सात दिनमा ३१ संक्रमितको मृत्यु

काठमाडौं । कोभिड–१९ (कोरोना)का कारण मृतकको संख्या निक्कै तिव्र गतिमा बढ्न थालेको छ । पछिल्लो सात दिनमा मात्रै ३१ संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या बढ्दै जाँदा आइसियु र भेन्टिलेटरमा ८९ संक्रमित रहेका छन् ।

साउन २१ गतेसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० रहेको थियो । साउन २८ गते अपरान्ह ४ बजेसम्म यो संख्या बढेर ९१ पुगेको छ । मृतकमध्ये अधिकाशं वृद्ध उमेरका र दीघरोगी एंव श्वासप्रश्वास सम्बन्धि रोग भएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो एकसातामा दैनिक दुई देखी आठ जनासम्मको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

विज्ञहरुले पनि लकडाउन खुकुलो भएपछि मृतकको संख्या बढिरहेको बताएका छन् । उनिहरुका अनुसार मानिसमा कोरोनाप्रतिको भय कम भएकाले यस्तो अवस्था आएको बताउछन् । मास्कको प्रयोगमा कमि, सामाजिक दुरी कायम नराख्ने र जथाभावी हिड्ने गरेका कारण पनि कोरोनाले भयावह अवस्था सिर्जना गरिरहेको विज्ञहरुले बताएका छन् ।

गते कति मृत्यु
साउन २२ – पाँच जनाको मृत्यु
साउन २३ – पाँच जनाको मृत्यु
साउन २४ – तीन जनाको मृतयु
साउन २५ – दुई जनाको मृत्यु
साउन २६ – चार जनाको मृत्यु
साउन २७ – चार जनाको मृत्यु
साउन २८ – आठ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार साउन २२ गते पाँच जना संक्रमितको मृत्यु भएको थियो । त्यो दिन कुल मृतकको संख्या ६५ पुगेको थियो । २३ गते ५ जना, २४ गते ३ जना, २५ गते २ जना संक्रमितको विभिन्न अस्पताल र कसैको मृत्युपछि कोरोना संक्रमण पुष्टि हुन पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २६ र २७ गते भने चार÷चार संक्रमितको मृत्यु भएको थियो । बुधबार भने एकै दिन ८ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबारसम्म सवैभन्दा बढि प्रदेश–२ मा मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९ जनाको प्रदेश–२ मा मृत्यु भएको छ । त्यसपछि बागमतिमा एक चिनियाँ नागरिकसहित १७ जना, प्रदेश–५ मा १२, सुदूरपश्चिममा ७, प्रदेश–१ र गण्डकी प्रदेशमा ६÷६ जना र कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

बुधबारसम्म दुई जना भेन्टिलेटर र ८७ जना आइसियुमा उपचार रहेका छन् । उनिहरु मध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ । प्रदेश–२ मा ४३ जना आइसियु र बागमति प्रदेशमा दुई जना भेन्टिलेटर र ३८ जना आइसियुमा उपचार गरिरहेका छन् । प्रदेश–५ मा ५ जना र गण्डकी प्रदेशमा एक जनाको आइसियुमा उपचार भईरहेको छ ।

कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएर सघन उपचार आवश्यक हुने व्यक्तिहरूको संख्या बढ्दै जाँदा संक्रमण अझ व्यापक स्तरमा फैलिए आईसीयू र भेन्टिलेटरको अभाव हुने विज्ञहरूले चेतावनी दिएका छन् । अहिले देशभरि २ हजार ६०० वटा आईसीयू शय्या र ९०० वटा भेन्टिलेटर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन् । यसलाई केही संख्यामा अझै बढाउने तयारी रहेको पनि बताइएको छ ।

गम्भीर अवस्थामा भएका बिरामीको जीवनरक्षाका लागि महत्वपूर्ण मानिने ती सघन उपचारसम्बन्धी संरचना अधिकांशतः काठमाडौं उपत्यकामै सीमित रहेको र राजधानीबाहिरका अस्पतालमा कम भएको विज्ञहरूको भनाइ छ । उनीहरूले कतिपय अस्पतालमा सघन उपचार सेवा सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति पनि आवश्यक पर्ने उल्लेख गरेका छन् ।

अहिले अस्पतालमा संक्रमितको उपचार गर्न सम्भव नदेखिएपछि होम आइसोलेसनमा समेत पठाइएको छ । संक्रमित देखिएका मध्ये सातै प्रदेशमा ३५३ जना होम आइसोलेसनमा रहेका छन् । प्रदेश–५ मा सबैभन्दा धेरै १४५ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार देशभर ४८४ थप संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १३८ जना फेला परेका हुन् । हाल काठमाडौंमा एक हजार ४०, ललितपुरमा १४४ र भक्तपुरमा ७३ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकाबाहेक सात जिल्लामा दुई भन्दा बढि सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं पछाडी पर्सामा ९५६, रौतहटमा ८२०, महोत्तरीमा ६३५, मोरङमा ३६७, धनुषामा २९४, सर्लाहीमा २७९ र बाँकेमा २३४ सक्रिय संक्रमित रहेका छन् । देशभरमा हाल ७ हजार ६१३ सक्रिय संक्रमित छन् । कुल संक्रमित भने २४ हजार ४३२ जना रहेको र त्यसमध्ये १६ हजार ७२८ जना निको भएर घर फकिएका छन् ।

बुधबार ८ संक्रमितले गुमाए ज्यान
काठमाडौं । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिन यति ठुलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयका अनुसार धनुषामा दुई तथा धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक÷एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीय एक महिलाको बुधबार विहान निधन भएको छ । विहान १ः१५ बजे किष्ट मेडिकल कलेज ललितपुरमा उनको निधन भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् । त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्स अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोगी थिए । कोरोना पुष्टि भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । उनलाई साउन ७ गते कोरोना पुष्टि भएको थियो । त्यसैगरी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनलाई साउन १८ गते कोरोना पुष्टि भएको थियो ।

त्यसका साथै सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भएका ७२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उनी ४ दिनअघि ज्वरो आएर स्वाब संकलन गर्दा साउन २७ गते कोरोना पुष्टि भएको थियो । उनी थाइरोड तथा मधुमेहका तथा मुटुरोगी थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

त्यसैगरी कपिलवस्तु नगरपालिका २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको बुधबार कोरोनाका कारण मृत्यु भएको छ । ज्वरो तथा निमोनिया भइ उनी साउन २५ गते बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए । मंगलबार कोरोना पुष्टि भएका उनको बुधबार विहान ४ बजेर २५ मिनेटमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यसैगरी, बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको बुधबार किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए । बुधबार नै कोरोना पुष्टि भएका उनी मिर्गौला तथा दमका रोगी थिए ।

प्रदेश–१ मा १९ सयको परीक्षण
विराटनगर । प्रदेश–१ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबारमात्रै १ हजार ९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सुचना डेस्कका अनुसार १ हजार ८७८ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ । प्रदेशमा रहेका प्रयोगशालाबाट भने हालसम्म ६५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ । अन्य प्रदेशका ६ हजार ७९६ जनाको कोरोना परीक्षण प्रदेश १ का प्रयोगशालाबाट भएको हो । हालसम्म प्रदेश १ मा १ हजार ६ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १८ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण भइरहेको छ ।

प्रतिक्रिया