अनलाइनबाटै सानिमा बैंकको क्रेडिट कार्ड

काठमाडौं । सानिमा बैंकले ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइन मार्फत क्रेडिट कार्डको आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकले क्रेडिट कार्ड आवेदन दिन बैंकको वेवसाइटमा गई ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रूपमा आवेदन दिन सक्नेछन । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको बारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइनेछ ।

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रूपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने विश्वास बैकले लिएको छ । यो सुविधा ६ असोज देखि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ । बैंकले डिजिटल बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधा परिष्कृत रूपमा उपलब्ध गराउँदै आएको छ । बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटीएमबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया