केपी कमरेडले दुवै पद छाड्न पर्छ

सत्तारूढ दल नेकपाभित्र यतिवेला चरम विवाद देखिएको छ । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छाड्न दबाब बढिरहेको छ भने, उनी कुनै हालतमा दुवै पद छाड्ने पक्षमा देखिएका छैनन् । पार्टीमा देखिएको चरम गुटबन्दी यतिवेला पद छोडाउने र जोगाइराख्ने अवस्थामा देखिएको छ । पार्टीको स्थायी कमिटीको बैठक पटकपटक स्थगन हुँदै आएको छ र गुटगत भेला बैठकमा व्यस्तछन् दुवै टिमका नेता कार्यकर्ता । १३ साउनका लागि पुनः स्थायी कमिटी बैठक बोलाइएको छ । यसै सेरोफेरोमा नेकपाका नेता जगन्नाथ खतिवडासँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको सम्पादित अंशः

नेकपाभित्र देखिएको आन्तरिक विवाद समाप्त भएको हो ?
नेकपाभित्र देखिएका सबै प्रकारका विवाद अव्यवस्थाबाट सिर्जित तनाव हुन् । पार्टीमा नेतृत्व पंक्तिबाट आफ्ना कार्यकर्ता नेताको समुचित व्यवस्थापन गर्नेतर्फ ध्यान दिन नसकेका कारण समस्याहरू उत्पन्न भए । जब नेतृत्वले आफूलाई मन नपरेको मान्छे मलाई चाहिँदैन, आफूलाई मनपरेकाहरूबाट मात्रै पार्टी चलाउँछु । आफूलाई मन नपरेकाहरू पार्टीमा बसे पनि बसुन् गए पनि जाउन् भन्ने मनोविज्ञानबाट काम गर्दा पार्टी विधि पद्धति, विधानमा, निर्देशिका र पार्टीले जारी गरेका परिपत्रलाई सही ढंगले समातेर हिँडन नसक्दा देखापरेका समस्या हुन् । र, आज मात्रै होइन, लामो समय देखिएको गुणात्मक दूष्प्रभावका कारण आज यी समस्या जन्मिएका हुन् ।

समस्या चरम देखिनुको कारण के हो ?
खासगरी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी भिन्नभिन्न संस्कृतिबाट आएका हुन् । एउटा शान्तिपूर्ण प्रतिस्पर्धाको संस्कृति र अर्को जनयुद्धको संस्कृतिबाट आएको पार्टी नेकपा हो । कमरेड केपी ओली नेकपाको अध्यक्ष भइसकेपछि पार्टीमा अत्यन्तै धेरै गुटबन्दी, पक्षपात, भेदभाव हुन थाले । उहाँ प्रतिस्पर्धाबाट निर्वाचन जितेरै अध्यक्ष हुनुभएको हो । नेकपा एमालेको इतिहासमा वैधानिक प्यालन पार्टीमा छुट्टाछुट्टै मतपत्र बनाएर निर्वाचन लड्ने अवस्था बन्यो । इतिहासमा उहाँले गरेको यो गल्तीका कारण पार्टीमा देखिने गरी कालो र सेतोको आधारमा आग्रह पूर्वाग्रहको अवस्था बनायो । कमरेड केपी ओलीले आफूलाई मतदान नगर्नेहरूलाई तह लगाउने र आफूलाई मतदान गर्नेलाई माथि उठाउने काम मात्रै गर्नुभयो । अत्यन्तै कष्ठकर गुटबन्दीको सुरुआत कमरेड केपीले कार्यकालमा भएको हो ।

पहिलो पार्टीमा गुट थिएन ?
पार्टीभित्र त्यो भन्दाअगाडि पनि तनाव नभएको होइन, धेरै गुटबन्दीबाट पार्टी यहाँसम्म आएको हो । पार्टी विभाजनसम्म पनि भएको हो । तर, पार्टी विचारका आधारमा विभाजन वा गुट हुँदा एकप्रकारको आनन्दजस्तो हुन्छ । इतिहास हाम्रो अघि छ, कमरेड वामदेवले राष्ट्रियताका लागि पार्टी विभाजन गर्नुभयो, त्यसमा चित्त बुझाउने ठाउँ छ । तर, अहिले जसरी पार्टी चलेको छ र नेता कार्यकर्तालाई काखा र पाखा गरिँदै छ त्यो सामान्य छैन ।

पार्टीको स्याथी कमिटीको बैठक पटकपटक स्थागित भएको छ, केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन यस्तो अवस्थामा मंसिरमा महाधिवेशन गर्न सम्भावना हुन्छ ?
यो मंसिरमा पार्टीको महाधिवेशन हुने कुनै पनि वस्तुगत आधार छैन । मंसिरमा महाधिवेशन गर्नका लागि आवाज उठाइएकै होइन । कमरेड ओलीलाई आफ्नो सत्ताप्रतिको असहमतिका कारण सत्ता छोड्न पर्दै गएको दबाब सामना गर्न नसकेर महाधिवेशनले हटाए छोड्नु भनेर उहाँले ल्याएको प्रस्ताव हो । यसले उहाँ दुई वटा कुरा स्थापित गर्न चाहनुहुन्छ । उहाँले बारबार भन्नुभएको छ महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ, त्यसैले मलाई महाधिवेशनले मात्रै हटाउन सक्छ भन्ने तर्क छ । त्यो तर्क औचित्यपूर्ण र कानुनी छैन । हामीले नेकपा एमालेको अध्यक्ष केपी ओलीलाई नेकपाको अध्यक्ष बनाइसकेका छौँ । हिजो एमालेको अध्यक्ष भएका कारण नेकपाको सधैँको अध्यक्षको हक लाग्दैन ।

यसमा पार्टी नेताका रूपमा तपाईंहरू जिम्मेवार हुनुहुन्न ?
नेकपा बनाउने कसलाई के पद दिनेजस्ता कुरा हामीले गरेको होइन उहाँ आफैँले तय गर्नुभएको हो । पार्टी एकीकरण वा पद विभाजनका विषयमा पार्टीमा आधिकारिक रूपमा कुनै छलफल वा निर्णय भएर यो ठाउँमा पुगेको होइन । यो ठाउँमा पुगेपछि मात्रै उहाँले पार्टीलाई बोलाएर जानकारी गराउनुभएको हो । जे भए पनि पार्टी एकीकरणको कुरोलाई भाँडिने काम गर्नु हुँदैन भनेर हामीले समर्थन गरेका हौँ त्यो पनि निर्वाचनको मुखमा । त्यसैले सहज गरिएको हो ।

त्यसो भए उहाँको एकल निर्णयमा सबै भएका हुन् ?
हो, उहाँको एकल रुचि र खुसीमा सबै निर्णय भएका हुन् । पार्टी एकता गर्दासम्म दुई अध्यक्षका बीचमा केके भए हामी त्यो पार्टीका नेताका रूपमा जानकार छैनौँ । उहाँले ल्याएको एकता प्रस्तावमा हामीले समर्थन गर्नबाहेक हाम्रो कुनै छलफल वा योगदान छैन । अब हिजो यति भएपछि भोलि के होला भन्ने कुरो पनि छ । हिजो अध्यक्ष भएपछि यो अध्यक्षले सधैँ यही ठाउँ पाउँछ, यो अध्यक्षलाई छुन, चलाउन हुँदैन भन्ने सोच्नु हुँदैन । पार्टीमा त्यसप्रकारको कुनै पनि व्यवस्था गरिएको छैन र पार्टी सञ्चालनको दृष्टिले यो कुरा सत्य हुन पनि सक्दैन ।

अब निकास कसरी हुन्छ त ?
पार्टी अध्यक्ष केपी ओली जसरी भए पनि म महाधिवेशनबाट निर्वाचित भएर आएको हुँ अर्को महाधिवेशनसम्म अध्यक्ष भइरहन पाउँ भन्ने कुरा स्थापित गर्न चाहानुहुन्छ । समस्या आज छ उहाँ पार्टीमा अल्पमतमा हुनुहुन्छ, अलोकप्रिय हुँदै जानुभएको छ । उहाँको शासनसत्तामा भ्रष्टाचार, कुशासन बढेको आजको सन्दर्भ छ । तर, भोलि महाधिवेशनबाट म हट्छु भन्ने कुरा उहाँलाई लाग्छ भने ठीक छ पार्टीको अध्यक्षको रूपले भोलि हट्नुहोला, प्रधानमन्त्रीको पदबाट आजै हट्नुस् । राज्य शासन सञ्चालन गर्दा उहाँले गरेको कमीकमजोरी आज देखिएका छन् भने भोलि छोडेर सुख पाइँदैन । प्रधानमन्त्री पद छाड्नका लागि उहाँलाई महाधिवेशन कुर्न पर्दैन । यसकारण उहाँको यो असंगत प्रकारको तर्कको सिकार नेपालका केही मान्छे भइरहेका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल जो केपी ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष हटाउन चाहान्छन् उनीचाहिँ समस्यामा कुनै दोषी छैनन् ?
यसमा सधैँ अर्कालाई आशंका गरेर हुँदैन, त्यस्तो सोच्नु पनि हुँदैन । मेरो विचारमा कमरेड प्रचण्डको आनीबानी स्वभाव हामीलाई राम्रोसँग थाहा पनि छैन । नेकपा भइसकेपछि हामी उहाँलाई चिन्दैछौँ । आजको उहाँका स्वाभाव र व्यवहारले उहाँले पार्टीमा केही गल्ती गर्नुभयो वा नियम बाहिर गएर पार्टीको अहित गर्नुभयो भन्ने देखिएको छैन । हिजो उहाँले के गर्नुभयो त्यसका आधारमा धारणा बनाउन पनि हुँदैन । पार्टी एकीकरण गरेपछि उहाँले पार्टीको विधान विधि कहाँकहाँ उल्लंघन गर्नुभयो ? त्यो हेर्नुपर्छ मेरो दृष्टिमा उहाँले विधि मिचेको विधान नटेरेको अवस्था छैन । त्यसैले अब पूर्वमाओवादी भएका कारण पार्टीमा आलोचित र शंकाको घेरामा हुने, पूर्वएमाले भएका कारण प्रिय र विश्वासयोग्य हुने र हिजोका मात्रै मिल्नुपर्ने सोचियो भने यो पार्टी र आन्दोलन समाप्तको दिशामा जानेछ । त्यसरी कसैले पनि सोच्नु हुँदैन ।

भनेपछि प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता टिकाउनका लागि अनेक प्रकारका प्रपोगण्डा गर्छन् भन्ने हो ?
अहिले आवश्यकता नै नभएका केही कुरा प्रचारका लागि उठाइएको छ । जस्तो ईश्वर पोखरेलको नेतृत्वमा जबज कि जनताको जनवाद भनेर बाहिर ल्याउने काम भयो । राजनीतिक प्रतिवेदनले निरुपण गरिसकेको विषय हो अब महाधिवेशनमा छलफल गर्नुपर्ने हो । यो अहिले उठाइनु अत्यत्नै हानिकारक थियो । दोस्रो यतिवेला आएर पूर्वएमाले मिल्यौँ माओवादीलाई छोडी दिउँ भन्नेछ । प्रचण्डसँग पनि मिल्ने हो भन्ने प्रकारको अनेकौँ लाञ्छित कुरा देखियो । यो पनि पार्टी मिल्न नदिने मनोविज्ञान हो ।

यस्तै केही दिनअघि प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट बढ्यो भन्ने समाचार बाहिर ल्याउन लगाइयो । कसरी जनताको सहानुभूति आफ्नो पक्षमा ल्याउने भनेर यस्ता प्रचार गरिँदै छ । नत्र देशको प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भएको कुरा भन्दै हिँडने हो । कसैले भने पनि खण्डन गर्नुपर्छ । अर्को राम नेपालमा नै जन्मेका होलान् तर, कुन अध्ययन र प्रतिवेदनका आधारमा कमरेड ओलीले बोल्नुभयो ? प्रधानमन्त्रीले बोल्दा ख्याल गर्नु पर्दैन । यसले के देखाउँछ भने एकपछि अर्को प्रपोगण्डा ल्याएर मान्छेलाई अल्मल्याउने, मनोरञ्जन र उत्तेजना पैदा गराएर पार्टी स्थायी कमिटीमा उहाँप्रति बढेको दबाब र आलोचनाको ध्यान मोड्ने काम हुँदै छ । नेकपाका सबै नेताले उहाँलाई शत्रु देखेका छैनन् यो कुरा उहाँले बुझ्नुपर्छ ।

दुईतिहाइको अवस्थामा सरकार रहेको कम्युनिस्ट पार्टी लथालिंगको अवस्थामा छ । पार्टीकै बैठक नियमित बस्न सक्दैन यसरी पार्टी कति दिन चल्छ ?
कमरेड केपी ओलीको प्रधानमन्त्रीत्वमा नेपालमा राम्रा काम पनि भएका छन् । यो राम्रो कामको प्रशंसा गर्न नेता, जनता र कार्यकर्ता चाहिन्छ । केपी कमरेड आपैmँले, आफ्ना भक्तहरूले भनेर पनि हुँदैन, पार्टीको सिंगो पंक्तिले राम्रो भन्न प¥यो जनताको अनुभूतिमा राम्रो भएको हुनुप¥यो । त्यसका लागि नेकपाका सबै नेता कार्यकर्ताले सरकारले गरेको कामको वकालत गर्ने अवस्था बन्नुपर्छ । पार्टीको संसदीय दलमा निर्वाचन भएको छैन सिधै प्रधानमन्त्री बन्नुभएको छ । पार्टीमा सर्वसम्मत छ । त्यस्ता प्रधानमन्त्रीले आफ्ना नेता कार्यकर्तालाई शतप्रतिशत माया र विश्वास गर्नसकेको भए हामीजस्ता सबै उहाँको भक्त हुन्थे । उहाँको गुण गाउनु पार्टीको गुण गाउनु हुन्थ्यो । तर, उहाँ सिंगो पार्टीको समर्थनमा प्रधानमन्त्री भएर आठ-दश जनाको साथमा काम गर्न थाल्दा यो अवस्था आएको हो । लोभपापमा लागेकाले प्रचार गर्दैमा त्यो प्रचार हुँदैन ।

पार्टी स्थायी कमिटी बैठक पटकपटक स्थगित भएको छ । केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । यस्तो अवस्थामा पार्टी अब कसरी अगाडि बढ्ला ?
स्थायी कमिटीको बैठक सर्नुमा केही मनोविज्ञान छन् । पहिलो कारण पार्टी विभाजनको खतरालाई टार्न सकिएला भन्ने । केही समयअघि पार्टी विभाजन नै होला भन्ने अवस्था पुगिसकेको थियो बैठक स्थगितले त्यसलाई टारेको छ । अर्का पार्टी अध्यक्ष कमरेड ओलीलाई विकल्प खोज्नका लागि समय दिएको छ । अरू नेताहरूले विकल्प खोज्ने समय पाउनुभएको छ । हिजो निकै शत्रुतापूर्ण व्यवहार देखिएकोमा आज केही सहजताजस्तो भएको छ । यसले पार्टीको हित गरेको छ ।

तर, पार्टीको सचिवालय स्थायी कमिटीमा त अध्यक्ष ओली अल्पमतमा छन्, होइन् ?
हो यसमा मान्छेलाई कुतूहलता छ । पार्टी विधि र पद्दतिमा चल्नुपर्यो भन्नेहरूको पक्षमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा दुईतिहाइ हुँदाहुँदै पनि किन आफ्नो शक्ति प्रयोग गर्दैन ? भन्ने पार्टीका आमनेता कार्यकर्तालाई लागेको छ । हामी पनि जिल परेका छौँ । तर, वरिष्ठ नेताहरूले कमरेड केपी ओलीले यसको सहज निकास दिनुहोला र पार्टी पुनः एक ढिक्का भएर अघि बढ्ला भनेर पर्खेको अभिव्यक्ति दिनुभएको छ । पार्टी कमिटीको सर्वोच्चतालाई मान्छु भनेर ओली कमरेडले निकास दिने कुरामा नेताहरू विश्वस्त छन् । पार्टी फुटिहाल्यो भने फुटेको पार्टीमा को लाग्छ ? नेकपा फुट्दैन, फुट्दा नयाँ पार्टी हुने हो । पार्टी फुट्ने र नेकपा समाप्त हुने कुरा कसैले नसोचे हुन्छ । केही मान्छे नेकपा छोडेर जान सक्लान् तर पार्टी कुनै हालतमा फुट्दैन ।

त्यसो भए यो पार्टी हितमा छ ?
हो यो पार्टी हितमा छ । तर, कार्यकर्ताको मनोविज्ञानमा चाहिँ यो एकदम नराम्रो परेको छ । अध्यक्ष प्रचण्डले आफ्नो शाक्तिलाई सही ढंगले प्रयोग गर्नै सक्नुभएन, उहाँ पनि एक अध्यक्ष हो भन्ने परेको छ । त्यसैले मलाई लाग्छ १३ साउनमा बस्ने स्थायी कमिटी बैठकमा उहाँहरूले यसलाई एजेन्डामा लगेर टुंगो लगाउनुहुन्छ । अध्यक्ष केपी कमरेडलाई पनि समय दिइनेछ उहाँले कुन पद छाड्ने वा दुवै पद छाड्ने भनेर र त्यसैअनुसार पार्टी अगाडि बढ्नु छ । अब पार्टीले सरकार चलाउने हो सरकारले पार्टी चलाउँछ भन्ने मान्यताका आधारमा उहाँले विधि र विधानले चल्ले कुरामा सहमति जनाउनु हुनेछ । र, उहाँले आफ्नो जिद्दि छोड्नुभएन भने पार्टीले कुनै न कुनै एक्सन लिनपर्छ । व्यक्तिको सर्वोच्चता होइन कमिटीको सर्वोच्चता स्थापित गर्नुपर्छ । त्यसो गर्न सकिएन भने पार्टी ध्वस्त हुन्छ ।

यदि, १३ गतेको बैठकमा तपाईंले भने झैँ भएन भने के होला ?
हिजो एक समय थियो ओली कमरेडले दुवै पद छोड्नुपर्छ । अर्को समय दुई मध्ये एक पद छोड्नुपर्छ भन्ने आवाज आयो । समय बित्दै जाँदा पुनः दुवै पद छोड्नुपर्छ भन्ने अवस्थामा आएको छ । दुई वर्षमा उहाँलाई दुवै पद छोड्न, एक पद छोड्न हुँदै दुवै पद छोडेर आरम गरेर बस्नुस् भन्ने माग आएको छ । अब उहाँले सोच्नुपर्छ पार्टीमा मेरो लोकप्रियता कमजोर भएछ । मैले बोकेका मान्छेले मेरो लोकप्रियतालाई वृद्धि गर्ने काम गर्न सकेनन् र म अफ्ठ्यारोमा परेँ, यसको मतलब पार्टी अफ्ठ्यारोमा पर्दै छ भन्ने सोच्नुपर्छ । यसमा उहाँले सोच्नै पर्छ होइन भने कसैको हित हुँदैन ।

१३ साउनमा स्थायी कमिटी बैठक बसेमा वा बस्न नसकेमा पार्टीको अवस्था के हुन्छ ?
१३ गते बस्ने स्थायी कमिटी बैठकमा एजेन्डामा छलफल गरी प्रत्येक एजेन्डालाई एकएक गरी निर्णय गर्दे जानुपर्छ । सबै एजेन्डाको गोलमटोल निर्णय गर्ने दिशामा पार्टी जान हुँदैन । अहिलेसम्मको अवस्थामा नेताहरू त्यो मानसिकतामा नै हुनुहुन्छ । दोस्रो कुरा केपी कमरेडलाई सोच्ने समय दिए पनि हुन्छ नदिए पनि फरक पर्दैन उहाँले प्रर्याप्त समय पाउनुभएको छ । अब गर्ने हरेक निर्णय पार्टी र कमिटीको बस्तुगत हुनुपर्छ । यस्तै स्थायी कमिटीको बैठकले गरेको निर्णय अनुमोदन गर्न केन्द्रीय कमिटीको बैठक अबिलम्ब बोलाउनुपर्छ । यदि नेताहरूले बाटो बिराउने खुट्टा छोड्ने अवस्था आएमा हामी केन्द्रीय कमिटी बैठक बोलाउन बाध्य हुनेछौँ । पार्टी अफ्ठ्यारो परेको बेला केन्द्रीय कमिटी बैठक नबसेर हुँदैन ।

प्रतिक्रिया