लामो दूरीको बस सञ्चालन आजबाट 

काठमाडौं । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् ।   यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले भोलिबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।
कार्यदलले बुधबार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रीपरिषद्मा लगेकोमा धन्यवाद दिएको थियो । मन्त्री नेम्वाङलले आबश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताए । उनले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गरे ।
मन्त्री नेम्वाङले यससम्बन्धी तयारीको जिम्मेवारी यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमाललाई दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बस चलेपछि यात्रुलाई कहाँ खाना, खाजा खुवाउनेलगायतका विषयमा अहिलेसम्म जानकारी नगराएको बताए ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

प्रतिक्रिया