‘नमुना नगर बन्ने आधार तयार भएको छ’ : नगरप्रमुख राई

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई

लामो समयसम्म रिक्त रहेको स्थानीय निकायमा जनताले जनप्रतिनिधि पाएका छन् । आफैंले चुनेको प्रतिनिधिबाट आफ्ना समस्या सुल्झाउन पाउँदा जनतामा खुसी छाएको छ । जनताका तमाम समास्या र आकांक्षा पूरा गर्दे आएको स्थानीय निकाय विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट अछुतो छैन । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव, बाढीपहिरोको जोखिम, पालिकामा भइरहेका गतिविधि, कार्यक्रम, योजना तथा कार्यान्वयन लगायतका विषयमा इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईसँग सौर्य दैनिकका लागि राम योङहाङले गरेको संवादको सम्पादित अंश :

नगरप्रमुखको रूपमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?

स्थानीयतहमा जनताका लागि अझै धेरै काम गर्न बाँकी छ । हामीले जति समय व्यतित गरिरहेका छौँ, त्यति नै धेरै कुराहरू सिक्दै, अनुभव गर्दै र थप व्यवस्थित गर्दै जाने क्रममा छौँ । जतिजति दिनहरू बित्दै जान्छन्, त्यतित्यति नै नयाँ अनुभवहरू बढ्दै गइरहेका छन् । नयाँनयाँ अनुभवको आधारमा काम गर्दे जाने प्रयासमा छौँ ।

यस नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को अवस्था र त्यसले पारेको प्रभाव कस्तो छ ?

कोरोना भाइरसको प्रभाव विश्वमा नै परिरहेको छ । हामीले भर्खरै मात्र त्यसका लागि के गर्न सकिन्छ भनेर बैठक बस्यौँ । बैठकमा कोरोना भाइरसको कारणले सबै क्षेत्रमा पारेका प्रभाव के छन् भन्ने बारेमा एउटा अध्ययन प्रतिवेदन तयार गर्ने निर्णय गरेका छौँ । त्यो प्रतिवेदन तयार गर्नुभन्दा पहिला नमुना प्रश्नोत्तर तयार गर्दै छौँ । त्यो प्रश्नोत्तर दिएर सर्भेमा जान्छौँ । त्यसपछि मात्र ठ्याक्कै यसको प्रभाव केकेमा कत्ति परेको रहेछ भन्ने यथार्थ जानकारी आउँछ ।

अहिले स्थानीय स्तरमा जोखिमको अवस्था कस्तो छ ?

नगरपालिका भारतसँगको खुल्ला सीमानाका कारण धेरै जोखिमहरू छन् । जोखिम भएता पनि त्यो जोखिम र चुनौतीसँग लड्नुको विकल्प छैन । जस्तोसुकै जोखिम र चुनौतीको पनि सामना गर्न तयार छौँ । त्यसका लागि के गर्ने भन्नेमा नगरपालिकाले गम्भीररूपमा योजना बनाउँदै छ ।

सूर्योदय नगरपालिकामा पर्यटकलाई बस्न र कम्तिमा पनि केही दिन रहन सक्ने गरी त्यसको व्यवस्थापन गर्दैछौँ । जस्तो, भर्खरै मात्र झन्डै ७२ किलोमिटरको साइक्लिङको रुट तयार बनाउने कामको सर्भे गर्ने काम गरेका छौँ । सूर्याेदय नगरपालिकालाई नेपालकै पर्यटकहरू घुम्नैपर्ने पर्यटकीय स्थानहरू बनाउनुपर्छ भन्ने हाम्रो योजना थियो । त्यसलाई संघीय सरकारले समावेश गरिसकेको अवस्था छ ।

नगरपालिकाभित्र बाढीपहिरोलगायत प्राकृतिक प्रकोपको जोखिमको अवस्था कस्तो छ ?

यो वर्ष धेरै वर्षा भएको छ । वर्षात्का कारण बाढीपहिरोले अधिकांश बाटोहरूमा क्षति पुर्याएको छ । हामीसँग १४ वटै वडा तथा सबै टोलटोलमा जाने बाटाहरू छन् । नगरपालिकाभरी झण्डै ४ सय ५० भन्दा धेरै बाटाहरू छन् । एउटा बाटोलाई मर्मतसंभार गर्न कम्तीमा पनि १० हजार दिनुप‍¥यो भने ४५ लाख, १ लाख दिनुपर्यो भने साढे ४ करोड जाने रहेछ । भौगोलिक रूपमा हाम्रो संरचना त्यस्तो छ । त्यस्तो संरचना व्यवस्थित गर्दै लानुपर्नेछ । त्यसो भएको हुनाले अहिले वर्षाका कारणले बाटोहरू अलि अव्यवस्थित नै छन् । कतिपय क्षतिग्रस्त भएका छन् । बढी हिलाम्य भएको छ । कुनैकुनै ठाउँमा अवरुद्धसमेत छ । त्यसको पनि व्यवस्थापन गर्दै जानुपर्छ भनेर नगरपालिका दीर्घकालीन सोचमा अघि बढिरहेको छ ।

नगरपालिकाको समृद्धिका लागि तीन वर्षको अवधिमा भएका महत्वपूर्ण कामहरू केके छन् ?

नमुना नगरका लागि ट्रयाक निर्माण भएको छ । अझै कामहरू बाँकी छन् । यो त्यति सजिलो छैन । सूर्योदय नगरपालिका नमुना नगरपालिका बन्छ । नमुना नगर बन्ने धेरै आधारहरू भएको नगरपालिका हो । पहिले वार्षिक कार्ययोजना मात्र बनाउँथ्यौँ । तर अहिले आवधिक योजना र दीर्घकालीन योजनाका साथ अगाडि बढिरहेका छौँ । त्यसका लागि आवश्यक डकुमेन्टेसनसहरू तयार गरेका छौँ । नमुना नगरपालिका बनाउनका निम्ति आवश्यक पूर्वाधारहरू अगाडि बढाएका छौँ । त्यसका निम्ति हामीसँग भएका खोलानालाको सही तरिकाले, बहुआयामिक तरिकाले प्रयोग गर्नका निम्ति नमुना सरोवर बनाउन प्लान तयार गरिसकेका छौँ ।

पर्यटकीय विकासमा के गर्दे छ नगरपालिका ?

सूर्योदय नगरपालिकामा पर्यटकलाई बस्न र कम्तिमा पनि केही दिन रहन सक्ने गरी त्यसको व्यवस्थापन गर्दैछौँ । जस्तो, भर्खरै मात्र झन्डै ७२ किलोमिटरको साइक्लिङको रुट तयार बनाउने कामको सर्भे गर्ने काम गरेका छौँ । सूर्याेदय नगरपालिकालाई नेपालकै पर्यटकहरू घुम्नैपर्ने पर्यटकीय स्थानहरू बनाउनुपर्छ भन्ने हाम्रो योजना थियो । त्यसलाई संघीय सरकारले समावेश गरिसकेको अवस्था छ । प्रदेश–१ सरकारले पर्यटकीय नगरी भनेर घोषणा गरिसकेको छ । अहिले हामी यसका निम्ति विस्तृत परियोजना अध्ययन (डिपिआर) गर्ने, तथा सर्भेहरू गर्ने कामहरू गरिरहेका छौँ । केही ठाउँहरूमा नमुनाका रूपमा काम गरेका छौँ । जस्तो, सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडा, त्यसलाई छुट्टै तरिकाले व्यवस्थापन गर्ने काम गरेका छौँ । हामीसँग भएका साना खोलानालाहरूलाई व्यवस्थापन गरेका छौँ ।

पर्यटकीय नगरलाई समृद्ध नगर र नमुना नगर बनाउन पर्यटकीय नगर बनाएर मात्र पनि हुँदैन । कृषिको पनि एउटा हब्स बनाउनुपर्छ । किसानको आयस्रोत बढाउनुपर्छ । त्यसको निम्ति विभिन्न कार्यक्रमहरू अगाडि बढाएका छौँ । कृषिलाई प्रमुख प्राथमिकता राखेर बजेट विनियोजन गरेका छौँ । प्रत्येक कृषकको घरघरमा नगरपालिका पसेको छ र नगरपालिकाले सबैको ढोका ढकढक्याएको छ भन्ने अनुभूति गरोस् भनेर त्यस्तो प्रकारको कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ । त्यसका लागि ‘एक घर एक उन्नत जातको गाई’ अभियान सञ्चालन गरेका छौँ । हामी भविष्यमा सूर्योदय नगरपालिकालाई गाईको महत्वपूर्ण स्रोत केन्द्र र सम्बन्धित विभिन्न कलकारखाना बनाउनका निम्ति आवश्यक पर्ने कच्चा पदार्थहरू, प्रत्येक दिन दूध उत्पादन गर्नका निम्ति पूर्वाधारहरू तयार गरेर अगाडि बढेका छौँ ।

यहाँ ६० प्रतिशत बढी किसानहरू चिया कृषक हुनुहुन्छ । चियालाई पनि विशेष प्राथमिकता दिनुपर्छ भनेर लागेका छौँ । सूर्याेदय नगरपालिकालाई नेपालकै नमुना टी टेस्टिङ सेन्टरको सुरुआत भइसकेको अवस्था छ । कन्याम जहाँ एउटा गाडी पनि छिर्न नसक्ने अवस्था थियो । त्यहाँ सडक विस्तार गरेका छौँ । पर्यटकलाई आकर्षित गर्न त्यहाँ आगामी वर्ष त्यहाँ १८ प्रजातिको लालिगुराँसहरू रोप्नका निम्ति प्लान्टेसन गर्नका निम्ति विरुवारहरू ल्याएर हाम्रै नर्सरीमा राखिसकेको अवस्था छ । यस्ता धेरै कामहरू गरिरहेका छौँ । तीमध्ये यहाँ केही प्रतिनिधि उदाहरण मात्र प्रस्तुत गरेको हुँ ।

नगरपालिकामा यो वर्ष प्रमुख प्राथमिकतामा परेको विकास योजनाहरू केके हुन् ?

हाम्रो विशेष प्राथमिकता कृषि हो । कृषिलाई प्राथमिकताका साथ राखेका छौँ । त्यसैगरी समतामूलक समाज निर्माणका निम्ति दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न चाहिने आवश्यक पूर्वाधारहरू, त्यसैगरी त्यहाँ पुग्नका निम्ति चाहिने विषयहरूलई विशेष प्राथमिकतामा राखेका छौँ । दिगो विकासका लक्ष्यहरूलाई समेट्ने गरी विकासका योजनाहरूलाई नै प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाको मुख्य केन्द्र मेची मार्गले छोएर गएको छ । ग्रामीण क्षेत्रमा सडक सञ्जालको अवस्था कस्तो छ ?

सूर्योदय नगरपालिका नयाँ नगरपालिका भएकाले केही पनि पूर्वाधारहरू थिएनन् । केके भएमा नगरपालिका बन्छ ? केके सुविधाहरू भए भने व्यवस्थित नगरपालिका हुन सक्छ भन्ने बारेमा कुनै अध्ययन गरिएको थिएन । सूर्योदय नगरपालिकाले प्रत्येक सडक सञ्जालका निम्ति नगरपालिका यातायात गुरुयोजना (एमटिएमपी) तयार गरिसकेको अवस्था छ । त्यहीअनुसार प्रत्येक टोलमा सडक सञ्जाल विस्तार गर्दै अगाडि बढेका छौँ । नगरपालिकाको स्रोत नक्सा तयार गरिसकेको छ । नगरपालिकाको वस्तुस्थिति विवरण तयार गरिसकेका छौँ । त्यहीअनुसार यो नगरपालिका कस्तो नगरपालिका हो र यसलाई कस्ता कार्यक्रम गर्दा समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिँदै अगाडि बढिरहेका छौँ । नगरपालिकाले आफ्ना वास्तविक तथ्यांकहरू तयार गर्दै त्यहीअनुसार कार्यान्वयन गर्दै गइरहेको अवस्था छ ।

सिंहदरबार गाउँगाउँमा पुग्यो, निम्न वर्गले पनि सहजै सेवा पाउन थाले भनिएको छ, तर जनताले त्यसको अनुभूति गर्न पाएनन् भन्ने गुनासो सुनिन्छ नि ?

अहिले हाम्रो संविधानअनुसार तीन तहको सरकार बनिसकेको अवस्था छ । संघीय संरचना अनुरूप स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्छ । आफ्नो सहअस्तित्व पनि जोगाउनुप¥यो, र समन्वय गर्दै अगाडि बढ्नुप¥यो भन्ने सिद्धान्तको आधारमा चलेको हुनाले विगतमा केही समस्याहरू नभएका होइनन्, थिए । र कुन तहले कुन प्रकारका कार्यक्रमहरू गर्ने, कस्तो प्रकारका आयोजनाहरू गर्ने, कस्तो प्रकारका योजनाहरू बनाउने भन्ने द्विविधाहरू नभएका होइनन्, थिए । तर अहिले विस्तारै विस्तारै ती सबै अभ्यास, काम र आयोजनाको वर्गीकरण हुँदै गएको छ । अब ती तीनै तहका सरकारहरू मिलेर काम गर्नेछ । हामीसँग कानुनहरू प्रसस्त बनिएको अवस्था नभएकाले समस्या थियो । तर, अहिले प्रसस्त कानुहरू बनाएका छौँ । कानुन बनाइसकेपछि हामीले पाएका अधिकारहरू के हुन्, जनताका अधिकारहरू के हुन्, तल्लो तहका किसानहरूको अधिकार के हुन् भन्ने कानुनहरू तयार गर्दैछौँ । अब केही कानुनहरू मात्र बन्न बाँकी छन् । ती सबै कानुनहरू तयार भइसकेपछि जनताले घरघरमा सिंहदरबार पुगेको अनुभूति गर्न सक्नेछन् । अहिले पनि जनता सन्तुष्ट नै छन् भन्ने विश्वास छ ।

केन्द्र र प्रदेश सरकारबाट कस्तो सहयोग पाउनुभएको छ ?

अहिले राष्ट्रिय योजना आयोगले पनि एकप्रकारको वर्गीकरण गरेको छ काम र कार्यक्रमको । विभिन्न ठाउँहरूमा छलफलसमेत हुने गरेको छ । जनप्रतिनिधले पनि बुझ्दै गइरहेको अवस्था छ । हामीले कानुनअनुसार हाम्रो अधिकार यो हो भन्ने प्रष्ट छौँ । हाम्रो अधिकार हनन भएमा तुरुन्त बोल्छौँ । अहिले केही केही एकाध समस्यादेखि बाहेक सबै हल हुँदै गइरहेको अवस्था छ । खासै असहयोग छैन ।

नगरपालिकामा बजेटको पर्याप्तता कस्तो छ ?

बजेट धेरै भएर सबै कुरा हुने होइन । बजेटको कार्यान्वयन सही तरिकाले भयो कि भएन भन्ने कुरा महत्वपूर्ण हो । बजेटलाई कार्यान्वयन गर्न सक्ने क्षमता हामीसँग छ कि छैन ? त्यो प्रकारका प्रविधि र जनशक्ति छ कि छैन त्यो महत्वपूर्ण हो । पक्कै पनि बजेटले प्रभाव पार्छ तर त्यसका लागि क्षमतावान जनशक्ति आवश्यक पर्दछ । कुरो भएको चिजलाई कसरी उपयोग गर्ने भन्ने हो हामी यसमा सचेत छौँ र आउने दिनमा आवश्यकता र अवस्थालाई हेरेर यसलाई बढाएर लैजानुपर्छ भन्ने लाग्छ ।

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा काममा समस्या भएका उदाहरणहरू प्रशस्तै छन्, तपाईंको नगरपालिकामा कर्मचारीसँगको काम गर्ने वातावरण कस्तो छ ?

हामीले कानुनहरू दर्बिलो बनाएका छौँ । ऐन, कार्यविधि र निर्देशिकाहरू बनाएका छौँ । त्यही ऐन, कार्यविधि र नर्देशिकाभित्र रहेर काम गर्दा त्यत्रो समस्या छैन । त्यसैले हामीले त्यस्तो अनुभूति गरेको छैनौँ । तर, कुनैकुनै सानातिना कामहरूमा कहिलेकाहीँ गल्तीहरू हुन सक्छन् । त्योदेखि बाहेक कार्यपालिकामार्फत काम गर्ने गरेका छौँ । बढी प्राथमिकता कार्यपालिकालाई नै दिएको हुनाले हामीसँग त्यस्तो कुनै समस्याहरू छैनन् । यसमा यहाँका कर्मचारी र जनप्रतिनिधिको बीचमा समन्वय छ ।

अब बाँकी कार्यकालमा गर्ने तपाईसँग नयाँ योजनाहरू केके छन् ?

हामीले आवधिक योजना बनाएका छौँ । योजनाअनुसार चल्ने भएको हुनाले आवधिक योजना र दीर्घकालीन सोचमा नै विशेष हाम्रो जोड छ । त्यहीअनुसार अगाडि बढ्छौँ । आवधिक योजनामा दिगो विकासका लक्ष्यहरूलाई विशेष प्राथमिकताका साथ उठाएका छौँ । नगरलाई समृद्ध र नमुना नगरपालिका बनाउन सकिन्छ र यहाँको प्रमुख आवश्यकता के हो भन्ने कुरालाई मध्यनजर गर्दै काम गर्छाैं । हाम्रा लक्ष्यहरू पूरा गर्छाैं र म नगरपालिको प्रमुख हुने पाँच वर्षका लागि हो । यो अवधिमा एउटा ट्रयाक बनाइसकेका छौँ । त्यो ट्रयाकमा अनिवार्य अरू पनि हिँड्नै पर्छ । त्यसले गर्दा एउटा नमुना नगरपालिका बनाउनका निम्ति त्यो ट्रयाकले काम गर्छ भन्ने हामीलाई आशा र विश्वास छ । त्यै अनुसार काम भइरहेको छ ।

सञ्चार क्षेत्रसँग कसरी समन्वय गर्दै हुनुहुन्छ ?

सञ्चार क्षेत्रसँगको समन्वय राम्रै छ । स्थानीय तथा केन्द्रीय सञ्चार क्षेत्रबाट हामीले पर्याप्त मात्रामा सहयोग पाएका छौँ । नगरले गरेका राम्रा कामहरू नागरिकसम्म पुर्याउन उहाँहरूले राम्रै प्रचार गर्नुभएको छ । हामीबाट भएका कमीकमजोरीका बारेमा प्रश्न उठाएर सचेत गरिदिनुभएकोे छ । त्यसका लागि हामीले धन्यवाद पनि दिएका छौँ । त्यसले गर्दा हामीले सिक्ने मौका पनि पायौँ । त्यसलाई सुधार गरेर जानुपर्छ भन्ने शिक्षा लिँदै हामी अगाडि बढेका छौँ । यदि सकारात्मक मात्र आउने हो भने त त्यसले त्यति काम नगर्दाे रहेछ तर नकरात्मक पक्ष पनि आइदियो भने अझ सतर्क भएर हामीलाई काम गर्ने वातावरण बन्दोरहेछ भन्ने मेरो तीन वर्षे कार्यकालबाट अनुभव गरेको छु । आउने दिनमा पनि यसै गरी सहयोग होस् भन्ने अपेक्षा गरेका छौँ ।

प्रतिक्रिया