आर्थिक अभावले उपचारमा समस्या

बाजुरा । हिमाली गाउँपालिका– ७ की एक बालिकाको परिवारले हाल उपचार गर्न समस्या भएको भन्दै सहयोगको लागि अपिल गरेका छन् । हिमाली सात वाधुका जसी लुहारकी छोरी विपना लुहार गत बैशाख ३ गते भिरबाट लडेर सख्त घाइते भएपछि हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचाररत छन् । घाइते लुहारको परीवारले उनको उपचारका लागि समस्या भएको भन्दै सहयोग गर्न आग्रह गरेका हुन् ।

विपनाका दाजु गणेश लुहारले हामीलाई फोन गरी लकडाउनको समय समेत परेको र भिरबाट लडेपछि सख्त घाइते अवस्थामा रहेकी बहिनीको उपचारमा समस्या भइरहेको बताएका छन् । १६ वर्षीया किशोरी हिमाली सातको गुइपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट लडेपछि एउटा खुट्टा भाँचिनुका साथै अन्य शरिरमा पनि चोट लागेको पारिवारीक स्रोतले जनाएको छ ।

साथै, भीरबाट विपना लडेपछि गाडी रिर्जव गरेर काठमाडौं पुर्याएकोमा हाल उपचार गर्ने पैसाको अभावका कारण उपचारमा निकै समस्या भइरहेको गणेश लुहारको भनाई छ । उनले उपचार गर्नका लागि स्थानिय सरकार तथा अन्य सरकारी र गैर सरकारी संघ संस्थालाई समेत आग्रह गरेका छन् । यता हिमाली गाउँपालिकाले उपचार गरेर फर्किएपछि उनको उपचार खर्चमा केही रकम सहयोग गर्ने नीति लिएको गाउँपालिकाका प्रवक्ता रमेश विकले बताए ।

उनले उपचार गरेर फर्किएपछि विल अनुसार राहतको व्यवस्था गर्ने नीति गाउँपालकाले लिएको र हालसम्म बढीमा २० हजारसम्म सहयोग गर्ने गरिएको बताए । दलित तथा विपन्न परीवारको अवस्था हेरी थप सहयोग गर्न पनि सकिने प्रवक्ता विकले बताए । घाइते किशोरी बाजुराको बुढीनन्दा नगरपालिका– १ भारतिकौसाडी माविमाको कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया