थप एक हजार ९५४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड–१९ं संक्रमण पुष्टि भएको छ । आज मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा आठ हजार २४८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी आज दुई हजार ९८१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरका २९ गरी काठमाडौँ उपत्यकामा कूल ८४३ जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख २१ हजार ८२४ रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ८८७ पुगेको छ । कोरोना संक्रमित मध्ये हाल २९० जनाको आइसियुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले जानकारी दिए । यसैगरी संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेको मन्त्रालयले जनाएको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा रहेका हाल दुई हजार ८८९ जना रहेका छन् ।

अब हप्ताको दुई दिनमात्र प्रेस बिफ्रिङ हुने
यसैगरी मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको छ । अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र साबिकको समयमा कोभिड–१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४ः३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड–१९ सम्बन्धी तथ्यांक अपलोड गरिने प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया