हामी सोही दिशातर्फ अगाडि बढिरहेका छौँ ।

यस सहरको विकास–निर्माण, सरसफाइ र ट्राफिक व्यवस्थापनमा निकै चुनौती छन् भनिन्छ नि हो ?
यस सहर सर्लाहीकै सबैभन्दा पुरानो र ऐतिहासिक सहर हो । यसको विकास क्रमशः आवश्यकताअनुसार आपैmँ अगाडि बढेको देखिन्छ । कुनै ठोस प्लानिङ गरेर यो नगर बनाइएको होइन । त्यसैले यहाँको विकास निर्माण, सरसफाइ र ट्राफिक व्यवस्थापन आपैmँमा चुनौतिपूर्ण छ । विगतमा भएको सशस्त्र द्वन्द्वका कारण सुरक्षित बासस्थान मलगंवा भएकै कारण तत्कालीन समयमा धेरै ठूलो संख्यामा विभिन्न गाउँबाट मानिसहरू यहाँ आएका छन् । र सदरमुकामको हिसाबले पनि पछिल्ला केही वर्षमा बसोवास गर्ने उद्देश्यले मानिसहरू यहाँ आएका छन् । सोही कारणले मलंगवाको जनसंख्या छोटो समयमा धेरै वृद्धि भएको छ । छोटो समयमै जनघनत्व धेरै वृद्धि भएका कारण धेरै ठाउँको विकास–निर्माण एकैपटक गर्नुपर्ने अवस्था आएकाले पनि सो कार्य चुनौतीपूर्ण बनेको छ । अर्कातर्फ २० वर्षभन्दा बढी समयसम्म जनप्रतिनिधि नभएका कारण नगरको विकास नै हुन नसक्दा पनि एकैपटक जनआकांक्षा धेरै भएकाले पनि चुनौती धेरै बढेको छ । जनप्रतिनिधिको अभावमा सरसफाइको काममा पनि निकै प्रभाव परेको थियो । फोहोर व्यवस्थापन सबैभन्दा ठूलो समस्या बनेको थियो । यस्तै सडकपेटी मिचेर पसल लगाउने, जहाँ पायो त्यहाँ सवारी पार्किङ गर्नाले ट्राफिक व्यवस्थापन झनै ठूलो चुनौती बनेको थियो । तर, अहिले यी समस्याहरू समाधान भएका छन् ।

देश संघीयतामा गएपछि मलगंवाको महत्व कम हुँदै गएको छ । भन्नेहरूसँग कत्तिको सहमत हुनुहुन्छ ?
म त्यो भनाइसँग अलिकति पनि सहमत छैन । यो नगर सर्लाहीको प्रमुख सहर हो । यसलाई कसैले नकार्न सक्दैन । केही समययता आएर मलगंवाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मारेको छ । शिक्षातर्फ कुरा गर्दा यहाँ धेरै स्कुल–कलेज सञ्चालनमा आइसकेका छन् भने केही ठूला कलेजहरू खुल्ने क्रममा छन् । स्वास्थ्यको क्षेत्रमा पनि विशेषज्ञसहितका अस्पतालहरू मलगंवामै छन् । त्यसैले संघीयता आएपछि मलगंवाको महत्व घटेको छैन, बरु बढेकै छ, अहिले त यो नगर प्रदेश–२ को मध्य भागको प्रमुख नगर बनेको छ । सबै राम्रा र आवश्यक पूर्वाधारहरू यहाँ छन् । शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, रोजगारी, शान्ति सुरक्षा र सुशासन गरी सात वटा कुरामा जोड दिएर यो सहरको विकास गर्नेतर्फ मेरो विशेष ध्यान केन्द्रित हुनेछ । मलगंवालाई एक समृद्ध आर्थिक नगर बनाउनेतर्फ हामीले उद्योग वाणिज्य संघसँग मिलेर काम गर्नेछौँ ।

पर्यटकीय दृष्टिकोणले मलगंवा पछाडि परेको जस्तो लाग्दैन ?
यो नगर यस क्षेत्रकै सबैभन्दा पुरानो नगर भए पनि पर्यटकीय हिसाबले अहिले यो पछाडि नै छ । यसमा म सहमत छु । तर, पर्यटकीयस्थल वाटरपार्क, फनपार्क र चिडियाघरजस्ता पर्यटकीय केन्द्र बनाउने योजना नगरको रहेको छ । नगरमा भएका १० वटा पोखरीहरू मध्ये चार वटा पोखरीको सौन्दर्यकरण गर्ने काम सम्पन्न भएको छ, र बाँकी रहेका ६ वटा पोखरीको सौन्दर्यकरण गर्नका लागि टेन्डरसमेत भइसकेको छ । मलंगवालाई बालमैत्री नगर बनाउन धेरै ठाउँमा बालउद्यानहरू निर्माण गरिनेछन् । यस्तै अन्य थुप्रै मनोरञ्जनस्थल पनि बनाउने मेरो योजना छ ।

बसपार्क निर्माणको काम सुस्त गतिमा छ भने ल्यान्डफिल साइट निर्माणका लागि आवश्यक जग्गा पनि छैन, केही सडकहरू जीर्ण छन्, काम कहिले सुरु हुन्छ ?
हो, बसपार्कको काम हामीले सोचे र योजना गरेजति अगाडि बढ्न सकेको छैन । अब म यसमा आपैmँ कस्सिएर लागेको छु । ठेकेदारलाई फकाउने हो, धम्क्याउने हो, जे गरेर भए पनि चार÷पाँच महिनामा काम पूरा गराउने मेरो योजना छ । हामीले धेरै प्रयास गर्दा पनि निर्धारित समयमा काम पूरा नभएकोमा दुःख लागेको छ । एकातिर फोहोर फाल्ने ठाउँ नभएरै नगरको फेहोर व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । तसर्थ ल्यान्डफिल साइडका लागि आवश्यक जग्गाको पनि छिटै टुंगो लाग्नेछ । रह्यो जीर्ण सडकको कुरा, यसपटक नगरका धेरै सडक मर्मत–सुधार र पुनर्निर्माण हुन गइरहेका छन् । केही दिनपछि धमाधम सडक निर्माण र मर्मत–सम्भारको काम सुरु हुँदैछ । सडक विस्तारका लागि मिचेर बनाइएका घर भत्काउने काम भइरहेको छ । नगरको भित्री मुख्य सडकको विस्तार र निर्माण अबको केही समयभित्रै सुरु हुनेछ । नगर कार्यपालिकाको कार्यालको नयाँ भवन निर्माणको क्रममा रहेको छ । यसका साथसाथै नगरका अधिकांश भित्रि गल्ली र सडक निर्माणको टेन्डर प्रक्रिया सुरु भइसकेकाले पनि छिटै निर्माण प्रक्रियामा जाने निश्चित छ । अबको केही वर्षभित्र साँच्चिकै मलगंवा धेरै तरिकाले फेरिनेछ ।

तपार्इं स्थानीय सरकारको प्रमुख पनि भएकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा के गर्ने योजना छ ?
अहिलेको स्थानीयतह नै स्थानीय सरकार पनि भएकाले स्थानीय तहमाथि धेरै जिम्मेवारी थपिएका छन् । पहिले हामी विकास–निर्माणमा मात्र बढी केन्द्रित हुने गरेका थियौँ । भने अहिले त स्थानीयतह सरकार पनि भएकाले सबै काम यहीँबाट गर्नुपर्ने व्यवस्था छ । त्यसैले सबै कुराको चाँजोपाँजो मिलाउनुपर्ने हुँदा पनि स्थानीय तहले तीव्र रूपमा काम गर्न समस्या छ । हामीले धेरै कुरा मिलाइसकेका छौँ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । एकातिर विकास–निर्माण, सरसफाइ र अन्य भौतिक पूर्वाधार निर्माणमा हाम्रो ध्यान केन्द्रित छ भने अर्कातिर यो नगरलाई यस क्षेत्रकै प्रमुख शैक्षिक, स्वास्थ्य तथा आर्थिक हब बनाउने हाम्रो लक्ष्य छ । नगरभित्र रहेका शैक्षिक निकाय, अस्पतालहरू र विभिन्न उद्योगलाई फस्टाउने, उनीहरूको स्तरोन्नति गर्ने र ती सबैबाट बढीभन्दा बढी जनताले फाइदा लिन सकून् भन्ने मनसायका साथ विभिन्न योजनाहरू बनाइएको छ ।

आफ्नो कार्यकाल सकिँदा मलगंवालाई कस्तो बनाएर छोड्ने परिकल्पना गर्नुभएको छ ?
मलगंवालाई सर्लाहीकै सबैभन्दा उत्कृष्ट, व्यवस्थित, शान्त, सुन्दर र स्मार्ट सहर बनाउने हाम्रो परिकल्पना छ । त्यसका साथै आर्थिक दृष्टिले पनि यो नगरलाई यस क्षेत्रकै प्रमुख केन्द्र बनाउने हाम्रो योजना छ । हरियो, सफा र व्यवस्थित नगर बनाउनेछौँ । त्यसका लागि यहाँका सबै बुद्धिजीवी, नगरवासी, पत्रकार, उद्योगी व्यवसायी, राजनीतिक दल, सांसद तथा अन्य स्वदेशी–विदेशी दातृ निकायको सहयोगको अपेक्षा पनि गरेका छौँ ।

प्रतिक्रिया