‘पञ्च’को आडमा सामूहिक बलात्कार !

सप्तरीको डाकनेश्वरी–७ ललितपुरकी १७ वर्षीया नन्की भनिने संगीता मण्डललाई चार जनाले बलात्कार गरेको स्थान ।

सप्तरी । सामूहिक बलात्कारमा परेकी सप्तरीकी एक १७ वर्षीया किशोरीलाई ‘पञ्च’ ले मेलमिलापका लागि दबाब दिएपछि झुन्डिएर आत्महत्या गरेकी छन् । गाउँका भद्रभलाद्मी समेतले पञ्चकै पक्षमा लागेर प्रहरीमा उजुरी गर्न नदिएर रकममा मेलमिलाप गर्न दबाब दिएपछि उनले आत्महत्या गरेकी हुन् ।  सोमबार बिहान डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगीता मण्डलको स्थानीय चार युवाले सामूहिक बलात्कार गरेका थिए । सोमबार बिहान धानखेतमा लगाएको पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताएकी छन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध उजुरी दिन प्रहरी कार्यालय जान खोज्दा पञ्चको भेलाले रोकेका थिए । त्यसपछि छोरी निकै तनावमा परेको उनले बताइन् ।

पीडित संगीताले आमालाई बताएअनुसार सोही ठाउँका धर्म मण्डल (३०), विष्णु मण्डल (३५), रञ्जित मण्डल (१८) र बब्लु मण्डल (१९) सहभागी थिए । उनीहरूमध्ये धर्म र विष्णुले बलात्कार गरेको र अरू दुई युवाले प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि देखाएको छ । घटना बिहानको करिब नौ बजेतिर भएको उनकी आमाले बताइन् ।  किशोरी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आएपछि घटनाका बारेमा परिवारले थाहा पाएको थियो । उनको घरमा आमा र उनका दाइ मात्र छन् । बाबु बितिसकेका छन् भने अर्का दाजु वैदेशिक रोजगारीमा छन् । उनीहरू अति विपन्न परिवारका भएकाले गाउँमै बटियामा खेत लिएका थिए । सो दिन उनी धानखेतमा पानी धेरै भए आली काटेर बगाउन गएकी थिइन् ।

हातका चुरा फुटेका र कपाल पूरै फुकेको अवस्थामा घर आएकी थिइन् । धेरै बेरसम्म एकनास रोइरहिन् र चार जनाबाट आफू बलात्कृत भएको सुनाउँदै गर्दा उनी बेहोस भएको पीडितकी आमाले रुँदै बताइन् । ‘चार जनाले पछाडिबाट समातेर खेतमै लडाए । वरपर अरू कोही थिएनन् । लुगा फुकाल्न थालेपछि जोरजोरले चिच्याउन खोजे पनि कसैले सुनेनन्’, पीडितले बताएको कुरा सुनाउँदै उनकी आमाले भनिन्, ‘मुख बन्द गरिएको थियो । आवाज नै बाहिर गएन । बलात्कारीहरू जबरजस्ती गरेर फर्किए । उनी घटनास्थलमै एकछिन बेहोस भइन् र जसोतसो उठेर घरसम्म आइन् ।’

घटनापछि उनकी आमाले गाउँबाटै सहयोग पाउने अपेक्षाले समुदायका मुख्य व्यक्तिलाई बोलाइन् । जसलाई तराईका जिल्लाहरूमा ‘पञ्च’ भनेर बोलाउने गरिन्छ । भेला भएका आठ जना पञ्चले आरोपितहरूबाट क्षतिपूर्ति भराई दिनुपर्ने र पीडितले कतै उजुरी गर्न नपाउने ‘फैसला’ सोमबार दिउँसो दुई बजेतिर सुनाइदिए । पञ्चहरूकै अगाडि आमाछोरी दुवैले त्यसको विरोध गरे पनि उनको कुरा कसैले सुनेनन् । पञ्चले चारै जना आरोपितलाई जनही २५÷२५ हजार रुपैयाँ तिनुपर्ने फैसला गरेका थिए ।

पञ्चले एक जनाको इज्जत ठूलो कि सिंगो गाउँको भन्दै पीडितलाई धम्क्याएका थिए । प्रहरीमा उजुरी गरे साक्षी प्रमाण जुटाउन नसक्ने भएकाले चुपचाप रहन उनीहरूले चेतावनी दिएको पीडितका छिमेकी बताउँछन् । बलात्कारको उजुरी गरे किशोरीकै बदनाम हुने, त्यसले बिहे पनि नहुने, आरोपितबाट पाउने क्षतिपूर्ति पनि छुट्ने भन्दै घटना बिर्सिन गाउँका ‘जान्ने–बुझ्ने’ ले भनेपछि किशोरी तनावमा परेकी थिइन् ।

पीडित किशोरी र आमाले मंगलबार प्रहरीसमक्ष उजुरी दिने निष्कर्षसमेत निकालेका थिए । सोमबार दिनभर निक्कै विक्षिप्त रहेकी ती किशोरीले सोही राती सलको पासो लगाएर आत्महत्या गरिन् । किशोरीले आत्महत्या गरेपछि आरोपित चारै जना फरार भएका छन् । प्रहरीले पञ्चहरूमध्ये तीन जनालाई पक्राउ गरेको छ । पञ्चायतीमध्ये जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरेको छ ।

सप्तरी प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक तिलक भारतीले उनीहरूलाई बलात्कार मुद्दामा मतियारको भूमिका खेलेको, प्रमाण नष्ट र आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान सुरू गरिएको बताए । ‘जबरजस्ती गरेर दबाउन खोज्नेले भोलि अरूलाई पनि यस्तै नगर्लान् र ?’, पीडितकी आमाले भनिन्, ‘यस्तो अवस्थामा पु¥याउनेहरूलाई कडा दण्ड सजाय होस् भन्ने चाहना छ । तर, म एक्लै के गरुँ ? के गर्नेुपर्ने हो ? त्यो पनि थाहा छैन ।’ गाउँलेबाट त्यस्तो होला भन्ने कल्पनासमेत नगरेको उनले बताइन् ।

जिल्ला प्रहरीका इन्स्पेक्टर सन्तोष खड्काले घटनास्थलमा पीडितले जोगिन संघर्ष गर्दा धान मडारिएको, चुराहरू फुटेको पाइएको बताए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको शव परीक्षणको विस्तृत रिपोर्ट आइसकेको छैन । प्रारम्भिक रिपोर्टमा बलात्कार भएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया