कालिकोटको शैक्षिक क्षेत्रमा समस्यै समस्या, सरोकारवाला बेखबर

कालिकोट । जिल्लास्थित खाडाँडाचक्र नगरपालिकाकको शैक्षिक क्षेत्रमा समस्यै समस्या रहेको यहाँ आयोजित एक कार्याक्रमका सहभागिले बताएका छन् ।

इन्सेक कालिकोटको आयोजनामा असोज २२ गते आयोजित शिक्षाको अधिकारबारे शिक्षक अविभावक र विद्यार्थीबीच भएको अन्तरक्रिया कार्याक्रममा सहभागीहरुले यस्तो गुनासो राखेका हुन् ।

सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत शिक्षा अधिकार अन्तरक्रिया कार्याक्रममा सहभागि शिक्षक, विद्यार्थी र अविभावकहरुले खाँडाचक्र नगरपालिकाभित्रका अधिकांश विद्यालयहरुमा खानेपानी, सौचालय र शिक्षक दरवन्दीको अभाव रहेको बताए ।

इन्सेक जिल्ला प्रतिनिधी कालीबहादुर मल्लको अध्यक्षतामा सञ्चालित कार्याक्रममा जनजिवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले कोभिड १९ का कारण क्वारेन्टाइन राखिएका विद्यालयमा भौतिक सम्पती क्षति भएकाले स्थानीय सरकारको ध्यान जानुपर्ने धारणा राखेका छन् ।

मानवअधिकार समूह खाँडाचक्रकी अध्यक्ष अविसरा अधिकारीले खाँडाचक्र नगरपालिकामा रहेका जनज्योति मावि, हुपिडाडा मावि, नवज्योति आधारभूत विद्यालयमा खानेपानीको अभाव रहेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले जिल्ला वाहिर पढ्न जाने अवस्था नभएपछि स्थानीय विद्यालयमा भर्ना भएका बालबालिकाहरुले पाठ्यपुस्तक नपाएकोले तत्काल व्यवस्थापन गर्नसमेत माग गरिन् ।

बालअधिकार चेतना समूह जनज्योति माविका अध्यक्ष रविन्द्र विकले अहिले कोरोनाका कारण विद्यालयमा धेरै विद्यार्थी भर्ना भए पनि मावि तहका शिक्षकहरु विद्यालयमा नपुगेको बताए ।

कार्यक्रममा खाँडाचक्र नगरपालिकामा रहेका विद्यालयहरुमा खानेपानी, सौचालय, शिक्षक दरवन्दी लगाएतका समस्यका विषयमा छलफल भएको थियो । कार्याक्रममा नेपाल पत्रकार महासंघका सचिव खडानन्द अधिकारी, शिक्षक लालुप्रसाद भट्टराई लगाएतले धारणा राखेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया