स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक

सप्तरी । सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई अस्पताल बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो ।

हाल अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात अहेव संक्रमित भएर आइसोलेसनमा छन् भने शंकास्पद तीन चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टाइनमा छन् ।

ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मीलाई आइसोलेसन र होम क्वारेन्टाइनमा राख्नु परेपछि अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक, निजी अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँचलगायतका काममा रोक लगाउने निर्णय गर्दै संकट व्यवस्थापन केन्द्रले अस्पताललाई निर्देशन पठाएको छ ।

स्वास्थ्यकर्मीको अभावका कारण शुक्रबार अस्पतालको आकस्मिक सेवा, सर्जरी र ओपिडी सेवा बन्द गर्नुका साथै अन्य सेवासमेत प्रभावित भएको थियो । आकस्मिक सेवालाई सञ्चालन राख्न र कोरोनाको संक्रमण एक ठाउँबाट अर्को ठाउँमा नफैलियोस् भनेर विशेष सजगता अपनाउँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

राजविराजस्थित छिन्नमस्ता अस्पताल (निजी) को शल्यक्रिया कक्षमा कार्यरत शल्यक्रिया सहायकमा समेत शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पतालसमेत बन्द गरिएको छ । छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सकसहित ७० स्वास्थ्यकर्मी, कर्मचारीलाई पनि होमक्वारेटाइन गरिएको अस्पतालका प्रशासन प्रमुख राजेश झाले बताए ।

केही चिकित्सक र स्वास्थ्यकर्मी दुवै अस्पतालमा कार्यरत छन् । छिन्नमस्ता अस्पतालमा संक्रमितको सम्पर्कमा आएका कारण होमक्वारेटाइनमा बस्नुपरेका केही चिकित्सक र स्वास्थ्यकर्मी गजेन्द्रनारायण सिंह अस्पतालमा समेत कार्यरत रहेकाले थप स्वास्थ्यकर्मी अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक सेवा नै प्रभावित हुने अवस्था आएपछि संकट व्यवस्थापन केन्द्रले क्लिनिक र अन्य ठाउँका बिरामी जाँच गर्न रोक लगाउँदै सम्पूर्ण ध्यान अस्पताल र कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा लगाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए ।

यसैगरी बढ्दो संक्रमणका कारण राजविराजस्थित एक मात्र आइसोलेसन केन्द्रमा संक्रमितलाई व्यवस्थापन गर्न समस्या भएपछि स्थानीय तहमा समेत आइसोलेसन केन्द्र सञ्चालन गर्न पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए ।

लक्षण नेदेखिएका कोरोना संक्रमितलाई स्थानीय तहको आइसोलेसन केन्द्रमा र लक्षण देखिएका संक्रमितलाई जिल्लास्तरीय आइसोलेसन केन्द्रमा राख्ने गरी व्यवस्थापन गर्न स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना एवं सञ्चालन गर्ने निर्णय भएको ठाकुरले बताए ।

प्रतिक्रिया