नवलपुरमा ५६ जना कोरोनामुक्त, स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि सेवा बन्द

कावासोती । पूर्वी नवलपरासीमा ५६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । जिल्लास्थित प्राकृतिक चिकित्सालय रजहरको आइसोलेसनमा रहेका उनीहरु शुक्रबार डिस्चार्ज भएर घर फर्किएका हुन् ।

चिकित्सालयमा अवस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा रहेका १३४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

संक्रमण मुक्त हुनेमा विनयी त्रिवेणी गाउँपालिकाका १३ जना, कावासोती नगरपालिकाका ९ जना, मध्यविन्दु नगरपालिकाका ३ जना, देवचुली नगरपालिकाका १४ जना र झापाकी एक महिला रहेको चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले बताए ।

यस्तै चिकित्सालयमा शुक्रबार १ सय ३९ जना नयाँ संक्रमित उपचारका लागि भर्ना भएको पौडेलले बताए । पूर्वी नवलपरासीमा शुक्रबारसम्म ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ सय ४३ जना निको भएर घर फर्किसकेका छन् भने ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यता कावासोती नगरपालिकामा २ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं ३ स्थित शिवमन्दिर स्वास्थ्यचौकीमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको हो ।

स्वास्थ्यचौकीमा कार्यरत अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरुको पुनः पिसिआर परीक्षण गरि रिपोर्ट नआउँदा सम्मको लागि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।

त्यस्तै अर्का संक्रमित कावासोती २ बस्ने हुप्सेकोटमा कार्यरत स्वास्थ्यकर्मी रहेको उनले बताए । नागिलाका अनुसार संक्रमित हुने अन्य १३ जनामा कावासोती २ का ९ जना, कावासोती ३ का ५ जना र कावासोती १४ को १ जना छन् । ऊनीहरु मध्ये ३ जना भारतबाट आएका हुन् भने बाँकी १२ जना समुदायका हुन् ।

प्रतिक्रिया