मिर्गौलापीडित भएपछि कोरोना संक्रमण देखिएका युवकको मृत्यु

सप्तरी । खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमित भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए । हप्तामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् ।

मिगौलापीडितसहित ६ जनाको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था गम्भीर बन्दै गएपछि मङ्गलबार राजविराजस्थित अस्पतालबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रणजीतकुमार झाले जानकारी दिए ।

युवकको बिहान मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । तीमध्ये एक महिला छन् । पुरुषको शव धरानमा रहेको छ । खडक नगरपालिकाको एम्बुलेन्सले धरानबाट शव ल्याएपछि नेपाली सेनाले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया