एकै दिन २ हजार २ सय ५३ संक्रमित

काठमाडौं । आइतबार एकै दिन २ हजार २ सय ५३ संक्रमित फेला परेका छन् । लगातार तेस्रो दिन पनि दुई हजारभन्दा बढी संक्रमित भेटिएको हो । पछिल्ला तीन दिनमा मात्रै ७ हजार ९५ जना संक्रमित भेटिएका छन् । यो दर पहिलाको भन्दा निक्कै उच्च हो ।  भदौदेखि नेपालमा दैनिक संक्रमितको संख्या एक हजारको हाराहारीमा रहेका थिए । भदौको अन्त्यतिर आउँदा विस्तारै यो संख्या १ हजार २ सयको हाराहारीमा आएको थियो । असोजको सुरुआतदेखि दुई साता यो संख्या बढेर १ हजार ६ सयको हाराहारीमा पुग्यो । अहिले भने यो संख्या बढेर दुई हजारभन्दा बढी भएको छ । शुक्रबार सबैभन्दा बढी २ हजार ७ सय २२, शनिबार २ हजार १ सय २० र आइतबार २ हजार २ सय ५३ जना संक्रमित भेटिएका छन् ।

संक्रमणदर पनि पछिल्ला तीन दिनमा १७ प्रतिशत देखिएको छ । कुल परीक्षणका करिब १७ प्रतिशत संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमण दर शुक्रबार १८ दशमलव ४६ प्रतिशत, शनिबार १६ दशमला ३३ प्रतिशत र आइतबार १७ दशमलव ६२ प्रतिशत रहेको छ । सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन् । जसले गर्दा उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिएको देखिएको छ । यद्यपि सरकारले आधिकारिक रूपमा केही नबताए पनि काठमाडौंको संक्रमण दर हेर्दा समुदायमा व्यक्तिबाट व्यक्तिमा सर्ने क्रम तीव्र भएको छ ।

आइतवार पनि कुल संक्रमणको ७१ प्रतिशत संख्या उपत्यकामा नै भेटिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार काठमाडौंमा १ हजार ३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जना संक्रमित थपिएका छन् । उपत्यकाभन्दा बाहिर भने मोरङमा सबैभन्दा धेरै ८१, कैलालीमा ५५, चितवन र रुपन्देहीमा ५२÷५२, बाँकेमा ५०, नवलपरासी पूर्वमा ४० जना संक्रमित भेटिएको उनले बताए ।

संक्रमितको दैनिक संख्या बढे पनि निको हुने दर पनि उल्लेख्य रहेको छ । विगत २४ घण्टामा १ हजार ३ सय २९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । कुल संक्रमित भने ८६ हजार ८ सय २३ पुग्दा देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

विगत २४ घण्टामा एक नवजात शिशुसहित चार महिला र तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पाँचदिने बालिकादेखि ७७ वर्षसम्मका व्यक्तिको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको प्रवक्ता गौतमले बताए । ती बालिका मकवानपुरकी हुन् भने अन्य मृतक चितवन, काठमाडौं, ललितपुर, बाँके र कञ्चनपुर जिल्लाका हुन् । योसँगै कुल मृतकको संख्या भने ५ सय ३५ पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ६५ प्रतिशतको मृत्यु भएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमण बढेको भन्दै जो जहाँ बसेको छ त्यहीँ बसेर दसैँ मनाउन अपील गरेको छ । दसैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने वा बाहिरबाट उपत्यका भित्रिँदा जोखिम बढ्ने भन्दै मन्त्रालयले यस्तो अपिल गरेको हो । ‘दसैँ अर्को साल पनि आउँछ । योपटक जो जहाँ छौँ, त्यहीँ बसेर दसैँ मनाऔँ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले भने । यो वर्षको दसैँ १ कात्तिकदेखि सुरू हुँदै छ । चाडबाडमा भिडभाड बढ्ने भएकाले सचेत रहन मन्त्रालयले अनुरोध गर्दै आएको छ

प्रतिक्रिया