निःशुल्क शिक्षाको लागि विद्यालयको खातामा रकम

प्युठान । प्युठान नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागु गरेको छ । यसका लागि चालु आर्थिक वर्ष ०७६–०७७ को बजेटमार्फत नगरपालिकाले निःशुल्क शिक्षाको कार्यक्रम अघि सारेको थियो ।

नगरपालिकाले भर्ना अभियानको क्रममा शुल्क तिरेका विद्यार्थीलाई रकम फिर्ता गर्नेगरी सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिदिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले गरेको निर्णयको कार्यान्वयन गर्दै ३४ सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिएको नगरपालिकाका शिक्षा स्रोत व्यक्ति विष्णु पोख्रेलले बताए ।

निःशुल्क शिक्षाकै लागि नगरपालिकाले ती विद्यालयका लागि रु। ६३ लाख उपलब्ध गराएको उनको भनाइ छ । अठार प्राथमिक विद्यालयले निःशुल्क भर्ना गराएका थिए । अन्य नौ माध्यामिक विद्यालय, १८ आधारभूत विद्यालय र सात प्राथमिक विद्यालयको खातामा रकम जम्मा गरिएको उनले बताए ।

उनका अनुसार विद्यालयको खातामा जम्मा भएको रकम बन्दाबन्दीले विद्यार्थीलाई बाँड्न सकिएको छैन । नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तीन वर्षको नगर शिक्षा योजना अघि सारिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । शिक्षा योजनामार्फत भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर वृद्धि, एक वडा एक नमूना विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउनका लागि चालु आर्थिक वर्षमा काम भइरहेको उनको भनाइ छ ।

शिक्षाको गुणस्तर अभिवृद्धि गराउने उद्देश्यले शिक्षक कमी भएका विद्यालयमा अनुदानमा शिक्षक राखिएको छ । नगरपालिकाले चालु आवमा शिक्षक अनुदानका लागि रु एक करोड ३० लाख बजेट विनियोजन गरेको थियो । अनुदानमा राखिएका शिक्षकले प्रावि तह भए रु १२ हजार, निमावि तह रु १५ हजार र मावि तह रु २५ हजार मासिक पाउने छन् । नगरपालिकाले प्रावि, निमावि र माध्यामिक विद्यालयका लागि अनुदानमा ७० शिक्षक भर्ना गरेको नगरप्रमुख कक्षपतिले बताए ।

प्रतिक्रिया