‘चीनसँग सीमा विवाद छैन’

काठमाडौं । सरकारले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा बनेको भवन चिनियाँ भूभागमै बनेको स्पष्ट पारेको छ । नेपाल र चीनबीच अहिलेसम्म सीमा विवाद नभएको बताउँदै तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।  सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै नेपाल र चीनबीचमा सीमा विवाद नभएको बताएका हुन् । उनले हुम्लाको लिमी उपत्यकामा सीमा मिचेर घर बनाएको समाचार २०७३ सालमा पनि आएको बताए । त्यति बेला पनि सरकारले गृह, परराष्ट्र नापी सहितको छानविन समिति बनाएको र टोलीले स्थलगत अध्ययन गरेको उनको भनाइ छ ।

‘२०७३ सालमा पनि यस्तै समाचारहरू आएपछि त्यस बेलाको सरकारले अन्तर मन्त्रालय टोली निर्माण गरेर अध्ययन गराएको थियो । त्यसले ती भवनहरू चीन क्षेत्रमा एक किलोमिटर भित्र बनेको प्रतिवेदन दिएको थियो’, ज्ञवालीले भने, ‘यस्तो संवदेनशील विषयमा समाचार प्रकाशित गर्नुअघि त्यस सम्बन्धित विभागहरूमा बुझ्न आग्रह गर्दछु । नेपाल र चीनबीच सीमा विवाद छैन ।’

उनले अहिले हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली स्थलगत भ्रमणमा रहेको र सो टोलीले कुनै नयाँ कुरा ल्याए त्यस विषयमा जानकारी गराउने बताए । ‘अहिले पनि त्यही ठाउँमा घरहरू बनाएको भन्ने जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘नेपाल–चीनबीचमा सीमा समस्याहरू छैनन् । कहीँ कतै त्यस्ता समस्या देखिए पनि बसेर छलफल गर्ने सौहाद्र्ध सम्बन्ध हाम्रो छँदैछ ।’

यता, नेपालस्थित चिनियाँ दूतावासले पनि सीमा कुनै समस्या वार्ताको माध्यमबाट टुंगोमा पु¥याउन आफुहरू कटिवद्ध रहेको बताएको छ । चीनले हुम्लास्थित नेपाली भूभागमा भवन निर्माण नगरेको स्पष्ट पारेको छ । चिनियाँ भूभागमै भवन बनाएको स्पष्ट पार्दै यसविषयमा नेपालले फेरी प्रमाणीकरण गर्न सक्ने बताएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङद्वारा जारी विज्ञप्तीमा भनिएको छ । चीन र नेपाल नजिकको छिमेकी रहेको बताउँदै उनले चीनले सधैँ नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको उल्लेख गरे । चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया