सप्तरीमा कोरोना संक्रमित पुरुषको घरमै मृत्यु

सप्तरी । सप्तरीमा कोरोना संक्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरक–फरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट पारेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताए भने कोभिड–१९ को सप्तरीको तथ्यांक राख्ने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए ।

९ दिनअघि नरिवलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

उनलाई राजविराज वा धरानस्थित आइसोलेशन केन्द्रमा बस्ने सुझावसहित अस्पतालले पठाएकोमा परिवारले घरमै आइसोलेशनमा राखेको थियो । नेपाली सेनाको भीमदल गणको टोलीले गाउँमै शव व्यवस्थापन गरेको मृतकका भतिजा भूपेन्द्रप्रसाद यादवले बताए । यो समेत सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । – रासस

प्रतिक्रिया