रंग‍-विविध

‘कलाका कुरा’ मा मानन्धर

सौर्य अनलाइन २०७७ जेठ १८ गते १४:१३ मा प्रकाशित

काठमाडौैं । नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ मा अग्रज कलाकार कृष्ण मानन्धर सुनिएका छन् । भर्चुअल माध्यमबाट गरिएको कुराकानीमा कलाकार मानन्धरले नेपाली कलाक्षेत्रको विकासका लागि राज्यले पहल लिनुपर्ने धारणा राखे । उनले कलाकारको चासो कम रहनु र राज्यको उदासीनताका कारण कलाक्षेत्रले नेपालमा व्यापकता पाउन नसकेको बताए । उनले भने, ‘कलाकार र राज्यको पहल हुन नसक्दा नेपाली कलाको पहुँच आममानिससम्म सकेन ।’

कलाको क्रय विक्रय कम हुने हुँदा नेपालमा कलाको उपादेयता र विस्तार हुन नसकेको उनको ठम्याइरहेको छ । उनले भने, ‘आमजनमा कलामा रुचि नहुनु र कलाकारले पनि यसका बारेमा बुझाउँदै जान नसकेका कारण यो विधाले सोचेअनुसार प्रगति गर्न सकेको छैन ।’ सानैदेखि उनमा रहेको कलाप्रतिको अनुराग देखेर बुवाले उनलाई जुद्धकला पाठशालामा भर्ना गरे ।

२०२६ सालमा भारतको मुम्बईस्थित जेजे स्कुल अफ आर्टस्मा कला अध्ययन गर्ने छात्रवृत्ति पाएपछि उनको कलायात्राले नयाँ मोड लियो । कलाको अध्ययनसँगै अन्तर्राष्ट्रिय कलाको माहोल बुझ्ने अवसरको रुपमा लिएर उनले अध्ययनलाई अगाडि बढाए । अध्ययन सकेर नेपाल आएकै वर्ष उनी लगायत शशीविक्रम शाह, इन्द्र प्रधान र वत्सगोपाल वैद्य मिलेर स्किब समूह स्थापना गरेर कला प्रदर्शनीमा जुटे । यो समूहले १८ वटा देश विदेशमा सामूहिक कला प्रदर्शनी गर्यो ।

एक किसिमले नेपाली कलालाई आममानिससम्म पुयाउन र कलाको माहोल निर्माणमा समूहले महत्वपूर्ण भूमिका खेल्यो । साढे तीन दशक कला शिक्षणमा बिताएका मानन्धरले काठमाडौं बाहिर सातै प्रदेशमा अहिले कम्तिमा एक एक वटा कला क्याम्पस खोल्नुपर्ने जिकिर गरे । नेपाली कलाको विकास, संरक्षण, प्रवद्र्धन र मौलिकता बचाउन शिक्षासँगै संग्रहालय, कलाग्राम खोल्नुपर्ने धारणा राखे । उनले कला शिक्षामार्फत यसलाई आममानिससम्म पु¥याउन सकिने विचार व्यक्त गरे ।

ललितकला क्याम्पसमा लामो समय अध्यापन गरेका मानन्धरले दुई पटक क्याम्पस प्रमुख भएर जिम्मेवारी सम्हाले । उनले त्यतिवेलै काठमाडौं बाहिर विराटनगर, पोखरा, नेपालगञ्ज लगायतका स्थानमा कला क्याम्पस खोल्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग बारम्बार पहल गरेको सुनाए । तर, यो कार्य सफल हुन नसकेकोमा उनले दुखेसो पोख्दै भने, ‘विश्वविद्यालयले पहल गरेको भए कला शिक्षाको पहुँच काठमाडौं बाहिर पनि पुग्थ्यो । त्यो हुन सकेन् ।’ उनले ललितकला क्याम्पसमा विद्यार्थी चाप बढेर अध्यापनमा अप्ठ्यारो परेको सुनाउँदै भने, ‘पहिला पहिला १०० जना जति राखेर कलाको कक्षामा पढाउनुपर्ने बाध्यता थियो ।

देशमा एकमात्र कला क्याम्पस भएकाले यो चाप हुन पुगेको थियो । अन्यत्र पनि कयाम्पस खोल्ने योजना बनाएर जाँदा त्रिविका पदाधिकारीले अन्य स्थानबाट माग नभएकाले सम्बन्धन दिन नसकिने जानकारी दिएर पन्छिन्थे ।’ उनले आफ्नो प्रयत्न सार्थक हुन नसकेकोे र लामो समय ललितकला क्याम्पस एक्लो क्याम्पसका रुपमा रहन पुगेको दुखेसो पोखे । नेपालमा कलाको संकलन गर्ने वातावरण नभएको सुनाउँदै उनले पुराना कलाकृतिको संकलन र संग्रहमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘अहिले हामीले नेपालका ४/५ सय वर्ष पुराना चित्रहरु पाउन नसकिने अवस्था छ ।’

उनले विगतमा राज्यले कलाकारको पहिचान दिन नसकेको जिकिर गर्दै कलाकृति बने पनि कलाकारको नाम आउन नसक्दा अग्रजको सम्मान र भूमिका गौण हुन गएको बताए । उनले कला लेखक नारायणबहादुर सिंहले नेपाली कलाको खोज अनुसन्धानमा महत्वपूृर्ण योगदान दिएको सुनाउँदै भने, ‘नेपाली कला लेखनलाई अगाडि बढाउन सिंहको भूमिका विशिष्ट रहेको छ । साथै स्किबलाई पनि उठाउन ठूलो योगदान रहेको छ । तर, आवश्यतानुसार नेपालमा कलालेखक र समीक्षक आउन सकेका छैनन् ।’

उनले स्किबले नारायणबहादुरलाई सम्झन योङ आर्टिस्ट ग्रुपलाई जिम्मेवारी दिएको तर त्यसले निरन्तरता दिन नसकेको गुनासो पोखे । उनले केही समय चलेपछि सो संस्था अहिले निस्कृय भएकाले नारायणबहादुरको योगदानलाई सोचेअनुरुप अनुरुप सम्मान गर्न नसकिएको भनाई राखे । उनले कला अध्ययनका क्रममा पहिला दृश्यचित्रहरु निकै बनाए । उनले भावना, प्रकृति, संगीतका विषयलाई भावप्रधान रुपमा क्यानभासमा उधिन्दै आएका छन् ।

मानन्धरले कलेज जीवनमा शिक्षकले जहिल्यै नयाँ विषयमा कलाकृति बनाउन उत्प्रेरणा दिएको सम्झिए । उनले भने, ‘सुरु सुरुमा साह्रै प्रोत्साहन गरिन्थ्यो । तर, पछिल्ला वर्षमा शिक्षकले नयाँ बनाउन सुझाउँथे । नयाँ कसरी बनाउने भनेर सोच्नै सकेको थिइन् । यहीक्रममा एक दिन कलेजसँगै भएको सितारवादनको कार्यक्रम हेर्न जाँदा सितारको धुनमा कला देख्न थाले र त्यही भावनालाई चित्रण गरे । सबैले चित्रलाई राम्रो माने । यहीबाट मेरो कलामा नयाँपनको सुरुवात् भयो । शिक्षकले पनि मनपराउनुभयो र नयाँ बनाउने कुरा गर्न छाड्नुभयो ।’

उनले यसबाहेक इमोसन, पहाड, हिमाल र पहाडका तरेलीसँगै संगीतका विषयमा रङलाई भावप्रधान रुपमा उतार्दै आए । उनका कलामा रङको माधुर्यता, संगीतमयता, प्रकृतिको सुन्दरतालाई कलात्मक रुपमा उधिनिएको पाइन्छ । अमूर्त शैलीमा उतारिएका उनका कलामा पाइने रङको सुललित प्रवाहले मानिसलाई भावनाको गहिराई पु¥याउन मद्दत गर्दछ । उनले आफ्ना कलाका बारेमा भने, ‘क्यानभासमा रुख, हिमाल, पहाड आदि सबै देखेको भन्दा मैले बुझेको रुपमा चित्रण गर्छु ।

अमूर्त कला भनेको मनको भावना व्यक्त गर्ने माध्यम हो यसमा रङको पनि निकै महत्व रहेको हुन्छ ।’ उनले रङले क्यानभासमा संगीतको काम गर्ने जनाउँदै थपे, ‘रङको भावलाई बुझेर कलाकृति रचना खण्डमा चित्र राम्रो अवश्य बन्छ ।’ मानन्धरले नेपालमा कलाग्राम बनाउन सकिए नेपाली कलाको प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुग्ने बताए । उनले भने, ‘कलाग्राम बनाउन सकिए देशीविदेशी कलाकारले एकैस्थानमा बसेर कला सिर्जना गर्ने, अनुभव आदानप्रदान गर्न सहज वातावरण बन्ने थियो ।

विदेशी कलाकार लामो समयका लागि आएर यहाँ बसेर नेपाली विषयलाई कलामा उतार्थे र नेपालको प्रचार प्रसार हुनेछ । यसका लागि पनि कलाग्रामको नितान्त आवश्यकता छ ।’ उनले नेपाल ललितकला संस्था ९नाफा० मा रहेको वीरेन्द्र कला संग्रहालय भूकम्पपछि बन्द रहेकाले नेपाली कला अवलोकन गर्न नपाइएको अवस्था रहेको बताए ।उनले भने, ‘जेनतेन वीरेन्द्र कला संग्रहालयमा लागि केही कलाकारका कलाकृति संकलन भएका थिए । यद्यपि यसले घनिभूत रुपमा आकार ग्रहण गर्न सकेको थिएन ।

अझ भूकम्पले त ती संकलित कलाकृतिहरु पनि बिग्रने अवस्था रहेको र इतिहास मेटिने खतराप्रति निकै दुख लागेको छ ।’ उनले अन्य क्षेत्रमा राज्यको आँखा पुगेको पनि कलाक्षेत्रमा संलग्नता र भूमिका नहुनु दुखद् विषय रहेको बताए । उनले ललितकला प्रज्ञा प्रतिष्ठानले यस कार्यमा राज्यलाई घच्घचाइरहनु पर्ने भनाइ व्यक्त गरे ।

उनले विश्वमा महामारीको रुपमा लिएको कोरोना भाइरसको प्रभावलाई चिरेर अगाडि बढ्न भर्चुअल माध्यमलाई कलाकारले प्रयोग गर्नुपर्नेमा जोड दिए । नेपाल ललितकला पत्रकार समाजले कलाका कुरामार्फत नेपाली कला जगतका बारेमा बहस गर्दै आएको अध्यक्ष केशव राज खनालले बताए । उनले कला र यसका विविध आयामका बारेमा समाजले स्थापना कालदेखि विविध गतिविधि गर्दै आएको जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए भने प्राविधिक सहयोग प्रोसी सोलुसनले गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय