दैलेखमा कोरोना सङ्क्रमित सङ्ख्या उकालो–ओरालो

दैलेख । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या घरी ओरालो घरी उकालो देखिएको छ । पहिलो पटक चीनमा देखिएको कोरोना भाइरसले विश्व नै तरङ्गित बनाएको छ । विश्वमा हाल सम्म ६ लाख भन्दा बढिले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । कोरोनाको भाइरसले छोटो समयमा धेरै मानिसमा सङ्क्रमण गरेको छ । अन्य देशमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले नेपाल पनि अति उच्च जोखिममा रहेको बताएपछि नेपाल सरकारले देशलाई गत चैत्र ११ गतेबाट ७७ वटै जिल्ला लकडाउन गर्यो ।

लकडाउनको केही समयसम्म नेपालमा कोरोनाको सङ्क्रमण कमै मात्रामा देखियो । नेपालबाट बाहिरी देशमा काम गर्नको लागि जाने नागरिकको सङ्ख्या धेरै भएको कारण अन्य देशबाट नेपाल आउने नागरिकको भीड लाग्न थाल्यो । सरकारले समयैमै उद्धार गर्न नसक्दा वा उद्धार गर्दा एकै ठाउँमा धेरै नागरिकलाई राख्दा कोरोना भाइरस एक अर्कोमा सजिलै फैलिएको आशङ्का आम नागरिकले गरिरहेका छन् ।

दैलेख जिल्लाबाट बाहिरी देशमा काम गर्नको लागि जानेको सङ्ख्या यकिन नभएकै कारण अवस्था जटिल बन्दै गएको पाइन्छ । सबै स्थानीय पालिकाले समन्वय गर्न नसक्दा अवस्था जटिल भएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोनाको संक्रमण धेरै रहेकोले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो । हाल दैलेखलाई कोरोनाको केन्द्र भन्न पनि पछि पर्दैनन् कतिपय नागरिकहरू । दैलेखमा लकडाउनको समयमा मात्र १५ हजार ४८ जना भित्रिएका छन् ।

बाहिरबाट भित्रिएका नागरिकहरूमा कोरोना पोजेटिभ देखिएको र उनीहरूमध्ये धेरै जनाले कोरोना जितेर घर फर्किसकेका छन् । प्रशासनले करिब ३ हप्तासम्म निषेधाज्ञा जारी राखे पनि निषेधाज्ञामा खुकुलो हुनु र नागरिकले निषेधाज्ञाको पालना नगर्नुले कोरोना समुदायमा फैलिएको छ । बाहिरबाट भित्रिने नागरीहरू घटेसँगै दैलेखमा कोरोना पोजेटिभको सङ्ख्या घटेको थियो । तर, कोरोना भाइरस समुदायमा फैलिएको थाहा नै भएन । हाल समुदायमा कोरोना परीक्षण गर्दा फेरि सङ्क्रमितको सङ्ख्या उकालो लाग्दै गएको छ ।

कोरोनाको संक्रमण बढ्दै जान थालेपछि प्रशासनले एक सूचना निकाल्दै वर्षौँदेखि सञ्चालन हुँदै आएको बर्षेमेला (लाखे नाच) लगायत सबै किसिमका मेलाहरूसमेत बन्द गर्ने निर्देशन दिएको छ भने यस महामारीबाट सजग र सुरक्षित रहनको लागि नागरिकले घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने जानकारी दिएको छ । त्यस्तै, कार्यालयमा हुने अतिआवश्यक कामबाहेक सबै काम बन्द गरेको बताउँदै सायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्रीले जनैपुर्णीमा लाग्ने महावु मेलामासमेत गाडी लिन रोक लगाएको बताए ।

जिल्लामा निर्माण गरिएको आइसोलेसन समेत वर्षातको समय भएको कारण सामान्य झरीसम्म थेग्न सकिरहेका छैनन् । भौतिक संरचना नभएको कारण बाहिरबाट आएका नागरिकलाई विभिन्न विद्यालयमा राखिएको थियो । उनीहरू विद्यालयबाट सामान किन्नकै लागि बाहिर पैसा पठाउने तथा आफै गएर सामान किन्दा कोरोनाको सङ्क्रमण समुदायमा फैलिएको जानकारहरूले बताउँने गरेका छन् ।

जिल्लामा निर्माण गरिएको पीसिआर मेसिनले कोरोना परीक्षण गरिरहे पनि आवश्यक जनशक्ति छैनन् । दुइजनाले मात्र ल्याब धानेका कारण कोरोनाको परीक्षण दर बढाउन नसकिएको पीसिआर ल्याब तथा कोभिड –१९ दैलेखका ल्याब इन्चार्ज शङ्कर शाहीले बताए । उनका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बिस्तारै घट्दै गएको र समुदायमा परीक्षण गर्दा संक्रमित दर फेरी बढेको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार गत साउन १६ गते सम्ममा जिल्लाको तत्थाङ्कमा कुल सङ्क्रमितको सङ्ख्या ९ सय ३० जना रहेको र जस मध्ये ८ सय ४१ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा जम्मा ९ हजार २ सय १३ क्वारेन्टाइन बेड छन् । ती क्वारेन्टाइन खालि हुँदै गएतापनि कोरोना सङ्क्रमण भने समुदायका नागरिकलाई देखिएको छ ।

हाल क्वारेन्टाइनमा जम्मा ५६ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । हालसम्ममा जिल्ला भरबाट १३ हजार २ सय ४२ जनाको आरडीटी परीक्षण भएकोमा ३ सय ४० जना पोजेटिभ देखिएको तथा ५ हजार ७ सय १४ जनाको स्वाब सङ्कलन गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया