कोरोनाबारे छलफलमा डा. पुनलाई मन्त्रालय बोलाएको स्पष्टिकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुनलाई विश्वभरी फैलिएको कोरोना भाइरस उपचारका बारेमा छलफल गर्न बोलाएको स्पष्टिकरण दिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार गर्ने सम्मेलमा कोरोना उपचार र पहिचानको विषयमा छलफल गर्नका लागि डा. पुनलाई बोलाएको आइतबार स्पष्ट पारेको हो । डा. पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधेको विषयमा केही सञ्चारमध्यमबाट समाचार बाहिरिएपछि चिकित्सकको मनोबल कमजोर बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण सोध्न लागेको भन्दै सरकारको आलोचना भएको थियो ।

सामाजिक सञ्जाल र मिडियामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको नामसमेत जोडिएपछि शनिबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमा सत्यतथ्य बङ्ग्याइ स्वास्थ्य तथा जनसंख्या मन्त्रीको नाम मुछेर अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

आइतबार डाक्टर पुन अस्पतालबाट पत्र बुझेर मन्त्रालय पुगेका थिए । डा. पुनले पनि आफूलाई मन्त्रालयले स्पष्टिकरण सोध्नभन्दा पनि विज्ञको रूपमा मन्त्रालयालाई सहयोग गर्नका लागि बोलाएको बताएका छन् । पुनले आफू मन्त्रालयमा नतानिएको र शुक्रराज ट्रपिकल अस्पतालमै कार्यरत रहने तथा आवश्यक परेको खण्डमा मन्त्रालयमा आएर सघाउने सहमति भएको बताएका छन् ।

प्रतिक्रिया