बालमनका गोपाल : सच्चा सम्मान

तेजविलास अधिकारी

गोपाल पराजुली (जन्म वि.सं. २००२ जेठ) नेपाली बालवाङ्मय क्षेत्रको एक सुपरिचित नाम हो । आफ्नो विधालाई निश्चित र उपयुक्त क्षेत्रमा केन्द्रित गरी निरन्तर लागिरहेका गोपाल पराजुली आफैंमा संस्था बनेका छन् । प्राप्त जानकारीअनुसार २ दर्जनभन्दा बढी पुस्तककार कृति नेपाली र अंग्रेजी भाषामा बालबालिकाका लागि उपयोगी सामग्री पस्कने व्यक्तित्व पराजुली आजसम्म सोही विधामा निरन्तर लागिरहेका छन् । उमेरले ७५ काटेका पराजुलीमा एउटा अनौठो चरित्र छ त्यो हो साथीभाइहरूसँग सहज रूपमा घुलमिल हुन सक्ने गुण । विनयी स्वभावका पराजुली जति व्यवहारमा सामान्य छन् साहित्य साधनामा त्यत्तिकै विशेष लाग्दछन् ।

आफ्नो जीवन यात्रालाई अक्षर खेतीमा समर्पण गरेका गोपाल पराजुलीको परिचय (व्यक्तित्व र कृतित्व) झल्काउने पुस्तकका रूपमा बालमनका गोपाल (दृष्टाको दृष्टि) २०७४ बजारमा आएको छ । परिपक्क सम्पादक हरि मञ्जुश्रीद्वारा संकलित र सम्पादित यो पुस्तकलाई ओरिएण्टल पब्लिकेसनले प्रकाशन गरेको हो । यस पुस्तकभित्र स्रष्टाका लगभग सबै पुस्तकाकार कृति र लेखक पराजुलीका लेखन शैली र व्यक्तित्वका छुटेका पाटाहरूलाई समेत प्रष्ट्याउने काम भएको छ । अर्थात् हामी भन्छौ नि जीवनी, व्यक्तित्व र कृतित्व यी सबै पक्ष र पाटो एकापसमा अन्योन्याश्रित भएर आएको छ । अर्थात् बालमनका गोपाल पराजुलीलाई चिन्नका लागि मुख्य उपयोगी सामग्री बन्न पुगेको देखिन्छ । स्तरीय कागज र डिजाइनमा पुस्तकले राम्रो आकार ग्रहण गरेको छ । पचपन्न वर्ष भन्दा लामो साधना गरिसकेका गोपाल पराजुलीको विषयमा यस पुस्तकमा कतै पनि अतिसयोक्तिपूर्ण विषय उठान गरिएको छैन । एउटा लेखकलाई सही मूल्यांकनको कसी लगाउनु भनेको स्वयम्मा त्यो ठूलो पुरस्कार, अभिनन्दन, सम्मान जे–जे भनौं त्यही हो । वि.सं. २०२१ सालदेखि निरन्तर साधनारत गोपाल पराजुली आज पनि आफ्ना पुस्तकहरूको परिमार्जन, लेखन र नयाँ के गर्ने ? सोचमा केन्द्रित रहेका छन् । परिचित र अपरिचित व्यक्तिसँगको भेटमा अत्यन्तै हार्दिकतापूर्वक व्यवहार गर्ने पराजुली सरल भाषा सङ्क्षिप्त शैली र आवश्यक सूचनाले परिपूर्ण पार्ने लेखनमा योग्य देखिएका छन् ।

यस पुस्तकमा जम्मा चार वृत्तमा लेखक र पुस्तककार कृतिबारे चर्चा गरिएको छ । व्यक्ति वृत्तमा १४ लेख, कृतित्व वृत्तमा ७५ लेख, कविता वृत्तमा ४ रचना र अंग्रेजी पुस्तकबारे १० लेख समावेश गरिएको छ । १०३ ओटा रचना (लेख, समाचार, टिप्पणी, समीक्षा)ले यो पुस्तक भरिएको छ । आवरणबाहेक १८+२४६ पेजमा सामग्री सुन्दर ढंगले सजाइएको छ । कतै कतै पेजको अलि लोभ पो गरियो कि जस्तो पनि लाग्छ तथापि त्यसले पुस्तक लेखक र पुस्तक विषयमा सहयोगी स्थिति नै सिर्जना गरिदिएको छ ।

भुल्न नहुने विषय के छ भने लेखक गोपाल पराजुली बालबालिकाका लागि उपयोगी जीवनीकार हुन् । त्यसैले पनि उनको पुस्तकहरूको भूमिकामा ‘राम्रो रचना मीठो नेपाली’ का लेखक कृष्णप्रसाद पराजुली, चूडामणि बन्धु, परशु प्रधान, शिव रेग्मी, डा. तुलसी भट्टराई, गोविन्दराज भट्टराई, द्वारिकानाथ ढुङ्गेल, कुलप्रसाद कोइराला, खगेन्द्र लुइँटेल, कुमारप्रसाद कोइराला, जीवनचन्द्र कोइराला, कुमारबहादुर जोशी, शिवप्रसाद सत्याल ‘पीठ’, कृष्णप्रसाद दाहाल, प्रमोद प्रधान, श्रीओम श्रेष्ठ रोदन, पारसमणि भण्डारी, प्रभात सापकोटा, राममणि रिसाल, बासु रिमाल यात्री, लालगोपाल सुवेदी, मुक्तिनाथ शर्मा, ठाकुर शर्मा भण्डारी, रमण घिमिरे, शीतल गिरी, दीनबन्धु अर्याल, मोहनबहादुर कायस्थ, घनश्याम खतिवडा, मधुसूदन लामिछाने, महेश पौड्याल, अम्बराज जोशी, गान्धीराज काफ्ले, बेदनाथ रेग्मी, गोपीकृष्ण ढुङ्गाना, लीला शर्मा, लक्ष्मणप्रसाद गौतम, सूर्य सुवेदी, जयदेव, मुक्तिनाथ घिमिरे ‘पथिक’, तोयानाथ भट्टराई, अनन्तप्रसाद वाग्ले, रवीन्द्र तामाङ, वसन्तप्रकाश, नरेन्द्रराज पौडेल, चन्द्रश्री कार्की, मदनकृष्ण सिलवाल, हरि मञ्जुश्री, वंशी श्रेष्ठ, हरिकुमार अधिकार, नीर प्रभात, छायादत्त न्यौपाने, राधेश्याम भट्टराई, कीर्तन अधिकारी, गोपाल आचार्य, विष्णु विपश्वी, केदार शाक्य, विमल भौकाजी, कुशलराज भट्टराई, आदिका रचना समालोचनाहरू परेका छन् । यसभित्र समेटिएका पुस्तक परिचय झल्काउने धेरैजसो लेखहरू छोटा छन् भने बाल जीवनीकार गोपाल पराजुलीको व्यक्तित्व र पुस्तकको विषयमा लेखिएका भूमिका जस्ता लेखहरू मध्यम आकारका समालोचनात्मक आयामका रहेका छन् ।


यस पुस्तकभित्र लेखकहरूले बाल साहित्य, बाल जीवनी लेखन यसको आवश्यकता र समग्रमा बाल साहित्यको आवश्यकता बारे गहन ढंगले विश्लेषण गरेका छन् । यही कसीमा जीवनीकार गोपाल पराजुलीका पुस्तकहरूको मूल्य निरुपण गर्ने कार्य समेत यी लेखहरूमा समेटिएको छ । एकातिर कृष्णप्रसाद पुराजुली जस्ता बाल साहित्य साधक र अर्कोतर्फ चूडामणि बन्धु जस्ता जीवनी लेखनका सिद्धान्तकार तथा ‘देवकोटा’ जस्ता मूल्यवान पुस्तकका लेखकले गोपाल पराजुलीका पुस्तकमाथि लेख्नु सामान्य हिसाबबाट मात्र हेर्न सकिन्न । यसका अतिरिक्त गोरखापत्र, कान्तिपुर आदि जस्ता राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याति प्राप्त पत्रपत्रिकाका प्रकाशन र सहप्रकाशनमा आएका पुस्तक टिप्पणीले लेखकलाई बाल जीवनी लेखनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दीर्घसाधकको स्थानमा राखेको देखिन्छ ।

नेपाली साहित्य सिर्जना र समालोचनाको क्षेत्रमा उल्लेख्य योगदान दिइसकेका २ दर्जनभन्दा बढी स्थापित हस्ताक्षरबाट गोपाल पराजुलीको बालजीवनी लेखनमा कलम चल्नु स्वयम्मा सत्कर्म हो । आगामी दिनमा अपुगहरूलाई समेत पूर्ण बनाउने यात्रामा लेखक, जीवनी, बालजीवनी लेख्न रुचि राख्ने लेखक तथा आम पाठकलाई यस पुस्तक ‘बालमनका गोपाल’ ले निकै सहयोग पु¥याउने निश्चित छ ।

प्रतिक्रिया