उपत्यकाका थप दुई स्थानमा ट्राफिक बत्ती सञ्चालन

काठमाडौं । काडमाडौं उपत्यकाका थप दुई स्थानमा आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको छ । ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन सो बत्ती सञ्चालनमा ल्याइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महानगरपालिका वडा नं १ को समन्वयमा कमलपोखरीस्थित ल्होत्से चोकमा र महानगरको वडा नं ५ सँगको सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडि) ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको अन्य स्थानमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक बत्ती जडान गर्न पहल भईरहेको जानकारी दिए । पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ ।

अहिले कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाइला, बौद्ध, ग्रान्डी चोकलगायतका ११ स्थानमा ट्राफिक बत्ती जडान जारी रहेको जनाइएको छ । उपत्यकाको अन्य थप ४६ स्थानमा पनि ट्राफिक बत्ती जडानको पहल भइरहेको महाशाखाले जनाएको छ । सञ्चालनमा आएका ट्राफिक बत्तीको सङ्केत पूर्णपालना गर्न महाशाखाले चालकलाई अनुरोध गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टङ्केश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताल चोकलगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया