श्रीमतीलाई मायाप्रेमको नाटक गर्न लगाई अपहरण, फिरौती माग्ने तीन पक्राउ

काभ्रे । अपहरण गरी फिरौती रकम माग्ने तीन जना पक्राउ परेका छन । धुलिखेल नगरपालिका वडा नं ४ स्थित २८ किलोमा ४/५ जनाको समुहले अपहरण गरी बन्धक बनाई ५०,००० रुपैया फिरौती माग्ने ५ मध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार भदौ २४ गते दिउँसो ३ वजेको समयमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२ देवभुमी घर भएका २३ बर्षीय राजकुमार दनुवारलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा नामथर ठेगाना नखुलेका ४/५ जनाको समुहले अपहरण गरी बन्धक बनाई ५०,००० रुपैया माग गरेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय काभ्रेलाई प्राप्त भएपछि रातीको ८ वजेको समयमा प्राप्त सुचनालाई आधार मान्दै जिल्ला प्रहरी कार्यलय काभ्रेको प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।

खोजतलासको क्रममा रातीको ९ वजेको समयमा काभ्रे जिल्ला बनेपा नगरपालिका १० बुडोलबाट पिडित राजकुमार दनुवारलाई सकुशल उद्दार गरिएको डिएसपी थापाले बताए । उनले भने, ‘घटनामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्दै जाने क्रममा २८किलो एरियाबाट पाँचखाल नगरपालिका १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका ४ स्थित २८किलोमा डेरा गरी बस्ने वर्ष १९ को आकाश परियार, उनकी श्रीमती २१ बर्षीय सविना तामाङ, उमा परियारलाई पक्राउ गरिएको थियो ।’

उनीहरुलाई कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा २६ गते जिल्ला अदालतबाट म्याद थप अनुमती लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका तीनजना मध्ये सबिना तामाङ्गले पिडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न बोलाएको खुल्न आएको बताइएको छ ।

सबिना तामाङ्ग र उमा परियारले पिडितलाई धुलिखेल ४ स्थित २८ किलोमा संगै भेट गरी सबिना तामाङ्गले जंगल तर्फ लिई गएको र जंगलको एकान्त स्थानमा पुगी संगै कुराकानी गरी बसीरहेको अवस्थामा सबिना तामाङ्गको श्रीमान् आकाश परियार लगायत अन्य व्यक्तिहरुले पिडितलाई नियन्त्रणमा लिई बन्धक बनाई घट्ना मिलाउनको लागि ५० हजार माग गरेको खुल्नमा आएको आएको छ ।

पक्राउ परेकाहरु सँगै फरार रहेका प्रतिवादीहरु समेतले पूर्व योजना बनाई अपहरण तथा शरिर बन्धक गरी रकम माग गरेको खुल्न आएको र सोही क्रममा पिडितलाई धुलिखेल नगरपालिका तथा बनेपा नगरपालिकाका बिभिन्न ईलाकाहरुमा पुर्याई बन्धक बनाई राखेको अवस्थामा २४ गते राती १० वजे उद्दार गरीएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया