डेरामा बोलाएर विभत्स हत्या

काठमाडौं । शनिवार ४५ वर्षीय कृष्णबहादुर बोहोरा गोंगबुको एक होटेलबाट स्कुटर लिएर निस्किएका थिए । बा ७२ प ५६६४ नम्बरको स्कुटर लिएर निस्किँदै गर्दा उनले होटल संचालकलाई दुई दिन नआउने जानकारी दिएका थिए ।

रोल्पा रुन्तीगढी गाउँपालिका–७ मा जन्मिएर दाङ झरेरका उनि गोंगबुस्थित एक होटलमा बस्दै आएका थिए । विगतमा अफगानिस्तानदेखी कुवेतसम्म बसेका उनका दुई श्रीमति समेत रहेका थिए । त्यसदिन उनी स्कुटर लिएर टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने कल्पना मुडभरीको डेरामा पुगे । कल्पनासँग उनको तीन÷चार वर्षअघि फेसबुकबाट पहिचान भएको थियो । कृष्णबहादुर कल्पनाको डेरामा पटक पटक जाने गरेका थिए । उनिहरुबीच कस्तो खालको सम्बन्ध हो भन्ने कुरा पूर्ण रुपमा खुलिसकेको छैन ।

कल्पनासँगै १५ वर्षीय छोरी र एक नाबालक छोरा पनि बस्दै आएका छन् । उनका श्रीमान् वैदेशिक रोजगारमा रहेको र विगत दुई वर्षदेखी श्रीमति छोराछोरीलाई हेर्ने नगरेको बताइएको छ । कृष्णबहादुर उनीहरुको कोठामा पुग्दा छोरा छोरी दुवै त्यहीँ नै थिए । उनलाई कल्पनाले दही, च्युरा, मासु र भोड्का खान दिइन् । शनिवार राति ९ बजेतिर कल्पनाले दहीमा ‘स्लिपिङ ट्याब्लेट’(निद्रा लगाउने औषधि) मिसाएर कृष्णलाई खान दिएकी रहिछिन् । त्यसपछि उनी लठ्ठिँदै गए । कृष्ण आफूलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगे, कल्पनाले फलामको हम्बरले कृष्णको अण्डकोषमा हानिन् । औषधिले लठ्एिका कृष्णको मृत्यु भएको उनलाई विश्वास लागेन । त्यसपछि कालो सलले उनको घाँटीमा कसिन् ।

कृष्णबहादुरलाई मरिसकेपछि उनीसामु शव व्यवस्थापन चुनौतीका रुपमा खडा भयो । त्यसपछि उनले छोराछोरीलाई अलग्गै कोठामा राखेर ट्वाइलेटको ढोकाको बिटमा चक्कुले उनको घाटी र खुट्टा रेट्दै काटेकी थिइन् । खुट्टा र टाउको छिनालेर ‘जेब्रा’ झोलामा प्याक गरिन् । अनि नजिकै लगेर फ्याँकिन् । बाँकी शरीरका अंगलाई भने उनी एक्लैले फ्याँक्ने हिम्मत गर्न नसकेपछि नाबालिक छोरीलाई प्रयोग गरिन् ।

शरिरको मध्यभागलाई उनले सुटकेसमा हालिन् र, छोरीलाई बोलाइन् । पानी परिरहेकाले छोरीलाई एक हातले छाता र अर्को हातले शव व्यवस्थापनमा प्रयोग गरिन् । जसका कारण नाबालाक छोरी यो विभत्स अपराधको मतियार बन्न पुगिन् । उनि कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएको छ । कृष्णबहादुरले पछिल्लो समय आफ्नो फोटो राखेर नक्कली फेसबुक आइडी बनाएको र त्यसमा अश्लिल तस्बिरहरु हाल्ने गरेकाले हत्या गरेको उनले प्रारम्भिक बयान दिएकी छिन् ।

‘नक्कली फेसबुक आइडी बनाएर अश्लिल फोटोहरु हालेपछि घटना भएको देखिएको छ,’ उनलाई सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा एसएसपी श्याम ज्ञवालीले भने । केही टेली सिरियलमा समेत अभिनय गरेकी पौडेलको काठमाडौंमा जिविकोपार्जनका लागि कुनै रोजगारी पनि नभएको खुलेको छ । डेरा भाडासमेत एक वर्षदेखि नतिरेकी उनले घरबेटीसँगै दुई लाख रुपैयाँ जेठी छोरीको बिहेका लागि भन्दै लिएकी थिइन् । उनको यस्तै प्रवृत्तिका लेनदेनका हिसाबको सूची लामो हुनसक्ने प्रहरीले जनाएको छ ।

आइतवार विहान सडकमा रहेको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सो सुटकेश खोलेर हेर्दा टाउको र खुट्टा नभएको शव फेला परेको थियो । त्यसपछि प्रहरीको तालिम प्राप्त ‘जोजो’ नाम गरेको कुकुरले ३ सय मिटर पर टाउको र खुट्टा फेला पारेको थियो । शव फेला परेपनि पहिचान नभएपछि प्रहरीले तस्विर सार्वजनिक समेत गरेको थियो ।

उनको पहिचान खुलेपछि प्रहरीले केही घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । हत्या गरेको भोलीपल्ट कल्पना चिनजानका व्यक्तिको एम्बुलेन्सलाई ६ हजार रुपैयाँ तिरेर माइतिघर चितवन पुगेकी थिइन् । उनलाई चितवन कालिका नगरपालिका–९ खक्तिखोरस्थित माइतिघरबाट सोमबार साँझ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । यति विभत्स हत्यामा प्रहरीले चाडो अभियुक्त पक्राउ गर्न सफल भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया