वैदेशिक रोजगार छाडेर कुखुरापालन

सिन्धुली । जिल्लाको तिनपाट गाउँपालिकाका–२ भीमस्थान चौताराका पुष्पलाल श्रेष्ठको दैनिक कुखुरा रेखदेख गरेर बित्छ । चार वर्ष मलेसिया बसेर फर्किएका श्रेष्ठ अहिले आफ्नै ठाउँमा कुखुरा पाल्न व्यस्त छन् । श्रेष्ठले तिनपाट गाउँपालिका–२ भीमस्थान चौतारामा तिनपाटन कुखुरा फर्म नै दर्ता गरि व्यवसाय सुरु गरेका छने ।

०६६ सालमा मलेसियाबाट फर्किएका श्रेष्ठले नेपालमै केही गर्छु भन्ने उद्देश्यले ०६७ सालमा तीन लाख लगानी गरी कुखुरा व्यवसाय सुरु गरेको बताए । मलेसियामा महिनाको ८० हजार कमाई छोडेर गाउँमा आफ्नै परिवारसँग बसेर व्यवसाय गर्ने सोचले उनी फेरि विदेश फर्किएनन् ।
उनी भन्छन्, ‘विदेश नफर्किने सोचले गाउँमा पाटनदेवी इंग्लिस बोर्डिङ पनि सञ्चालन गर्न थालेँ’ उनले भने, ‘बोर्डिङसँगै कुखुरा पाल्नसमेत सुरु गरेँ ।’ आफ्नो श्रम, पसिना आफ्नै ठाउँमा खर्च गर्न पाउँदा खुसी लाग्ने गरेको श्रेष्ठले बताए । श्रेष्ठले पहिले बोइलर कुखुरा पाल्ने गरेको सुनाए ।

एक हजार बोइलर कुखुराबाट एक लटको लगभग १ लाख ५० हजार आम्दानी गरेको उनको भनाइ छ । अहिले लोप हुँदै गएका घाँटी खुइले, दुम्सी, साखिने जातका दुई सयभन्दा बढी कुखुरा उत्पादन गर्ने उद्देश्यले लोपुन्मुख कुखुरा हालेको उनले सुनाए । उक्त कुखुरामा पोथी जातको कुखुरा थप गरी ह्याज मेसिन ल्याई ह्याज गरी चल्ला बिक्री गर्ने तयारी गरेको श्रेष्ठले बताए ।

साथै उनले पशुपालन पनि सुरु गरिएको बताए । दुई वटा राँगाबाट २० हजार नाफा आएको उनले सुनाए । ‘अब गोठमा दुई वटा राँगा बाँकी छ’, उनने भने, ‘फेरि राँगा थप गर्नेछु ।’ पुष्प लाल श्रेष्ठजस्तै अन्य युवाहरू पनि देशमै केही गर्छु भन्ने मानसिकता बोकेर हिँडिरहेका हुन्छन् । यस्ता युवाहरूलाई देशमै रोजगारीको अवसर सिर्जना गर्ने भन्दै सरकारले कार्यविधि पनि तयार गरको छ ।

प्रतिक्रिया