बन्दाबन्दीले अल्झिएका विकास

कोभिड–१९ को प्रकोप नआइदिएको भए यतिबेलासम्म बागलुङ जिल्लाको दक्षिणी क्षेत्र कालोपत्र सडक सञ्जालले जोडिइसक्थ्यो । सदरमुकाम बागलुङ बजारदेखि बलेवाको नारायणस्थान सम्मको सडकमा वर्षामा हिलो र हिउँदमा धुलोले सताउने गर्दछ । कोरोनाका कारण लामो सयम भएको बन्दाबन्दीले गर्दा यहाँको हिलो र धुलो अझै हटाउन सकिएको छैन ।

०५४ सालमा एसियाली विकास बैंकको सहयोगमा नयाँ मार्ग खोल्ने काम सुरु भएको बागलुङ कुश्मीशेरा सडक कालोपत्र गर्ने कामका लागि त झन् देशमा राजनीतिक व्यवस्था नै फेरिनु प¥यो । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडक स्तरोन्नतिका लागि पटकपटक भएका प्रयासका बाबजुद प्रदेश सरकारले थालेको १० किलोमिटर सडक पक्की बनाउने कामलाई समेत बाधाले छोडेन । कुश्मीशेरादेखि बरेङ जोड्ने थप १० किलोमिटरमा थालिएको कालोपत्रको काम पनि प्रभावित भयो । प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि बलेवा खण्डमा नाली निर्माण, तारजाली लगाउने र सम्याउने काम भएको थियो ।

भौगोलिक हिसाबले ठूलो भू–भाग कटान गर्न बाँकी झण्डै सय मिटर बाटोबाहेक पाग्जादेखि पानी ट्यांकीको ६ किलोमिटर अघिल्लो आवमै कालोपत्र सक्ने गरी निर्माण कम्पनीले धमाधम काम गरिरहेको थियो । पानी ट्यांकीदेखि सरंगे सम्मको बाँकी काम चालू आवमा चल्थ्यो । बन्दाबन्दीमा काम गर्ने मजदुरहरू घर फर्किएपछि लामो समय काम रोकियो ।

३ सय २ जना मजदुरले काम गरिरहेको अवस्थामा भएको बन्दाबन्दीको समयमा आठ/दशजना मजदुर मात्रै काममा थिए । उनीहरूले पनि त्रासमै काम गरेको निर्माण कम्पनी कर्ण बिल्डर्सका सञ्चालक नवीन गुरुङ बताउछन् । बन्दाबन्दीकै बीच सरकारले ठूला आयोजनाका काम नरोक्न भनेपछि सुरु भएको कामलाई वर्षाले प्रभावित ग¥यो । सम्याएको ढुंगामाटो कालीगण्डकीमा मिसिएको छ । भलबाढी तर्काउन बनाएको नाली पहिराले पुरेको छ । सडक अड्याउन बनाइएका मेसिनरी वाल र तारजाली पहिराले बगाएको छ ।

लामो समय बन्द रहेको बलेवा विमानस्थल बागलुङ नगरको पहलमा दुई वर्षपहिले केही समय सञ्चालनमा आयो । नगरले थालेको प्रयासले विमानस्थल कालोपत्रको योजना नागरिक उड्डयन प्राधिकरणबाट प¥यो । धमाधम काम सुरु भएको थियो । माघबाट सुरु भएको काम चैतमा रोकियो । कालोपत्रका लागि आवश्यक पूर्वाधार बनाउन मेसिन चलाउने चालक नै बन्दाबन्दीमा ज्यान बचाउनुपर्छ भनेर हिँडेपछि लामो समय काम रोकिएको बागलुङ नगरपालिका–१४ का वडाअध्यक्ष चक्रबहादुर खत्रीले बताए । दुई वर्षमा सक्नेगरी सुरु भएको यो काम बन्दाबन्दी पहिलेजस्तो खुकुलो भएपछि चलेको छैन । बिस्तारै चलेको कामले विमानस्थलको काम समयमा सकेर हस्तान्तरण हुनेमा खत्री शंका व्यक्त गर्छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम थालेको वर्षौं बित्यो । निर्माण कम्पनीले समयमा काम नथालेका कारण दुई खण्डमा भइरहेको काम बन्दाबन्दी पूर्व केही आशालाग्दो थियो । बागलुङ अक्षेते खण्डमा काम चलिरहेका बेला बन्दाबन्दी भयो । चौधजना मजदुर बन्दाबन्दीकै समयमा जिल्ला छोडेर बाहिरिए । सुस्त चलेको कामसमेत बन्दाबन्दीले रोकिदियो ।

एक मिटर कालोपत्र सडकसमेत नरहेको बरेङ गाउँपालिकाले यो वर्ष एक किलोमिटर भए पनि सडक कालोपत्र गर्ने योजनामा थियो । बरेङ बजारमा गर्ने भनिएको कालोपत्र सडकका लागि प्रदेश सरकार र संघ सरकारसँग साझेदारी गरिएको थियो । दुई करोड खर्चेर बरेङ बजारमा नौ सय मिटर कालोपत्र गर्ने काम निर्माण कम्पनीसँग सम्झौता गरेर सुरु हुने बेलामा भएको बन्दाबन्दीले अलपत्र पारेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

गलकोट नगरपालिकाले गत आवमा बनाएका धेरै योजनाको काम सक्यो तर भुक्तानी दिन पाएन । नगरले छनोट गरेका योजनाहरूको भौतिक प्रगति देखिए पनि बन्दाबन्दीका कारण राजश्व बाँडफाँडबापत नगरलाई आउनुपर्ने रकम नआएपछि दायित्व सार्नुप¥यो । गत आवमा भएका कामको ७० लाख दायित्व सारेर चालू आर्थिक वर्ष सुरु भएपछि भुक्तानी गरिएको छ । ‘हाम्रो भौतिक प्रगति ९५ प्रतिशत हो तर वित्तीय प्रगति बजेट अभावले हुन सकेन,’ प्रशासकीय अधिकृत तुलबहादुर विकले भने, ‘काम चल्ने समयमा आउनुपर्ने राजश्व बाँडफाँडको रकम बन्दाबन्दीले रोकिएपछि तीन करोड सिलिङमा भएको रकम भुक्तानी आएन ।’

प्रसिद्ध जैमिनीधामदेखि कुश्मीशेरा बजार ग्राभेल गर्ने काम गरिरहेको जैमिनी नगरपालिकाले तीन महिना म्याद थप गरेर आधाउधी काम गरायो । चैतमा सुरु भएको काम बन्दाबन्दीले रोकिएपछि म्याद थपेर चालू आवको पछिल्लो तीन महिनामा काम सकेको योजना अधिकृत प्रेमप्रसाद सापकोटाले बताए ।

उल्लिखित प्रतिनिधि पालिकाहरूका ठूला योजना जस्तै बागलुङका १० वटै स्थानीय तहमा सञ्चालन भएका विकासका काममा कोभिड–१९ को प्रभाव परेको छ । स्थानीय तहहरूले सञ्चालन गरेका कार्यक्रमहरूमा भौतिक पूर्वाधारभन्दा सामाजिक विकास र आर्थिक विकासका कामहरू बढी प्रभावित भएको पालिकाहरूले जनाएका छन् । ७ सय ४१ वटा योजना विनियोजन गरेको बागलुङ नगरपालिकाले ५ सय ९१ योजनाको मात्रै फरफारक गर्न सक्यो । ‘केही बहुवर्षे र सफट्वेयरका कामहरू कोभिडका कारण रोकिए,’ योजना अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘कठिन मेहनतका साथ काम गर्दा पनि जनशक्तिको अभावका कारण लक्ष्यमा पुग्न सकिएन ।’

काठेखोला गाउँपालिकाले ९१ प्रतिशत योजना मात्रै सम्पन्न ग¥यो । कोरोनाका कारण सामाजिक दुरी कायम गर्नुपर्ने र भीडभाड गर्न नपाइने भएकाले लक्षित वर्गका कार्यक्रम हुनै सकेनन् । ‘अन्तिमसम्म प्रयास ग¥यौँ तर सकिन,’ गाउँपालिका अध्यक्ष अमर थापाले भने, ‘तालीम, गोष्ठी, सेमिनारका कार्यक्रम धेरै प्रभावित भए ।’

जैमिनी नगरपालिकाले ५ सय ५७ योजनामा काम गर्ने भनेको थियो । विनियोजित योजनाको ८५ प्रतिशत मात्रै प्रगति भयो । नगरले धेरै योजना चालू आर्थिक वर्षमा दायित्व सारेर ल्याएको छ । बरेङ गाउँ पालिकामा महत्वाकांक्षी तीन योजना अलपत्र परे । १ सय ७३ योजनामध्ये बरेङ बजार कालोपत्र, बरेङदेखि नाम्दुकको २ हजार ३ सय मिटर सडक स्तरोन्नति र स्वास्थ्यचौकी भवन निर्माणका काम अधुरै रहे । ‘काम हुँदै थिए, महामारीको चपेटामा परियो,’ अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘कोरोना नियन्त्रणमा समय दिँदा आफैँले बनाएका योजनामा समय दिन सकिएन ।’

गलकोट नगरपालिकाले पाण्डवखानी समुवा सडक स्तरोन्नति गरेको छ । हरिचौर र काँडेबाँस बजारमा ढलान भएको छ । कोत मन्दिर संरक्षणमा ५० लाख खर्चिएको छ । पूर्वाधारमा खासै क्षति नभएको यो नगरमा कोरोनाका कारण बालमैत्री नगर बनाउने, आत्मनिर्भर बनाउन चलाउने भनिएका तालिमलगायत कार्यक्रम भने प्रभावित भए ।

यस्तै निसीखोला गाउँपालिकाले अघिल्लो आवमा सुरु गर्ने भनेको प्रशासनिक भवन बनाउने काम यो वर्ष मात्रै सुरु गरेको छ । प्राथमिक विद्यालयहरूलाई पूर्वाधारमा बलियो बनाउने भनेर निर्माण थालिएका दुई वटा विद्यालय भवन निर्माणमा असर प¥यो । सबैभन्दा धेरै असर भएका काममा समेत भुक्तानी दिन नपाएका कारण भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

ताराखोला गाउँपालिकामा शिक्षातर्फका योजना धेरै प्रभावित भए । ‘विद्यालय नै क्वारेन्टिन बनाउँदा काम हुने समयमा जिम्मेवारी दिन सकेनौँ,’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘आर्थिक विकासको सूचक कृषि र पशुपालनका कार्यक्रम प्रभावित हुँदा धेरै क्षति भएको छ ।’  ढोरपाटन नगरपालिकाले बनाउने भनेका कतिपय पूर्वाधारहरू ठेक्कामै जान पाएनन् । ‘उपभोक्ता समितिमार्फत हुने काम रोकिएनन् तर ठेक्काका काम गर्न सकिएन,’ लेखा अधिकृत शिव शर्माले भने, ‘हामीलाई यसपटक राजस्व बाँडफाँड र भएको रकमसमेत कोभिडका लागि खर्च गर्दा समस्या भयो ।’

पूर्वाधार विकासका ९६ योजना बनाएको तमान खोला गाउँपालिकाले ९३ योजनाको काम सक्यो । तर महत्वपूर्ण मानिएका तीन योजना सुरु नै हुन पाएनन् । ‘हाम्रोमा पूर्वाधार, सामाजिक र आर्थिक विकासका क्रियाकलाप समान हिसाबले सञ्चालन गर्नुपर्ने थियो,’ प्रशासकीय अधिकृत प्रभात लामिछाने भन्छन्, ‘पहिले स्वास्थ्य सुरक्षा भन्नेमा लागियो, सावधानीबीच पनि धेरै काम भएकै मान्नुपर्छ ।’

संघ र प्रदेशले सञ्चालन गरेका योजनाको तुलनामा स्थानीय तह आफैँले बनाएका योजनाका काम धेरै भएका छन् । ‘अनुगमन र निरीक्षण महत्वपूर्ण पाटो रहेछ,’ निसीका अध्यक्ष पौडेल भन्छन्, ‘हामीले आफ्नै काममा ध्यान दिनुप¥यो, माथिका कार्यक्रम धेरै रोकिए ।’ बन्दाबन्दीका कारण स्थानीय तहले संकलन गर्न पाउने राजसवमा समेत कमी आएकाले लक्ष्यमा पुग्न नसकिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

प्रतिक्रिया