६५ औँ प्रहरी दिवसः जग्गादाता र उत्कृष्ट कर्मचारी सम्मानित

प्युठान । ६५ औँ प्रहरी दिवसको अवसर पारि प्रहरी भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादातालाई सम्मान गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय प्युठानको प्रारङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि जग्गादातालाई सम्मान गरिएको हो ।

जिल्लाको ऐरावती गाउँपालिका– १ दाङवाङमा प्रहरी चौकीको भवन निर्माणमा जग्गादान गर्ने जग्गादाता दोर्णप्रसाद पाण्डे, मल्लरानी गाउँपालिका– ३ धरमपानीमा भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता गुरुप्रसाद पौडेल र प्युठान नगरपालिका– ९ मरन्ठानामा भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता सत्यबहादुर बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दोसल्ला सहित कदरपत्रले सम्मान गरेका हुन् ।

हाल भाडामा बसेका तथा प्रहरी चौकीको भवन नरहेका प्रहरी चौकीका लागि जग्गा माग अनुसार जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जस अनुसार दाङवाङमा ५ रोपनी, धरमपानीमा ५ रोपनी र मरन्ठानामा ३ रोपनी ४ आना जग्गा निशुल्क प्राप्त भएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।

त्यस्तै दिवसको अवसरमा वर्षभरी उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मानसमेत गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरिक्षक चन्द्रबहादुर गुरुङ, ऋषिराम पछाई, प्रहरी सहायक निरिक्षक टेकबहादुर विष्ट, रामबचन चौधरी, प्रहरी हबल्दार रंगबहादुर हमाल, प्रहरी जवान पुष्पा गौतम, हरिराम थारु, तेजबहादुर बोहोरा, यादबबहादुर बस्नेत, खड्क दर्लामी मगरलाई नगद सहित सम्मानित गरिएको हो ।

दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भुसालले शान्ती सुरक्षा कायम गर्नका लागि प्रहरीको योगदान महत्वपूर्ण रहेको बताए । नेपालसँगै अन्र्तराष्ट्रिय स्तरमा पनि प्रहरीको भूमिका अतुलनीय रहेको भुसालले उल्लेख गरे ।

‘कोभिड १९ का कारण सिर्जित हालको अवस्थामा जिल्लामा प्रहरीको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘आगामी दिनमा पनि शान्ति सुरक्षा कायम गर्न सदैव तत्पर हुनुहोला ।’ द्धन्द्धका क्रममा धेरै प्रहरीहरुले ज्यान गुमाउनुभएको छ, प्रजिअ भुसालले भने, ‘ज्यान गुमाएका प्रहरीको परिवारलाई राज्यले सक्दो सहयोग गर्नपर्दछ ।’

उता जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख मल्लले कोभिड १९ को हालको अवस्थामा प्रहरी सकृय भएर जिल्लामा काम गर्दै आएको बताए । ‘स्थापनाकालदेखि प्रहरीले विभिन्न कालखण्डमा शान्ति सुरक्षा कायम गर्दै आएको छ, प्रहरी प्रमुख मल्लले भने, ‘जिल्लामा शान्ति, सुरक्षा कायम गर्न प्रहरी सदैव तत्पर हुनेछ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया