२० लाख रकमसहित ठेकेदार बेपत्ता

मुगु । हिमाली जिल्ला मुगुमा एक जना ठेकेदार २० लाख रकमसहित बेपत्ता भएका छन् । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका– २ मुगु गाउँका २८ वर्षीय ठेकेदार टासी तामाङ २० लाख रुपैयाँसहित ४ दिनदेखि बेपत्ता भएका हुन् । तामाङले गत मंगलबार पुलुस्थित राष्ट्रिय वाणिज्य बैंकबाट कोइकी पर्यटकीय पदमार्गको भुक्तानी लिएका थिए ।

बैंकबाट रकम लिएर गाउँ फर्कने क्रममा उनी बेपत्ता भएका छन् । बेपत्ताको खोजीका लागि पुलु प्रहरी चौकीको टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार साउन १३ गते राति उनी चितैकुनाको एक होटेलमा बास बसेका थिए । त्यही रात स्थानीयसँग उनको झगडा परेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोइकी पर्यटकीय पदमार्ग निर्माणको जिम्मा उनका दाजु उर्गिन तामाङले लिएका छन् । मजदुरलाई वितरण गर्न तामाङले बैंकबाट रकम भुक्तानी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सदरमुकाम गमगढीबाट मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र पुलु पुग्न झन्डै एक दिनको पैदल दूरी छ । अविरल वर्षा जारी रहेकाले बेपत्ताको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहाले बताए ।

प्रतिक्रिया