शिर्ष नेताबाटै सहमति खोज्ने तयारी

बामदेवलाई कोरोनापछि प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद सचिवालय बैठकमै टुंगो लगाउनेमा शिर्ष नेता सहमत भएका छन् । निक्कै पेचिलो अवस्थाबाट गुज्रिरहेको नेकपाभित्रको विवाद शिर्ष तहमै मिलाएर तल्ला कमिटिमा लैजान नेताहरु सहमत भएका हुन् ।

नेता तथा कार्यकर्ता पार्टी विभाजनकै आभाषजस्तो गरी अभिव्यक्ति दिईरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति करिव साढे तीन घण्टा बसेको बैठकले सचिवालयमै पुनः छलफल गर्ने निर्णय गरेका हुन् । त्यसका लागि विभिन्न विकल्प बुधबारको सचिवालय बैठकमा प्रस्तुत भएका छन् । तीन वटा अध्यक्ष राख्ने वा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने वा जतिसक्दो चाँडो एकता महाधिवेशन राख्ने लगायतका विषयमा छलफल भएपनि टुंगो लाग्न सकेन् ।

त्यसो भए ठीक छ, तपाईहरू (दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल) प्रधानमन्त्री भइसकेको मान्छे, म पनि प्रधानमन्त्री भइसकेँ । पहिले देशलाई कोरोनाको संकटबाट पार लगाऔँ । अनि, कहिल्यै प्रधानमन्त्री नभएका बामदेवजीलाई प्रधानमन्त्री बनाऔं – प्रधानमन्त्री ओली

बैठकको शुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका थिए । उनले आफु यस्तो अवस्थामा भएको भए राजिनामा दिने थिए भन्दै ओलीको राजिनामा माग गरे । त्यसपछि ओलीले तत्कालै उनलाई जवाफ दिएको एक सचिवालय सदस्यले जानकारी दिए । ‘मैले दुई पद मध्ये एक छाड्नुपर्ने भए प्रधानमन्त्री छाड्छु’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै ति सदस्यले भने,‘त्यसो भए ठीक छ, तपाईहरू (दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल) प्रधानमन्त्री भइसकेको मान्छे, म पनि प्रधानमन्त्री भइसकेँ । पहिले देशलाई कोरोनाको संकटबाट पार लगाऔँ । अनि, कहिल्यै प्रधानमन्त्री नभएका बामदेवजीलाई प्रधानमन्त्री बनाऔं ।’

उनले कोरोना नियन्त्रणमा आएपछि बामदेवलाई प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । साथै नेपाललाई पार्टीको अध्यक्ष बनाउन पनि प्रस्ताव गरेका छन् । तत्काल दुई अध्यक्ष रहेको नेकपामा तेस्रो अध्यक्ष नेपाललाई बनाउन प्रस्ताव गरेपछि प्रचण्ड रिसाएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीको दुई प्रस्ताव आएपछि बैठक एकाएक मोडिएको थियो । बैठक अवधिभर खासै धेरै नेता नेपाल नखुलेपछि कुनै पनि निर्णय हुन नसकेको हो ।

प्रधानमन्त्रीले वामदेव अघि सारेपछि प्रचण्डको भावभङ्गिमा बदलिएको स्रोतको दाबी छ । आफ्नो योजनालाई प्रधानमन्त्रीले काउन्टर दिएपछि प्रचण्ड अलमलिएका थिए । ‘त्यसपछि बैठकको माहौल बदलिएको थियो । प्रचण्डले वामदेवलाई बेलाबखत भकुण्डो बनाउने गरिएको छ भन्दै टिप्पणी गर्नुभयो’, ति सदस्यले जानकारी दिए । प्रचण्ड आक्रोशित शैलीमा प्रस्तुत भएपनि वरिष्ठ नेता नेपाल केही नरम शैलीमा प्रस्तुत भएको स्रोतको दाबी छ ।

बैठकपछि प्रवक्ता श्रेष्ठले शिर्ष नेताबीच सहमति खोज्न तीन दिन आन्तरिक छलफल गरिने बताए । उनले पार्टीभित्रको आन्तरिक समस्या, एकताको सुदृढिकरणको महत्व, सरकार र स्थायी कमिटिका विषयमा शिर्ष नेताहरुबीच आन्तरिक छलफल भएर २० गते पुनः बैठक बस्ने जानकारी दिए । ‘बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतामा मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडी बढाउने र जनताले दिएको जनादेश अनुसार सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडी बढाउने कुरामा उपयुक्त निर्णय लिनेछ’, उनको भनाई छ । प्रवक्ता श्रेष्ठका अनुसार अनौपचारिक छलफलपछिको सचिवालय बैठकले आवश्यक प्रस्ताव तयार गर्ने र त्यही बैठकले स्थायी कमिटिको बैठकका बारेमा पनि निर्णय लिने जानकारी दिए ।

सचिवालय सदस्य पोखरेलले भने पार्टी एकतालाई मजबुत बनाएर लैजाने निर्णय बैठकले गरेको जानकारी दिए । उनले पार्टी एकतालाई मजबुत बनाएर सरकारका राम्रा कामका पक्षमा दृढतापूर्वक उभिने निर्णय भएको बताए । ‘पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने र बैशाख २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गर्दै सम्पन्न भएको छ’, उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले बताए ।

विशेषगरी बुधबार विहानबाट शुरु भएको द्विपक्षिय हस्ताक्षर अभियानले दुवै पक्ष पछाडी हटेको कतिपय नेताले बताएका छन् । संसदीय दलमा ओली पक्षले बहुमतको हस्ताक्षर जुटाएपछि प्रचण्ड–नेपाल पक्ष हच्किएको सो पक्षको दावी छ । यता प्रचण्ड–नेपाल पक्षका नेताहरुले पनि आफ्नो पक्षमा बहुमत पुगेको दावी गरेका थिए । यद्यपी स्रोतका अनुसार शक्ति बाडँफाँडमा सहमति भएपछि त्यसको गृहकार्यका लागि सचिवालय बैठक लम्बाएको दावी गरेको छ ।

नेपाललाई पार्टीमा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा बैठक केन्द्रीत रहेको बुझिएको छ । उनलाई पार्टीको कस्तो जिम्मेवारी दिने भनेर विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन । जसले गर्दा तीनै शिर्ष नेतालाई यसविषयमा सहमति जुटाउने जिम्मा दिइएको बताइएको छ । यद्यपी यसबीचमा फेरी चलखेल भएर आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास समेत हुनसक्ने नेकपाका नेताहरुको भनाई छ ।

प्रतिक्रिया