कांग्रेसको महाधिवेशन सर्ने !

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित समयमै हुनेमा आशंका उत्पन्न हुन थालेको छ । महाधिवेशन जसरी पनि सार्ने दाउमा रहेका सभापति शेरबहादुर देउवाको प्रयासमा अर्का नेता कृष्णप्रसाद सिटौलाले साथ दिने भएका छन् । आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएपनि कार्यतालिका पूर्ण रुपमा बनिसकेको छैन । केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति यथावत राख्दै कार्यतालिका हेरफेर भने गरेको छ । तर, असोजको १९ गतेबाट फेरी केन्द्रीय समिति बैठक बोलाइएको छ ।

कार्यतालिकाअनुसार २०७७ साउन र भदौमा क्रियाशील सदस्यता वितरण तथा नवीकरण सकेर केन्द्रमा विवरण आइपुग्नुपर्ने हो । तर कतिपय जिल्लामा एकीकरणमा आएका पार्टीसँगको समायोजन नै भएको छैन भने क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुन सकेको छैन ।
सभापति देउवाले खुलेर महाधिवेशन सार्ने प्रस्ताव नगरेपनि उनले पछिल्लो समय गरिरहेका गतिविधिले कांग्रेसभित्र किचलो बढ्दै गएको छ । किचलोको बिचमा करिव दुई महिना गृहजिल्ला झापा बसेर आएका पूर्वमहामन्त्री एंव नेता कृष्णप्रसाद सिटौलाले फागुनमा महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन् । केन्द्रीय समिति बैठक अगाडी उनले महाधिवेशनलाई बैशाखसम्म सार्नुपर्ने प्रस्ताव गरेका छन् ।

सिटौलाले तल्लो तहमा समस्या रहेको र कोभिड–१९ महामारी पनि अहिले यथावत रहेकाले तालिका परिवर्तन गर्नुपर्ने माग गरेका छन् । चाडपर्व पनि नजिक भईरहेको र क्रियाशिल सदस्य पनि वितरण भई नसकेकाले महाधिवेशन सार्नुको विकल्प नभएको उनको भनाई छ । विगतका महाधिवेशनमा पनि क्रियाशिल सदस्यका विषयमा धेरै विवाद हुने गरेको स्मरण गर्दै सिटौलाले त्यसलाई छानविन गर्न पनि समय लाग्ने बताए ।

कांग्रेसमा सिटौलाले भन्ने वित्तिकै सबै निर्णय नभएपनि उनले नै यसअघि महाधिवेशनको मितिमा सहमति जुटाउन मध्यमार्गी भूमिका खेलेका थिए । १४ औं महाधिवेशनतर्फ जादै गर्दा कांग्रेस भित्र निक्कै धेरै गुट नेतृत्वको आकाक्षां लिएर मैदानमा आउन थालेका छन् । संस्थापन पक्षमै पनि विमलेन्द्र निधीको बलियो गुट देखा परिसकेको छ । जसका कारण देउवा आफै अप्ठेरोमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले देउवाको निक्कै पहिलादेखी कार्यशैलीको विरोध गर्दै आईरहेको छ । शनिवार बसुन्धरामा बसेको सो पक्षको भेलाले सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको भन्दै त्यसलाई सच्याउन अल्टिमेटम दिएको छ । केन्द्रीय समिति बैठक अगाडी उक्त निर्णय सच्याउन दवाव दिदै पार्टी कार्यालयमा विरोधपत्र समेत बुझाउने तयारी गरेको छ । आइतवार नै बुझाउने तयारी गरेपनि छलफल नसकिएको भन्दै सोमबार बुझाउने नेता नविन्द्रराज जोशीले जानकारी दिए । तर, सो निर्णयलाई सिटौला पक्षले भने सहयोग गरेको छैन ।

सिटौलाले अहिले दुवै पक्षलाई मिलाउने प्रयासमा जुटेका छन् । उनले शनिबार सभापति देउवा र आइतबार वरिष्ठ नेता पौडेललाई भेटेर सहमतिका साथ अगाडि बढ्नुपर्ने र महाधिवेशनका लागि गरिने निर्णयहरु सर्वसम्मत गर्नुपर्ने सल्लाह दिएका छन् । संस्थापन पक्ष र पौडेल समूहको बीचमा देखिँदै आएका विवाद समाधानका लागि सिटौलाले यसअघि पनि मध्यमार्गी भूमिका निभाइसकेका छन् । बहुमतका आधारमा पार्टीको विधान पारित गर्दै महाधिवेशनको मिति तोकिएपछि चिढिएको पौडेल समूह र सभापति देउवाका बीचमा मध्यस्थता गरेर सर्वसम्मत रुपमा महाधिवेशनको मिति तय गराएका थिए ।

‘सभापतिज्यूले महाधिवेशनको मिति तय भएपछि एकलौटी रुपमा विभागहरु गठन गर्ने तथा क्रियाशील सदस्यता वितरणमा पनि मनलाग्दी गर्दै आउनु भएको छ’, केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘यो मनोमानी र स्वैच्छचारीता रोक्नुपर्छ भनेर पौडेल समूहले संकलन गरेको हस्ताक्षर दर्ता गरिनेछ ।’ गुरुङका अनुसार केन्द्रीय कार्यालयमा दर्ता हुने हस्ताक्षर संकलनको बिषयलाई आउँदो असोज १९ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफलको एजेन्डा बनाइने छ ।

सभापति देउवालाई सम्वोधन गरी लेखिएको पत्रमा पौडेलसहित महामन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महतलगायत २७ जना रहेका छन् । कांग्रेसको विवाद समाधानका लागि अहिलेसम्म पहल भने भएको छैन । जसले गर्दा यो विवाद बढ्दै गएमा महाधिवेशन सर्ने निश्चित हुने कांग्रेसकै नेताहरुको भनाई छ ।

प्रतिक्रिया