अन्तर्वार्ता

‘युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिके’

सौर्य अनलाइन २०७७ कार्तिक २५ गते १३:३२ मा प्रकाशित

थमसरा पुन, अध्यक्ष धवलागिरि गाउँपालिका

नेपालका ७५३ स्थानीय तह मध्ये १८ मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन एक हुनुहुन्छ । भौगोलिक रुपमा विकट धवलागिरि गाउँपालिका प्राकृतिक स्रोतसाधनका हिसाबले सम्भावना बोकेको स्थानीय तह हो । गाउँपालिकाले पूर्वाधार विकास र सामाजिक परिवर्तनमा जोड दिएको छ । गत असारको पहिराले क्षतिविक्षत बनाएको गाउँपालिकामा पहिरोपीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, विकास गतिविधि र सेवा प्रवाहका विषयमा केन्द्रित भएर अध्यक्ष पुनसँग राससका म्याग्दी प्रतिनिधि सन्तोष गौतमले गरेको कुराकानीः

गाउँपालिकाको वर्तमान स्थिति कस्तो छ ?
कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि २०७६ चैत ११ गतेदेखि करीब तीन महिना गरिएको लकडाउन र त्रासले प्रभावित बनाएको जनजीवनलाई हाम्रो पालिकामा २०७७ असार २५ र २६ गतेको पहिराले झनै तहसनहस बनायो । पहिराले हाम्रो पालिकाको वडा नं ६ मराङका विभिन्न ठाउँमा १९ जनाको निधन भयो, दुई जना अझै बेपत्ता हुनुहुन्छ । ६ र ७ ताकमका साथै वडा नं ५ मल्कवाङका केही भागमा पहिराले धेरै जनतालाई घरबासविहीन बनाएको छ । हाम्रासामु कोरोना महामारीसँगै प्राकृतिक विपद्का कारण सिर्जित समस्या व्यवस्थापन गर्ने चुनौती छ । यसपालि हर्षोउल्लास र उमङ्गका साथ चाडपर्व मनाउने वातावरण छैन । जे जस्तो अवस्थामा जहाँ छौं, त्यहीँ रहेर कोरोनाबाट बचेर चाडपर्व मनाउन पालिकावासीलाई आग्रह गर्दछु । दुःखसुःख धैर्य गरी, संयम र मर्यादित भएर चाडबाड मनाउन अनुरोध छ ।

कोरोना महामारी रोकथाममा धवलागिरि गाउँपालिकाले के कस्ता गतिविधि गरेको छ ?
कोरोनाका कारण हाम्रो पालिकाका दुई जनाले उपचारका क्रममा ज्यान गुमाउनुभयो । एक जनाको यसै हप्ता पोखरामा र पर्वतको लामाखेत बस्दै आएका हाम्रो पालिका ठेगाना भएका एक बालकको काठमाडौंमा निधन भएको थियो । पालिकाभित्र भएका व्यक्तिहरुमा अहिलेसम्म संक्रमण भेटिएको छैन तर यातायात सञ्चालन र आवतजावत बढेपछि कोरोना भित्रने जोखिम उच्च छ । वडा, टोलस्तरमा सचेतनामूलक कार्यक्रमसँगै जिल्लास्तरमा विदेशबाट आएकाहरुलाई उद्धार गरेर ल्याई बेनीको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका छौँ, आइसोलेशन बनाउन सहयोग गरेका छौँ । शुरुमा काठमाडौं, पोखरालगायत ठाउँबाट आएका नागरिकलाई पनि ल्याएर क्वारेन्टिनमा राखेर घर पठाएका थियौँ । युवा परिचालन गरेर लकडाउनलाई प्रभावकारी बनाउने हाम्रो अभ्यास अन्यत्र पनि अपनाएको पाएका छौं । रोजगारी गुमाएका र विपन्नलाई एक चरणमा राहतसमेत वितरण गरिएको थियो । अब राहत वितरण गर्नुपर्ने अवस्था आयो भने स्थानीय खाद्यान्न नै वितरण गर्ने उद्देश्यले फुड बैंकसमेत स्थापना गरेका छौँ । धवलागिरि गाउँपालिका आफ्ना नागरिकलाई रोग र भोकबाट जोगाउन जिम्मेवार रुपमा प्रस्तुत भएको छ । समुदाय र नागरिकस्तरबाट साथ र सहयोग पाइयो भने धवलागिरिलाई कोरोनाबाट सुरक्षित बनाइरहन सक्छौँ भन्ने अपेक्षा र अनुरोध पनि छ ।

पहिराबाट घरबास गुमाएकाको पुनर्बास, जोखिमयुक्त बस्ती स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणका लागि के योजना बनाउनुभएको छ ?
घरबास गुमाएकालाई सुरक्षित बास, जोखिममा भएकालाई स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणमा अघि बढेको छ । पहिरोलगत्तै बेपत्ताको खोजी, घाइतेको उद्धार र उपचार गरी राहतको व्यवस्था मिलाएका थियौँ । घर भत्किएका र विस्थापित भएकाहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाएका छौँ । त्रिपाल, जस्तापाताले छाएको टहरा बनाउनाका साथै कतिपयलाई खाली भएका र आफन्तका घरमा राखिएको छ । विपद् व्यवस्थापनका लागि पालिकालाई सहयोग गर्ने संघ, प्रदेश सरकार, सुरक्षा निकाय, प्रशासन, स्वयंसेवक, राजनीतिकर्मी, युवा क्लब, आमा समूह, अगुवा, संघसंस्था र सहयोगदातामा आभार प्रकट गर्दछु । बाढीपहिराबाट विस्थापित भएकाहरुलाई छिट्टै सुरक्षित ठाउँमा जग्गा खोजेर आवासको व्यवस्था गर्ने तयारीमा जुटेका छौं । उपाय र स्रोतको खोजी गरिरहेका छौं । उहाँहरुलाई पहिलेको जस्तै त होइन तर सुरक्षित आवासको व्यवस्थापन गर्न हामी एकदमै तत्पर छौँ । स्थानीय सरकार र जनता मात्र यो चुनौती सामना गर्न धेरै हिसाबले सक्षम छैनौँ ।

संघ र प्रदेश सरकार, विषयगत कार्यालय, संघसंस्था र दाताहरुको पनि हामीलाई साथ र सहयोग पाउने आशा गरेका छौँ । असार २५ गतेदेखि यताको पहिराले मानवीयका अलावा पूर्वाधारलगायत अन्य क्षेत्रमा केकति क्षति भयो र त्यसलाई पुनःनिर्माणका लागि कति बजेट आवश्यक पर्छ भनेर विस्तृत सर्वेक्षण गरिसकेका छौं । प्रत्येक क्षेत्रसँग सम्बन्धित क्षतिको मात्र नभएर पुनःनिर्माणका लागि आवश्यक लागत इस्टिमेटसमेत बनाएका छौँ । यसलाई योजनाका रुपमा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा, जिसस प्रमुख देवेन्द्र केसी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष प्रस्ताव पेश गरिसकेका छौं । उहाँहरुले स्रोत व्यवस्थापन र योजना पार्न सहयोग गरिदिनुहुनेछ भन्ने आशामा छौँ । व्यक्तिगत आवास क्षति भएकाहरुलाई पनि तीन वटा वर्गमा बाँडिएको छ ।

धवलागिरिवासीलाई सुरक्षित रुपमा आवतजावत तथा सर्वसुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपभोग गर्ने वातावरण कसरी बनाउनुभएको छ ?
कार्यपालिकाको पछिल्लो बैठकले गरेको निर्णयअनुसार जारी भएको विज्ञप्ति जनतालाई इच्छा विपरीत भएको र कठिन जस्तो लाग्न सक्छ तर त्यो सहर्ष स्वीकार गर्ने हो भने सजिलो छ । शान्त रुपले सामाजिक दूरी कायम गरेर, भद्रगोल नगरी, अनुशासित भएर, व्यक्तिगत सरसफाइ, खानपानमा ध्यान दिएर जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, त्यहाँ धैर्यसाथ सरुवा रोगबाट बचेर सुरक्षित रुपमा चाडपर्व मनाउनुहोस भनेर सचेत बनाइएको मात्र हो । गाउँ नआऊ, गाउँबाट बाहिर नजाऊ, गाडी नचलाऊ भनेर, जनतालाई घरभित्र थुनेर जनजीवन अस्तव्यस्त बनाउने हाम्रो इन्टेन्सन हैन । चाडपर्वका बेलामा गाउँमा खाद्यान्नको आपूर्ति सर्वसुलभ मूल्यमा र आवतजावत सहज बनाउन पहिराका कारण अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालन गरेका छौँ । लाखौँ खर्चेर सडक खुलाएका छौँ । जनजीवनलाई सहज बनाएका छौँ । लुलाङ र मराङको राम्चे जाने बाटो मात्र खुलाउन बाँकी छ । त्यहाँ पनि छिट्टै मर्मत हुनेछ । हाम्रा जनताले सर्वसुलभ मूल्यमा गुणस्तरीय सामान पाउनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ । चाडबाड मनाउन सजिलो बाटामा गाडी चढेर गाउँमा आउने वातावरण बनाएका छौं ।

 

चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका विकास आयोजना कसरी कार्यान्वयन गर्दै हुनुहुन्छ ?
गत वर्ष लकडाउनका कारण रोकिएका तीन वटा योजना अहिले सञ्चालन भइरहेका छन् । लुलाङको वडा कार्यालय, मुनाको स्वास्थ्यचौकी र शिवाङको हेम नमूना आवासीय माविको भवन बनाउने जिम्मा पाएका ठेकेदारहरुले आगामी पुस महिनाभित्र सक्ने लक्ष्यसहित काम गरिरहनुभएको छ । स्थानीयवासीले रोजगारी पनि पाएका छन् । यस वर्ष बजेट विनियोजन भएका, साझेदारीका योजनाहरुको लगत इस्टिमेट तयार पारेर ठेक्का प्रक्रिया शुरु भएको छ । सबै विद्युतीय माध्यमबाट ठेक्का प्रतिस्पर्धा गराउँदैछौँ ।

वडास्तरका योजनाहरुको समिति गठन भइरहेको छ । अब उपभोक्ता समिति गठन गर्छौँ । सबै योजनाको सर्वेक्षण सकेर प्राविधिकहरुले लगत इस्टिमेट तयार पार्ने काम गरिरहेका छन् । प्रशासन, प्राविधिक र बैंकका कर्मचारी वडामै पुगेर योजना सम्झौता गर्ने र खाता खुलाउने व्यवस्था मिलाउँछौं । बाँकी वडामा गएका योजनामा समिति गठन गरेर वडावडामा प्रशासन, प्राविधिक र बैंकका कर्मचारी गएर सम्झौता र खाता खुलाउँछौँ । विगत वर्षभन्दा यसपालि छिट्टै योजना कार्यान्वयन सम्पन्न गर्ने लक्ष्यसहित योजनाबद्ध हिसाबले अघि बढेका छौँ ।

 

कोरोनाका कारण रोजगारी गुमेर विदेश र शहरबाट गाउँ आएकाहरुलाई उत्पादन, रोजगारी र विकासमा जोड्ने गाउँपालिकाको योजना के छ ?
कोरोनाका कारण धेरै युवा दाजुभाइ, दिदिबहिनीहरु विदेश र शहरबाट फर्किएका मात्र छैनन्, गाउँमै सानोतिनो ज्याला मजदूरी गर्दै आउनुभएकाहरुको पनि रोजगारी गुमेको सत्य हो । यसलाई ध्यानमा राखेर संघीय सरकारको प्रधानमन्त्री रोजगारका साथै हामीले युवा स्वरोजगार कोष बनाएर परिचालन गर्दैछौँ । सहकारीमार्फत उद्यम गर्ने युवालाई अनुदान दिने कार्यक्रम छ । कृषि र भेटरिनरी शाखाका कर्मचारीमार्फत कृषकलाई फर्म दर्ता गराउन सहजीकरण गरेका छौँ । तीन तहका सरकारबाट नदोहोरिने गरी अनुदान सुविधा दिन्छौं। यसबाट युवाहरुलाई रोजगारी र गाउँमै आयआर्जनको अवसर मिल्ने अपेक्षा छ । संघीय र प्रदेश सरकारले तालीम प्याकेजको व्यवस्था गरेका छन् । युवाहरुको माग संकलन गरेर तालीम दिएपछि रोजगारी, आयआर्जन, बाँझिएका जमीन उपयोग र खेर गइरहेको वन पैदावार प्रयोग हुनेछ । शुरुआती प्रयास सफल र प्रभावकारी भयो भने निरन्तरता दिन्छौँ ।

 

धवलागिरि गाउँपालिका स्थापना भएको र जनप्रतिनिधिको नेतृत्व पाएको साढे तीन वर्षेका अवधिमा हासिल भएका मुख्य उपलब्धि के हुन् ?
पार्टीको चुनावी घोषणापत्रभन्दा पनि हामीले भूगोल, समस्या र अवस्थाअनुसार जनतालाई आश्वासन दिएका थियौँ । जनताको आशा, अपेक्षा, सुझाव संकलन गर्दा थुप्रै गरौँला जस्तो लागेको थिएन । अनावश्यक सपना बाँडेका थिएनौँ । घाँटी हेरेर हाड निल्ने भने जसरी चुनावमा प्रतिबद्धता जनाएका थियौँ । हामी निर्वाचित हुँदा दुई वटा वडामा मात्र सडक थियो । केन्द्रीय लाइनको विद्युत् पालिकामा आइपुगेको थिएन, सञ्चार सुविधा थिएन । मराङ, मुदी, लुलाङ र मल्कवाङमा सडक पुगेको छ । ताकममा विद्युतीकरण भएर अन्य वडामा पनि विस्तार हुँदैछ । पानीको स्रोत भएका ठाउँमा माइक्रोहाइड्रोबाट विद्युत् उत्पादन गरेका छौँ । त्यो पनि नभएका ठाउँमा सोलारबाट घर उज्यालो बनाएका छौँ ।

अस्तव्यस्त अवस्थामा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रलाई लयमा ल्याएका छौँ । जनताको प्रशासनिक र विकास कार्यमा पहुँच पुगेको छ । सानातिना समस्याको पालिकाले नै सम्बोधन गरेको छ । हाम्रो कार्यकालमा गुर्जाबाहेकका वडामा सडक पुग्छ । गाउँपालिकाको विकासलाई अघि बढाउन विभिन्न गुरुयोजना, डिपिआर बनाएर कार्यान्वयनको चरणमा लगेका छौँ । धेरै प्रतिबद्धता पूरा ग¥यौँ, केही बाँकी छन् । केही पूरा गर्दैछौँ । सीमित स्रोत र साधनका बाबजुद ताकम र मराङमा स्थानीय जनशक्ति परिचालन गरेर देखाउनलायक विकासका काम गरेका थियौं तर असारको पहिराले तीनै दुई वटा वडालाई तहसनहस बनायो । यसमा हामी दुखित भएका छौँ । पहिलेकै अवस्थामा फर्काउन हामीलाई हम्मेहम्मे छ । यो अस्तव्यस्त अवस्थालाई सम्हाल्न हामीलाई सबैको निरन्तर सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछु ।

 

लैङ्गिक हिसाबले महिला भएकै कारण यहाँले नेतृत्वमा रहँदा समस्याको सामना गर्नुपरेको छ कि छैन ? अन्य जनप्रतिनिधि, कर्मचारी, समुदाय र पार्टीका नेताको व्यवहार कस्तो छ ?
पश्चिमा मुलुकहरुमा जस्तो खुला र स्वतन्त्रता नभएका कारण नेपालका महिलाहरुलाई राजनीतिक र सामाजिक क्षेत्रमा काम गर्न निकै कठिन छ । नेपालमा अहिले जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, न्यायपालिका, संघसंस्थाका रुपमा जोजतिले जिम्मेवारी पाएका छाँै, महत्वपूर्ण अवसर जुटेको मेरो बुझाइ छ । यसअघि पनि विभिन्न कालखण्ड र आन्दोलनमा महिलाको सहभागिता र नेतृत्व भएको थियो । मलगायत धेरै महिला परीक्षणकालमा छौँ भन्ने लाग्छ । चुनौती र अवसर हाम्रासामु दुवै छ । महिलालाई नेतृत्व गर्न, अडान लिन र निर्णय लिन नसक्ने, शारिरिक र मानसिक रुपमा कमलो मन भएका, पछौटेपन भएको भनेर संकुचित सोचले हेर्ने दृष्टिकोण छ ।

जनप्रतिनिधि र कर्मचारी धेरै पुरुष हुनुहुन्छ । महिला प्रशासकीय अधिकृत अहिलेसम्म आउनुभएको छैन । कहिलेकाहीँ संवेदनशील समयमा गोप्य तरिकाले छलफल र सल्लाह गरेर निर्णय गर्ने बेलामा उहाँहरु मकहाँ पनि आउन सक्नुहुन्न । म उहाँहरु भएको ठाउँमा जान पनि सक्दिन । खुलेर समस्या नभन्ने, शंका मान्ने र टिप्पणी गर्ने गरेको महसुस गरेको छु, भोगेको छु । पुरुषलाई जति खुला भएर हिँड्न, डुल्न सजिलो छ, हामीलाई अझै सजिलो छैन । यो सामाजिक अवस्थालाई परिवर्तन गर्न हामीले संघर्ष ग¥यौँ भने आगामी दिनमा सजिलो वातावरण बन्ने अपेक्षा छ । अहिले निकै चुनौती खेपेर बुलन्द भूमिका निर्वाह गर्ने हो भने आगामी दिन सजिलो होला । सकारात्मक भावना र सोच राखेर काम गर्ने हो । काम गर्ने क्रममा भएका कमजोरी सुधार गर्दै लैजाने हो ।

 

स्थानीय सरकारले समन्यव नगरेका, फरक आस्था राख्नेहरुसँग दुरि टाढा भएको, कतिपय कामहरु अपारदर्शी भए भन्ने गुनासो सुनिन्छ । यस बिषयमा यहाँको प्रतिक्रिया के छ ?
कार्यकारी पदमा रहँदा र जिम्मेवारी लिँदा आरोप, हौसला, स्याबासी, शंका, उपशंका हुने दुनियाँको मानवीय स्वभाव र चलन हो । समन्वय नभएको र विपक्षीसँगको दूरी टाढा भएको कुरा केही सत्य पनि होला, केही मिथ्या आरोप हो । गाउँपालिका, कर्मचारी, हामी जनप्रतिनिधि, विकास निर्माण र सेवा प्रवाहका विषयमा केही शंका, गुनासो लिएर आउनेलाई कार्यालयको ढोका खुला छ । मागेको सूचना दिने वातावरण छ तर यहाँ वास्तविकता नै नबुझी सामाजिक सञ्जालमा टीकाटिप्पणी गरिदिँदा दुःख लाग्छ । निर्णय गर्न नसक्ने, बाधा अवरोध भएका अवस्थामा समन्वयको आवश्यकता पर्दोरहेछ । हाम्रो कार्यपालिका र गाउँसभामा सहज रुपमा छलफल हुन्छ । आफ्नै पार्टी र फरक पार्टीका साथीहरुको सुझाव लिएको छु ।

चुनावसम्म पो म नेकपाको सिपाही थिएँ, निर्वाचित भएपछि त मलाई मतदान नगर्ने जनताको पनि अभिभावक हो भन्ने भावनाले काम गरिरहेकी छु । उहाँहरु समस्या पर्दा मकहाँ आउनुहुन्छ, म आवश्यक परेका अवस्थामा उहाँहरुको सहयोग लिन्छु । सहयोग, सहकार्य लिनेदिने राम्रो संस्कार छ हाम्रो पालिकामा । अरोपमा शप्रतिशत सत्यता छैन । आरोप आउनु मानवीय गुण र सामाजिक समस्या दुवै हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय