कोरोनाबाट वरिष्ठ चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण पहिलोपटक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको हो ।  कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन रहेका सापकोटा उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । ५९ वर्षीय डा. सापकोटा २९ भदौदेखि सोही अस्पतालमा उपचाररत रहेकोमा श्वासप्रश्वासमा समस्या देखा परेपछि १ असोजमा अस्पतालको कोभिड विशेष आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उनले मधुमेह र उच्च रक्तचापको नियमित औषधि लिइरहेका उनको मधुमेह नियन्त्रणमा नरहेको अस्पतालले जनाएको छ । डा. सापकोटालाई सुरुमा अक्सिजन मात्रा सामान्य बनाउन तथा ब्लड सुगर नियन्त्रणको निम्ति विभिन्न किसिमका इन्सुलिन र एन्टिबायोटिक दिइएको अस्पतालले जनाएको छ । साथै, अक्सिजनस्तर सामान्यभन्दा कम रहेकाले कन्टिनियुस पोजेटिभ एअरवे प्रेसर (सिपिआर) मा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

सिपिएपीमा पर्याप्त अक्सिजनस्तर कायम नभएकाले विलिभल पोजेटिभ एअवे प्रेसर तथा पछि हाइ फ्लो नसल क्यानुलामासमेत राखी उपचार गरिएको थियो । यस बीचमा उनलाई रिम्डिसिभिरका साथै प्लाज्मा थेरापीसमेत प्रयोग गरिएको थियो । उपचारको क्रममा उनको स्वास्थ्यमा आशातित सुधार नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् थप सुविधा सम्पन्न ठाउँमा पठाउने हरसम्भव प्रयास गरिएको भएता पनि अक्सिजन स्याचूरेसन निकै कम भएको हुँदा अन्यत्र पठाउँदा बाटोमा दुर्घटना हुने सम्भावना देखिएपछि उनलाई अन्यत्र लान नसकिएको अस्पतालले उल्लेख गरेको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीमा तीन, काठमाडौं उपत्यकामा चार, रूपन्देहीमा तीन र बाँकेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौंका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष र ललितपुरको ४८ वर्षीय पुरुष छन् । यसैगरी बाँकेकी ३४ वर्षीया महिला, रूपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ ।

१ हजार ९ सय ११ थप संक्रमित भेटिए
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा संक्रमितको संख्या झण्डै १८ प्रतिशत भेटिएको हो । काठमाडौं उपत्यकाका ९ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौंमा ८ सय १७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना रहेका छन् ।

सोही अवधिमा भाइरस संक्रमण भई घर फर्किनेको संख्या ९ सय ६१ जना रहेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ रहेको छ । त्यसैगरी २१ हजार ८ सय ३० जना सक्रिय संक्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ७ सय ६१ छन् । मन्त्रालयका अनुसार देशभर २ सय २० जना कोरोना संक्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारेन्टिनमा ५ हजार ७७ जना छन् ।

प्रतिक्रिया