पौरखी किसानको रहरलाग्दो कमाइ

बेनी नगरपालिका–६ अर्थुंगेका २७ वर्षीय युवा कमल पौडेल पशुपालनबाट गरेको आम्दानीले सन्तुष्ट छन् । करिब नौ वर्षअघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले आफ्नै गाउँठाउँमा पसिना बगाउने निधो गरे । आफ्नै रोजाइको व्यवसायका रूपमा कुखुरा र गाईभैँसी पालनमा उनी होमिए । पौडेलको फार्ममा अहिले १० वटा भैँसी र एउटा गाई छन् । दैनिक उनको फार्मबाट एक सय लिटरको हाराहारीमा दूध उत्पादन हुन्छ । बिहान उठेदेखि बेलुकीसम्म उनकोे समय पनि फार्ममै बित्छ । गाईभँैसीको स्याहारसुसार र बजारसम्म दूध पु¥याउने पौडेलको नियमित दैनिकी हो । दूध उत्पादनसँगै कुखुरा पाल्दै आएका पौडेलले गोठ र कुखुराको खोर व्यवस्थित रूपमा निर्माण गरेका छन् । यो व्यवसायमा ५० लाखभन्दा बढी नै लगानी भइसकेको उनी बताउँछन् ।

अध्ययनको क्रममा केही समय बेनीमा रोजगार रहेका पौडेलले आफ्नो घर जिल्लाको सदरमुकाम बेनी नजिकै रहेको र बजारको अभाव पनि नहुने देखेपछि व्यावसायिक पशुपालनमा पाइला चालेका थिए । ‘सुरुआतमा लगानी गर्ने पैसा पनि थिएन, बैंकबाट ऋण नै गरेर गाईभैँसी खरिद गरेँ, पछि दूध बिक्री गर्न थालेपछि यहाँबाटै भएको आम्दानीलाई यसै फार्ममा लगानी गर्दै आएको छु’, पौडेलले भने । गत वर्ष भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् मोडल फार्मको रूपमा छनोट भएर २ लाख ५० हजार रुपैयाँ बराबरको अनुदानमा थप पूर्वाधार निर्माण गरेका पौडेलले पछिल्लो समय सरकारले समेत पशुपालन क्षेत्रलाई प्राथमिकता दिन थालेकोमा खुसी व्यक्त गरे । ‘पशुपालन सुखको व्यवसाय होइन, यसबाट भएको आम्दानी र खर्चमा भने म सन्तुष्ट नै छु, यसैलाई थप व्यवस्थित गर्दै लैजाने हो’, पौडेलले भने ।

यसै वडाको एकपाटेका युवा विनोद बानियाँ पनि पशुपालनमै होमिएका छन् । पाँच वर्षअघि दुईवटा भँैसीबाट दूध उत्पादनमा लागेका बानियाँले अहिले सात वटा भैँसी पालेका छन् । ‘विदेश जाने भनेर निकै समय लागेँ, लाखौँ पैसा दलालले खायो, त्यसपछि विदेश जाने मोह हरायो, आफ्नै ठाउँमा खालीहात बसेर पनि पुग्ने कुरा रहेन, त्यसपछि यहीँको माटोसँग खेल्ने निधो गरेर भैँसीपालनमा लागेको हुँ’, बानियाँले भने । किसानको दूधको मूल्य नबढाउँदा भने लगानी र परिश्रम अनुसारको आम्दानी गर्न नसकिएको उनकोे दुःखेसो छ ।

बानियाँसँगै उनका भाइ मनोज बानियाँ पनि भैँसी र कुखुरापालनमै सक्रिय छन् । बानियाँ दाजुभाइले पशुपंछी पालनसँगै तरकारी खेतीलाई समेत आम्दानीको स्रोत बनाएका छन् । बेनीमा पौरखी कृषकका यी प्रतिनिधि युवाहरू हुन् । बेनी नगरपालिका–६ नम्बर वडामा दर्जनबढीले गाईभैँसी र कुखुरापालनबाट जीवनस्तर उकासेका छन् । बाँसबोटका जीवनप्रसाद पौडेल र रुद्र पौडेलले तीन वर्षदेखि युनियन कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेका छन् । पौडेल दाजुभाइको फार्ममा आठ भैँसी, १ हजार ५ सय कुखुरा र २३ वटा बाख्रा रहेका छन् ।

यस्तै एकपाटेका रामप्रसाद शर्मा र थाकनपोखरीका रमेश रेग्मीले समेत १०÷१० भन्दा बढी र गोविन्द पौडेलले ६ वटा भैँसी पालेका छन् । कुरीलाखर्कमा सुरेश ढुंगाना भैँसी र कुखुरा तथा कृष्णप्रसाद आचार्य भैँसीपालनमा क्रियाशील छन् । एकपाटेका अमृत बानियाँ, गणेश शर्मालगायत पनि कुखुरापालनबाटै आयआर्जन गर्न सफल भएका छन् । दुग्ध उत्पादनको लागि गाईभैँसी, मासु र अण्डाको लागि कुखुरापालन गर्दै आएका अधिकांश युवा छन् र आफ्नो पेसाबाट सन्तुष्ट रहेको बताउँछन् ।

बेनी बजारमा खपत हुने ७५ प्रतिशत दूध बेनपा–६ बाटै पूर्ति हुने गरेको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभँैसी स्रोत केन्द्र विकास समितिका अध्यक्षसमेत रहेका कृषक जीवनप्रसाद पौडेलले बताए । बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्ने गरी गाईभैँसीपालन गर्दै आएका छन् । समितिका अनुसार सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक १ हजार ५ सय लिटरको हाराहारीमा दूध खपत हुने गर्छ । अहिले कृषकहरूले बजारमा प्रतिलिटर ९० रुपैयाँमा दूध बिक्री गर्दै आएका छन् । बेनी नगरपालिकासँगै जिल्लाको रघुगंगा, मंगला र मालिका गाउँपालिकामा समेत व्यावसायिक रूपमा गाईभैँसी पालनको लहर सुरु भएको छ ।

बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेल दुई दशकदेखि पशुपालनमा आबद्ध छन् । उनले सुरुदेखि नै व्यावसायिक रूपमा नै पशुपालन थालेका हुन् । सुरुमा दैनिक पाँच लिटर दूध सदरमुकाम बेनीमा ल्याएर बिक्री गर्ने गरेका पौडेल अहिले भने जिल्लाकै नमुना भँैसीपालक कृषकको रूपमा परिचित छन् । ०५६ सालदेखि पशुपालन सुरु गरेका पौडेलले स्थापना गरेको बरदान पशुपंछी फार्ममा अहिले १८ वटा दुहुना उन्नत जातका भैँसी रहेका छन् । पौडेल भैँसीपालनबाट पनि रहरलाग्दो आम्दानी गर्न सकिन्छ भन्ने उहाहरणको रूपमा चिनिन्छन् । दैनिक १ सय ५० लिटरको हाराहारीमा दूध बिक्री गर्दै आएका पौडेलले मासिक ४ लाख ५० हजार आम्दानी हुने बताए । ‘सबै काम गर्न हामी परिवारले मात्रै सम्भव छैन, तीन जनालाई फार्ममा प्रत्यक्ष रोजगारी पनि दिएका छौँ, भैँसीको दाना र घाँस, तलबलगायतमा आम्दानीको ठूलो हिस्सा खर्च हुन्छ, बचत भएको रकमलाई फार्मकै क्षमता विस्तार र पूर्वाधार निर्माणमा खर्चिने गरेको छु,’ पौडेलले भने । पौडेलले यस फार्ममा अहिलेसम्म करिब ६० लाख लगानी भइसकेको बताए ।

बेनपा–६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले व्यावसायिक बाख्रापालनबाट रहरलाग्दो आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारिको सिलसिलामा चार वर्ष इराकमा बसेर फर्किएका मल्लले उन्नत जातको बाख्रापालन सुरु गरेका थिए । ‘विदेशबाट फर्कंदा अस्ट्रेलिया जाने योजना थियो, यहाँ आएपछि मेरो सोच बदलियो, लाखौँ तिरेर फेरी विदेश पस्नुभन्दा यहीँ नै मिहिनेत किन नगर्ने भन्ने लागेर यता लागेको हुँ,’ उनले भने । बोयर र क्रस जातका बाख्रापालनमा लागेका मल्लले एक वर्षको अवधिमा १० लाख रुपैयाँ भन्दा बढीका बाख्रा बिक्री गरिसकेको बताए । मल्लको फार्ममा २५ वटा बोयर र क्रस बाख्रा रहेका छन् । कृष्ण बहुउद्देश्यीय कृषी तथा पशुपालन फार्म सञ्चालन गरेका मल्लले भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत् मोडल मार्फमा छनौट भएपछि साढे दुई लाख अनुदान लिएर खोरको क्षमता विस्तार गरेका छन् । उनको फार्ममा ५० वटा बाख्रा राख्ने क्षमता छ ।

बेनी नगरपालिका–६ का बस्तीहरूमा व्यावसायिक पशुपंछीपालन र तरकारी खेतीतर्फ युवाहरूको आकर्षण बढेको छ । बजारीकरणका लागि सदरमुकाम बेनी बजार नजिकै रहेकाले यहाँका युवाहरू यसतर्फ आकर्षित भएका हुन् । वडामा कुखुरा, गाईभैँसी, बाख्रा पालनसँगै तरकारी खेतीतर्फ समेत आकर्षण बढेको र यसको दायरालाई थप फराकिलो बनाउनेतर्फ जोड दिइएको वडा अध्यक्ष कृष्णसिंह बानियाँले बताए । उनका अनुसार यस वडाभित्र दुई दर्जनभन्दा बढी फार्म मोडल फार्मको रुपमा विकास भइसकेका छन् । ‘उत्साही युवाहरूले गरेका प्रयास सफल हुँदै गएका छन्, उनीहरूलाई तालिम, अनुदानमा सहजीकरण गर्ने काममा हामीले पुलको काम गरेका छौँ, नगरस्तरबाट उपलब्ध हुने सुविधाहरूमा पनि हातेमालो गरिरहेका छौँ,’ वडा अध्यक्ष बानियाँले भने । उनले वडा कार्यालयले गाउँबस्तीहरूलाई कृषिमा समेत आत्मनिर्भर गराउनको लागि हरेक घरमा टनेल राख्ने अभियानलाई समेत अघि बढाएको बताए ।

पशुपंछी पालन गर्ने कृषकहरूलाई पछिल्लो समय व्यवसाय विस्तारमा अनुदान उपलब्ध हुन थालेको छ । स्थानीय सरकारसँगै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले समेत कृषकहरूलाई अनुदान उपलब्ध गराउन थालेको हो । गत आर्थिक वर्ष ०७६÷७७ मा कार्यालयले ठूलो संख्यामा कृषकलाई अनुदान बाँडेको थियो । कार्यालयले म्याग्दीका ३९ र मुस्ताङका तीन वटा फार्मलाई मोडल फार्मको रुपमा छनौट गरी पूर्वाधार निर्माणमा प्रत्येकलाई २ लाख ५० हजार रुपैयाँका दरले अनुदान वितरण गरेको जनाएको छ । कार्यालयले गाईभैँसी, कुखुरा, बाख्रासँगै भेडापालन, दुग्ध पसल सुधार, मासु पसल सुधार, नश्ल सुधारका कार्यक्रममासमेत कृषकहरूलाई अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया