५० करोड लागतमा कागज कारखाना

नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिकामा कागज उद्योग सञ्चालनमा आएको छ । जिल्लाको मध्यविन्दु–१० अरुणखोलामा झण्डै ५० करोड रुपैयाँको लागतमा क्वालिटी पेपर इन्डष्ट्रिज प्रालि नामक उद्योग सञ्चालनमा आएको हो । स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताइएको छ । विसं २०७५ मा स्थापना भएको सो उद्योगले झण्डै २ वर्षपछि उत्पादन सुरु गरेको सो प्रालिका अध्यक्ष सुकेशकुमार गुप्ताले बताए ।

उद्योगले पहिलो चरणमा प्याकेजिङ (कार्टुन)लाई प्राथमिकता दिएर उत्पादन सुरु गरेको उनको भनाइ छ । मुलुकलाई आवश्यक पर्ने सेतो कागजको आधा हिस्सा आफ्नो उद्योगले उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्ष गुप्ताको भनाइ छ । उद्योगका प्रबन्ध निर्देशक राजन पियाले कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी २ प्रकारका कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताए ।

यूरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन गरिने भएकाले यो उद्योगबाट वातावरण प्रदूषण नहुने उनको दाबी छ । करिब ११ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ४ जना युवा उद्यमीको लगानी छ । दैनिक १ सय १५ टन कागजजन्य फोहोर प्रशोधन गर्ने क्षमताको यो उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि १ सय ५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रबन्ध निर्देशक पियाको भनाइ छ ।

नेपालबाट कागजजन्य फोहोरहरु सस्तो मूल्यमा भारत तथा चीनमा निर्यात हुँदै आइरहेको थियो । उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपश्चात पत्रपत्रिका छपाईका लागि आवश्यक पर्ने सबै प्रकारका कागजहरु स्वदेशमै उत्पादन गर्ने तयारी गरिएको उनको भनाइ छ । कागज उद्योगको इतिहास बोकेको नवलपरासी जिल्लाको गरिमा बढाउनका लागि समेत आफूहरुले नवलपरासीभित्रै कागज उद्योग सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक पियाले बताए । कुनै बेला मुलुकलाई कागजमा आत्मनिर्भर बनाएको गैँडाकोटको भृकुटी कागज कारखाना विगत केही वर्षदेखि बन्द अवस्थामा रहेको छ ।

प्रतिक्रिया