मापदण्ड विपरीत चामल खरिद

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदमा चलखेल गरेको पाइएको छ । व्यापार कम्पनीले आन्तरीक मिलेमतोमा मापदण्ड विपरीत टेन्डर आब्हान गरी चामल खरिद गरेको पाइएको हो । कम्पनीले चामल खरिदमा लकडाउनको समयमा टेन्डर आब्हान गरी चामल खरिद गरेको देखिएको छ । कम्पनीले वार्षिक कार्यक्रम अनुसार नै करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेको हो ।

साठी लाख रुपैयाँ देखि माथिको टेन्डर आब्हान गर्दा विद्युतीय खरिद प्रणालीमा टेन्डर गर्नु पर्ने र ३० दिनको समयअवधि राख्नु पर्ने कानुनी प्राबधान रहेको छ । तर कम्पनीले चामल खदिरमा पहिलो र दोस्रो पटक टेन्डर आब्हान गर्दा टेन्डर नपरेपछि लागत बढाएर मापदण्ड विपरीत टेन्डर आब्हान गरी चामल खरिद गरेको स्रोतले बताएको छ । कम्पनीले पहिलो पटक र दोस्रो पटक चामल खरिदमा टेन्डर नपर्दा तेस्रो पटकमा धरौटी रकम बढाएर १५ दिनको मात्र सूचना जारी गरेको थियो ।

साठी लाख भन्दा माथिको सार्वजनिक खरिद गर्दा विद्युतीय खरिद प्रणालीमा टेन्डर आब्हान गर्नुपर्ने कानूनी प्राबधान छ । सो प्राबधान बिपरीत कम्पनीले आन्तरीक मिलेमतोमा १५÷१५ दिनको सूचना जारी गरी टेन्डर आब्हान गरेर चामल खरिद गरेको देखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहन कृष्ण सापकोटाले कुनै पनि कम्पनीले मालसामान खरिद गर्दा टेन्डर आब्हानका लागि अनिवार्य ३० दिनको सूचना निकाल्नु पर्ने बताएका छन । पहिलो टेन्डर आब्हान गर्दा कुनै टेन्डर नपरेमा शर्त परिवर्तन नगरी दोस्रो पटक १५ दिनको सूचना निकाली टेन्डर गर्न मिल्ने कानुनी प्रावधान रहेको छ । तर, पुनः टेन्डर आब्हान गर्दा टेन्डरको शर्त परिवर्तन गरेको छ भने अनिवार्य रुपमा ३० दिनको सूचना लिकाल्नु पर्ने ब्यवस्था रहेको छ ।

त्यसैगरी विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ को ३५ को (३) मा सार्वजनिक निकायले साठी लाख रुपैयाँ भन्दा बढी रकमको निर्माण कार्य खरिद गर्दा विद्युतीय खरिद प्रणालीको समेत प्रयोग गर्नुपर्ने उल्लेख छ । तर, दुई करोड रुपैयाँ भन्दा बढीको निर्माण कार्य तथा साठी लाख रुपैयाँ भन्दा बढीको मालसामान खरिद गर्दा अनिवार्य रुपमा विद्युतीय खरिद प्रणालीको प्रयोगबाट मात्र गर्नुपर्ने पनि निर्देशिकामा रहेको छ । तर, व्यापार कम्पनीले सो निर्देशिकाको मापदण्ड पालना गरेको देखिदैन ।

व्यापार कम्पनीले चामल खरिदका लागि पहिलो पटक ५ चैत २०७६ मा सूचना जारी गरेको थियो । पहिलो पटक कम्पनीले ३० दिनको सूचना नै जारी गरेको थियो । उक्त सूचनाको समय अवधि ४ बैशाखा २०७७ सम्म मात्रै रहेको थियो । कम्पनीले दिएको सो समयमा बोलपत्र नपरेपछि कम्पनीले पुन १० बैशाख २०७७ मा प्रथम पटक प्रकाशित सूचना बमोजिमका शर्तहरुको अधिनमा रहने गरी गोप्य शिलबन्दी बोलपत्र आब्हानका लागि १५ दिनको सूचना प्रकाशित गरेको हो । कम्पनीले दोस्रो पटक बोलपत्रका १० बैशाखमा प्रकाशित गरेकोे सूचना समय अवधि २५ बैशाखमा सकिएको थियो । सो मितिमा पनि बोलपत्र नपरेपछि कम्पनीले पहिलो पटक प्रकाशित गरेको सूचना भन्दा धरौटी रकम बढाएर ३१ बैशाखम तेस्रो पटक चामल खरिदका लागि बोलपत्र गरेको थियो । कम्पनीले ३१ बैशाखमा प्रकाशित गरेको सूचनाको समयअवधि १५ जेठमा सकिएको थियो ।

प्रतिक्रिया