कैलालीका कोरोना संक्रमित युवक पनि निको भएपछि डिस्चार्ज

कैलाली । कोरोना भाइरस संक्रमित कैलालीका २१ वर्षीय युवक पनि निको भएका छन् । धनगढीको सेती अस्पतालमा उपचाररत ती युवकलाई अस्पतालबाट आजै डिस्चार्ज गरिएको बताइएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका युवकको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको सेती प्रादेशिक अस्पताल स्रोतले जनाएको छ ।

गत चैत ११ भारतबाट नेपाल फर्किएका ती युवकलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन राखेपछि कोरोना पुष्टि भएको थियो । उनमा गत चैत २२ गते कोरोना परीक्षणबाट पोजेटिभ देखिएको थियो ।

अहिलेसम्म नेपालमा कुल कोरोना संक्रमित संख्या ३१ जना पुगेका छन् भने ती युवकसँगै चार जना निको भएर घर फर्किएका छन् । हिँजो मात्रै बागलुङकी ६५ वर्षीया बृद्धा र काठमाडौंकी १९ वर्षीया युवती घर फर्किएका छन् ।

त्यसभन्दाअघि चीनबाट फर्किएका एक व्यक्ति घर फर्किसकेका छन् । साथै, अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया