माछाको विवादमा कुटपिट गरी महिलाको हत्या

लहान । सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिका– ७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको विवादमा शनिबार कुटपिट गरी एक महिलाको हत्या भएको छ। वर्षामा पानी भरिएर पोखरीबाट बाहिर निक्लिएको माछा लिएको विषयमा भएको विवादपछि कुटपिट गरी स्थानीय मेनेजर मण्डलकी श्रीमती ५२ वर्षीया मानशेरदेवी मण्डलको हत्या भएको सप्तरी प्रहरीले जनाएको छ ।

पोखरीबाट बगेर बाहिर छट्पटाइरहेको माछा लिएको विषयमा जथाभावी गालीगलौज गर्दै आरोपितहरुले बाँसको भाटाले प्रहार गरेको मृतकका श्रीमान् मण्डलले बताए । कुटपिटमा घाइते २५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचारपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको स्थानीय शत्रुघ्न मण्डलले जानकारी दिए ।

कुटपिटबाट हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय कारी साह, ४० वर्षीय वीरेन्द्र साह, ६० वर्षीय रामप्रसाद साह, ३२ वर्षीय धनवीर साह र १६ वर्षीय सुनिल साहलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी गम्हरिया प्रवाहबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपितहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए । कुटपिटमा संलग्न अन्य फरार रहेका चार जनाको खोजी भइरहेको प्रहरीले जनाइएको छ । शव परीक्षणका लागि राजविराज ल्याइएको छ ।

प्रतिक्रिया