इञ्जिनियरिङ सीप र कलाको उन्नत स्वरूप हो

प्रा.डा. भोला थापा

प्रा.डा. भोला थापा, काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्टार हुनुहुन्छ । हाल सोही विश्वविद्यालयको डिपार्टमेन्ट अफ मेकानिकल इञ्जिनियरिङमा प्राध्यापनरत् प्रा.डा. थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट ‘स्यान्ड इरोजन इन हाइड्रोलिक मेसिनरी’ विषयमा पिएचडी गर्नुभएको छ । भारतको राजस्थानस्थित बिरला इन्स्च्यिुट अफ टेक्नोलोजी एण्ड साइन्सबाट मेकानिकल इञ्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका प्रा.डा. थापाले काठमाडौं विश्वविद्यालयमा यसअघि स्कुल अफ इञ्जिनियरिङको डिनको भूमिका समेत सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । कला र इञ्जिनियरिङको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउनुहुने प्रा.डा.थापासँग यसै विषयमा केन्द्रित रही सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संवादः

 

० कला र इञ्जिनियरिङको बहस चलिरहेको छ । वास्तवमा कला र इञ्जिनियरिङबीचको सम्बन्ध के हो ?
नेपालमा कलाको लामो इतिहास छ, तर आधुनिक इञ्जिनियरिङ पद्धतिको लामो अनुभव छैन । मूलतः इञ्जिनियरिङ समाज र ग्राहकका लागि वस्तु उत्पादन गर्ने पेसा हो । त्यसैले उत्पादित वस्तु समाज र ग्राहकको मन खिच्ने खालको हुनु जरुरी छ । आधुनिक इञ्जिनियरिङ र त्यससम्बन्धी शिक्षा नेपालमा भित्रिसकेको र त्यसको विकासक्रममा रहेको अवस्थामा कला र इञ्जिनियरिङ बीचको सम्बन्धको बहस चलाउनु र एक–अर्काको पूरकका रूपमा स्वीकार गर्नु जरुरी छ ।

 

० कला भावनात्मक संवेगको उपज हो, तर इञ्जिनियरिङ त बढी प्राविधिक कुरासँग सम्बन्धित हुन्छ नि ?
इञ्जिनियरिङ सीप र कलाको उन्नत स्वरूप हो । मानव सभ्यताको विकाससँगै मानव जातिमा कौशलको विकास हुँदै गयो । स्वप्रयोजनका लागि विकसित हुँदै गएको सीप र कौशल अरूलाई सेवा प्रदान गर्न विस्तार हुँदै गयो । जब सीप र कौशलको व्यवसायीकरण हुँदै गयो, तब सीप र कौशल इञ्जिनियरिङतर्फ रूपान्तरण हुँदै गयो । आधुनिक युगमा प्रतिस्पर्धी बजारीकरण र विस्तार सन्तुलन गर्न र जनधनको सुरक्षार्थ इञ्जिनियरिङलाई प्रविधि बनाइयो र इञ्जिनियरिङमा भावनात्मक संवेदनालाई लगाम लगाइयो । अन्यथा विश्वका मानवनिर्मित स्मारक र वस्तुहरूमा प्रविधिका साथै भावनात्मक संवेग पनि प्रशस्तै देख्न सकिन्छ । आधुनिक समाज ग्राहकमुखी भइरहेको परिप्रेक्ष्यमा अब उत्पादन हुने वस्तुमा भावनात्मक संवेग र कलात्मक नवीनता नभएमा त्यसले ग्राहक नपाउने सम्भावना बढी हुन्छ ।

 

० इञ्जिनियरिङ भनेको सडक, भवन, पुललगायतका निर्माणकार्य मात्रै रहेको आम बुझाइजस्तो छ । के यो त्यति मात्रै हो त ?
इञ्जिनियरिङ यति व्यापक छ कि यसले नसमेट्ने कुनै क्षेत्र नै हुँदैन होला । इञ्जिनियरिङको विकासको दौरान इञ्जिनियरिङ भनेको पूर्वाधार विकास भन्ने बुझाइ रह्यो । इञ्जिनियरिङ पेसा सुरुवात हुँदा मिलिटरी र सिभिल दुई किसिमका इन्जिनियर मात्र हुन्थे । गैरसैनिक क्षेत्रका सबै काम सिभिल इन्जिनियरले गर्नुपथ्र्यो । नर्वेमा आजपर्यन्त विश्वविद्यालयबाट प्रदान गरिने जुनसुकै विषयको डिग्रीलाई सिभिल इञ्जिनियरिङ र स्नातकलाई सिभिल इन्जिनियर भनिन्छ । विचार गरौँ त, आज जल, स्थल, तेज, वायु र आकाश कहाँ इञ्जिनियरिङ छैन ?

० खासमा इञ्जिनियरिङ के हो ? कलासँग यसको परिपूरक सम्बन्ध कसरी रहेको हुन्छ ? यी दुईको ऐतिहासिक सम्बन्ध र सौन्दर्य चिन्तनका बारेमा बताइदिनोस् न !
आधुनिक समाजले आवश्यक महशुस गरेको वस्तु तथा सेवाको सोच परिकल्पना गर्ने, त्यसको डिजाइन गर्ने, सुलभ रूपमा उत्पादन गर्ने, सुरक्षाको प्रत्याभूति गर्ने, परीक्षण गरी बजारीकरण गर्दै त्यसलाई निरन्तर विकासचक्रमा प्रयोग गरिरहने पेसा हो इञ्जिनियरिङ । तसर्थ यो विज्ञान, प्रविधि, अर्थतन्त्र र समाजशास्त्रको सम्मिश्रण हो । मानव मात्र नभएर पशु तथा पन्छीसमेत सौन्दर्यप्रेमी हुन्छन् । तसर्थ इन्जिनियर स्रष्टा हुनु जरुरी छ र त्यसको सिर्जनाभित्र यथेष्ट सौन्दर्य आवश्यक हुन्छ । तर विडम्बना, हामी इन्जिनियरहरूले अध्ययन अवधिमा सौन्दर्यलाई प्राथमिकतामा राखेर तालिम पाएका हुँदैनौँ । तसर्थ इञ्जिनियरिङ र कला–सौन्दर्यलाई राम्रोसँग जोड्न सकेका छैनौँ । विश्वका सफल इन्जिनियरहरू सफल कलाकार पनि हुन्, किनभने उनीहरूको सोच र सिर्जनालाई आजपर्यन्त सम्मान गरिन्छ ।

० यहाँहरूले नेपालको परम्परागत मूर्ति ढलाइ विधिबाट हाइड्रोमा प्रयोग हुने टर्बाइन पनि बनाउनुभयो । यो प्रयोग सफल भयो त ?
मैले २५ वर्षभन्दा बढी मेकानिकल इञ्जिनियरिङ अध्यापन गरेँ । अध्ययन–अनुसन्धान पनि हाइड्रोपावर विकास गर्न टर्बाइनमा गरेँ । त्यस्ता टर्बाइनको अनुसन्धान गर्न र विकास गर्न काठमाडौँ विश्वविद्यालयमा टर्बाइन टेस्टिङ ल्याब पनि स्थापना गरेँ । कैयौँ स्नातक, स्नातकोत्तर र पिएचडी पनि काठमाडौं विश्वविद्यालयमै उत्पादन गरेँ । तर विडम्बना, आफू र आफ्नो समूहलाई वैज्ञानिक रूपमा विश्वस्तरमा स्थापित गर्न सफल भए पनि नेपालमै टर्बाइन निर्माण भने गर्न सकिएन । नेपालमा उद्योगहरू चहार्दै र बुझाउँदै गर्दासमेत टर्बाइन उत्पादन गर्न नसकेपछि हार खाएर काठमाडौं विश्वविद्यालय अन्तर्गतका कलाशिक्षक तथा मूर्तिकार तेजेशमान शाक्यसँग सहकार्य गरी उहाँकै घरेलु भट्टीमा नेपाली परम्परागत प्रविधि प्रयोग गरेर १४ किलोवाटको पित्तलको फ्रान्सिस टर्बाइन निर्माण गरियो । त्यसै टर्बाइनलाई ल्याबमा टेस्ट गरेर दधिराम दाहालले मास्टर्स सक्नुभएको छ भने त्यस टर्बाइनलाई नेपाल माइक्रो हाइड्रो डेभलपमेन्ट एसोसिएसनको तालिम केन्द्र फर्पिङनजिकै स्थापना गर्ने प्रक्रियामा छ ।

आधुनिक समाजले आवश्यक महशुस गरेको वस्तु तथा सेवाको सोच परिकल्पना गर्ने, त्यसको डिजाइन गर्ने, सुलभ रूपमा उत्पादन गर्ने, सुरक्षाको प्रत्याभूति गर्ने, परीक्षण गरी बजारीकरण गर्दै त्यसलाई निरन्तर विकासचक्रमा प्रयोग गरिरहने पेसा हो इञ्जिनियरिङ

० भनेपछि कला र इञ्जिनियरिङबीचको सम्बन्ध परापूर्वकालदेखि चलिआएको मान्न सकिन्छ ?
मैले पहिले पनि भनेँ इञ्जिनियरिङ भनेको परम्परागत सीप, प्रविधि र कलाको विकसित रूप हो, जुन परापूर्वकालदेखि निरन्तर परिष्कृत र विकसित हुँदै आएको छ । कला, सीप र परम्परागत प्रविधि हटाइदिने हो भने इञ्जिनियरिङको मूल्य नहुन सक्छ । गुणस्तर, सुरक्षा र आर्थिक पाटोका कारणले गर्दा मात्र कला पक्ष इञ्जिनियरिङमा सुषुप्त देखिएको हो ।

० यी दुई पक्षको महत्त्वलाई आम मानिससम्म पु¥याउन के गर्नुपर्ला ?
ग्राहकले आकर्षक वस्तु भएन भने खरिद वा उपयोग गर्दैन । त्यसमा त सन्देह नै छैन । तर समस्या भनेको हाम्रो शिक्षामा हो । शिक्षामार्फत् इन्जिनियरलाई कलाको पारखी बनाउनुपर्नेछ र त्यसमार्फत् नै कला र इञ्जिनियरिङ सहयात्री बन्दै अगाडि बढ्छन् । नेपालमा पनि कला र इञ्जिनियरिङको सहयात्राको केही सफल उदाहरण सुरुवात भएको छ ।

० नेपालमा परम्परागत रूपमा विकास हुँदै आएको शिल्पविधिलाई कसरी आधुनिकीकरण गर्न सकिएला ?
सामान, मानव स्रोत र ऊर्जाको मूल्य बढ्दै गएकाले नेपालको परम्परागत प्रविधि र शिल्प आयातीत वस्तुहरूसँग प्रतिस्पर्धा गर्न नसकी विस्थापित हुँदै गइरहेका छन् । परम्परागत शिल्पीहरूलाई पनि आधुनिक शिक्षाको ज्ञान र उनीहरूलाई प्रतिस्पर्धी बनाउन ऊर्जा, कर आदिमा सहायता तथा छुट दिएर स्वावलम्बी बनाउँदै आधुनिक प्रतिस्पर्धी वातावरणमा टिक्न सक्ने बनाउनुपर्छ । आखिर त्यसैले हाम्रो पहिचान र इतिहास बचाउँछ र विस्तार गर्छ । काठ ताछेर र फलाम पिटेर पानीघट्ट बनाई जीवन चलाएको हजारौँ वर्षको नेपाली सभ्यताको सीप, ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्दै आधुनिक टर्बाइन बनाउनु कुन नयाँ आविष्कार हो र ! त्यस्ता कैयौँ उदाहरण छन् हाम्रा वरिपरि ।

० इञ्जिनियरिङ विधाको पनि मौलिकता हुन्छ होला । के हामीले कलासँगको यसको अन्तर्सम्बन्धलाई जोडेर विकास गर्दा त्यसले हाम्रो मौलिकतालाई चिनाउँछ त ?
नेपालजस्तो मुलुकमा हामीले अहिले इञ्जिनियरिङमा नौलो योगदान दिन सक्तैनौँ होला । किनभने हाम्रो इञ्जिनियरिङ शिक्षा २५–३० वर्षको त भयो नि ! तसर्थ हामीले इञ्जिनियरिङमा संसारसँग प्रतिस्पर्धा गर्ने भनेको कलालाई समाहित गरेर हो । अरनिकोले नेपाली वास्तुकला चीनमा पु¥याए, नेपाली ढलौटका मूर्तिहरू संसारभर सजिएर रहेका छन्, नेपाली खुकुरीले वीरताको परिचय दिँदै संसारलाई चिनाएको छ । अरू हामीले खासै के गरेका छौँ र ? के नेपालीहरू पनि आधुनिक वास्तुकार, अटोमोबाइल डिजाइनर, उत्पादन डिजाइनर आदि भएर संसार हाँक्न नसक्ने हुन् र ? तसर्थ हामीले अविलम्ब शिक्षामा कलालाई प्रवेश गराई हाम्रा इन्जिनियरलाई स्रष्टाका रूपमा अग्रपंक्तिमा पु¥याउनुछ ।

० इञ्जिनियरिङ विधाको सौन्दर्यशास्त्र के हो ?
गरिबी त नभनौँ, हालको आवश्यकता भनेको मुख्यतः सेवा हो । जबजब हामी सम्पन्न र सबल हुँदै जान्छौँ, तबतब न्यूनतम आवश्यकताको पूर्तिले मात्र हामी सन्तुष्ट हुन सक्तैनौँ र सौन्दर्यको खोजी गर्छौं । मानव शरीर होस् वा मानव उत्पादित वस्तु, सबैमा यही नियम लागू हुन्छ । इञ्जिनियरिङ वस्तु उत्पादन गर्दा सामान र श्रमको मूल्य सीमित हुन्छ । त्यो यहाँ गरे पनि अन्य देशमा गरे पनि एउटा सूत्रबाट त्यसको मूल्य मापन गर्न सकिन्छ । तर सिर्जना र सौन्दर्य यस्तो चीज हो, जसको मूल्य आँकलन गर्ने कुनै सूत्र वा निर्देशिका छैन । तसर्थ मूल्य अभिवृद्धिको सुनौलो अवसर हो इञ्जिनियरिङमा सौन्दर्यशास्त्र या एस्थेटिक ।

० अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
काठमाडौँ विश्वविद्यालयका इञ्जिनियरिङ र कला संकायहरू कला र इञ्जिनियरिङको संयोजनको आवश्यकतामा विश्वस्त भएर निरन्तर रूपमा विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । आशा छ निकट भविष्यमा नै हामीले यसलाई प्राज्ञिक क्षेत्रमा छिराउन र छुट्टै पहिचानसहितको कार्यक्रमका रूपमा प्रस्तुत गर्न सक्नेछौँ । युवा पुस्ता यसप्रति बढी जागरुक देखिएको छ र त्यसले नै भविष्यको सम्भावना पनि देखाउँछ ।

प्रतिक्रिया