प्याजमा कालोबजारी : ४८ रुपैयाँमा किन्ने १ सय २० मा बेच्ने

काठमाडौं । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा त्यसको प्रत्यक्ष असर परेको छ । निर्यात बन्द गरेपछि नेपालका व्यापारीले प्याजमा कालोबजारी गरिरहेका छन् ।  थोक व्यापारीले नै एक सय रुपैयाँसम्म बिक्री गर्ने गरेको भेटिएको छ । बल्खु तरकारी बजार होलसेलमा रहेको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालकले ४८ रुपैयाँमा किनेको प्याज १ सय २० रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको छ । बुधबार बिहान भएको अनुगमनमा ती सप्लायर्सले निक्कै धेरै मूल्यमा प्याज बेचेपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीसहित अन्य केही व्यापारीलाई पक्राउ गरेको छ ।

व्यापारीले दुई÷चार रुपैयाँ भाउ तलमाथि गर्नु सामान्य कुरा भए पनि केही घण्टाको अन्तरालमै ८० रुपैयाँसम्म भाउ बढेपछि सरकारले अनुगमन तीव्र बनाएको छ । अनुगमनका लागि बुधबार बिहान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहकको भेषमा सुरक्षाकर्मी र सरकारी गाडीविना नै बजार अनुगमनमा गएका थिए । व्यापारीले उनैलाई ठगेर प्याज बेचेका छन् ।  मास्क लगाएर भिडभाडविना नै बजारमा प्याज किन्न पुगेका मन्त्री भट्टलाई व्यापारीले ठगेका हुन् । बल्खु तरकारी बजारमा मन्त्री भट्टले प्याज किनेका थिए । ४८ रुपैयाँ पर्ने प्याजलाई व्यापारीले १ सय २० रुपैयाँसम्म लिए । मन्त्री भट्टले खल्तीबाट झिकेर पैसा तिरे । उनले चार वटा पसलबाट प्याज किने तर सबै व्यापारीले ठगे ।
आफू ठगिएपछि मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराए र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिए । धेरै मूल्य लिने चार जना व्यापारलाई प्रहरीले पक्राउ गरेर कालीमाटी वृत्तमा लगेको छ । उनीहरूलाई कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

भारतले प्याज निर्यात रोकेपछि प्याजको मूल्य आकासिएको व्यापारीहरूले बताएका छन् । एक साताअघि भारतको नासिकस्थित थोक बजारमा नै प्रतिकिलो १२ भारतीय रुपैयाँ रहेको प्याजको मूल्य अहिले ४८ भारु पुगेकोले मूल्य बढेको थोक विक्रेताहरूले बताएका छन् । नेपाल सरकारले कृषि सुधार शुल्क पाँच प्रतिशतबाट बढाएर नौ प्रतिशत पु¥याएका कारण पनि प्याजको मूल्य बढेको उनीहरूको भनाइ छ । भारतले प्याज निर्यात रोकेपछि विराटनगरका प्याज आयातकर्ताहरूको सात वटा ट्रकमा रहेको करिब २ सय १० मेट्रिक टन प्याज सीमावर्ती जोगबनी भन्सारमा रोकिएको छ । भारतको नासिकबाट ल्याइएको प्याज भन्सार नाकासम्म पुगिसकेकाले आयातका लागि पहल गरिदिन थोक विक्रेताहरूले सरकारसँग आग्रह गरेका छन् ।

गत आर्थिक वर्ष भारतबाट विराटनगर भन्सार कार्यालय भएर ४ हजार ६ सय ४७ मेट्रिक टन प्याज आयात भएकोमा यस आर्थिक वर्ष भदौ २४ गतेसम्म १ हजार ६ सय मेट्रिक टन प्याज आयात भएको विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत शिव भण्डारीले जानकारी दिए । भारतबाट प्याज ल्याउन रोक लागेपछि थोक विक्रेताहरूले चीनबाट प्याज ल्याउने तयारी सुरु गरेका छन् । चीनबाट विराटनगरसम्म प्याज ल्याउन बढीमा २० दिन लाग्ने र चिनियाँ प्याज आएपछि प्याजको मूल्य घट्ने थोक विक्रेताहरूले बताएका छन् ।

प्रतिक्रिया