कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

पोर्चुगल । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको संक्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ ।

इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरूमा कोरोना भाइरसको संक्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप संकट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ ।

कोरोना संक्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको संकमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख एक हजारभन्दा बढी संक्रमित भएको र ६४ हजारभन्दा बढीको ज्यान गएको वल्र्डोमिटरर्सको तथ्यांकले देखाएको छ । तीमध्ये दुई लाख ४६ हजारभन्दा बढी उपचारपछि घर फर्केका छन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँं हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने एक लाख २४ हजार ६३२ जना संक्रमित भएको तथ्यांक छ । बीस हजार ९९६ उपचारपछि निको भई घर फर्केका छन् । इटालीमा कोरोनाको संक्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । ‘यहाँको अवस्था हेर्दा नेपालीहरूको अवस्था चिन्ताजनक नै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन’, गुरुङले भने, ‘यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ ।’ कोरोनाको संक्रमणले संकटग्रस्त इटालीले गत मार्च ४ (फागुन २१ गते) देखि राष्ट्रिय संकटकालको घोषणा गरेको थियो ।

गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै संकटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताए । कोरोना संक्रमणको गति यही स्थितिमा बढिरहे युरोपमा रहेका नेपालीहरूमा थप संकट निम्तिन सक्ने खतरा रहेको उनले बताए ।

कोरोनाको संक्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन युरोपबासी नेपालीहरूलाई आग्रह गर्दै आचार्यले यो महामारीबाट बच्न र बचाउन संघसमेत संस्थागतरूपमा लागि परेको बताए । आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित संकटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरूको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरूको तथ्यांक संकलन गरेर समस्यामा परेका नेपालीहरुलाई उक्त कोषबाट राहत प्रदान गरिने उनले बताए ।

इटालीपछि कोराना संक्रमणका कारण सबैभन्दा बढीले ज्यान गुमाएको अर्को युरोपेली देश हो, स्पेन । कोरोनाका कारण स्पेनमा ११ हजार ९४७ को ज्यान गएको छ भने एक लाख २६ हजार १६८ मा संक्रमण भएको तथ्यांक छ । तीमध्ये ३४ हजार २१९ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्यांक हेर्दा स्पेनमा पनि कोरोना संक्रमणको वृद्धिदर इटालीमा जस्तै तीव्रगतिमा बढिरहेको छ ।

स्पेनमा रहेका लोकगायक राजेन्द्र लम्सालले स्पेनको अवस्था निकै दर्दनाक रहेको प्रतिक्रिया दिए । ‘घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, सर्वत्र कोरोनाको त्रास छ, कतिबेला के हुने हो, केही थाहा छैन’, लम्सालले भने । उनका अनुसार उद्योगधन्दा, कलकारखाना, सार्वजनिक यातायात, शहर बजार, होटेल रेष्टुरेण्ट, व्यावसायिक प्रतिष्ठानहरु ठप्प हुँदा दैनिकी कष्टकर बन्दै गएको छ ।

कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा हालसम्म सात नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए । संक्रमित नेपालीहरूको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको उनले बताए । तीमध्ये एक जना नेपाली उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको अर्को युरोपेली मुलुक हो, फ्रान्स । त्यहाँ कोरोनाका कारण सात हजार ५६० को मृत्यु भइसकेको छ भने ८९ हजार ९५३ मा संक्रमण पुष्टि भएको छ । तीमध्ये १५ हजार ४३८ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । गत सातादेखि फ्रान्समा पनि मृत्युदर र संक्रमण दर बढ्दै गएको छ ।

कोरोनाको महामारीका कारण आक्रान्त बनेको फ्रान्सको स्थिति हेर्दा नेपालीहरु पनि त्रसित रहेको पेरिसमा रहेका स्याङजाका विष्णुबहादुर सारुले बताए । ‘घरभित्रै बसेको तीन साताभन्दा बढी भयो, बजार पूरै ठप्प छ’, थापाले भने, ‘अत्यावश्यक कामका लागि स्वीकृति लिएर मात्रै बाहिर जान पाइन्छ, अन्यथा जरिवाना र जेलसम्मको सजाय हुन्छ ।’

फ्रान्समा रहेका नेपालीहरूको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताए । नेपालीहरु सुरक्षित रहे पनि जोखिम भने उच्च रहेको उनले बताए । कोरोनाले निम्त्याएको संकटका कारण समस्यामा परेका ३५ भन्दा बढी नेपालीलाई संघले राहतस्वरूप खाद्यान्न सामग्री प्रदान गरेको शाहीले जानकारी दिए ।

फ्रान्समा करिब पाँच हजारको हाराहारीमा नेपालीहरूको बसोबास रहेको दूतावासको अनुमान छ । हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । नेपालीहरूलाई पर्ने समस्यामा सहयोग र सहकार्य गर्न फ्रान्स र पोर्चुगलको सरकारलाई आग्रह गरिएको र त्यहाँको सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको राजदूत अधिकारीले बताए।

त्यस्तै, जर्मनीमा हालसम्म ९६ हजार ९२ मा कोरोनाको संक्रमण देखा परेको छ भने एक हजार ४४४ को मृत्यु भइसकेको छ । तीमध्ये २६ हजार ४०० उपचारपछि घर फर्केका छन् । त्यस्तै, बेल्जियममा पनि एक हजार २८३ को मृत्यु भइसकेको छ भने १८ हजार ४३१ मा संक्रमण पुष्टि भएको छ । तीन हजार २४७ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।

युरोपमै सबैभन्दा बढी नेपालीहरूको बसोबास रहेको बेलायतमा ४१ हजार ९०३ मा कोरोनाको संक्रमण देखा परेको छ । त्यहाँ चार हजार ३१३ जनाले ज्यान गुमाएका छन् । ती मध्ये १३५ जना उपचारपछि घर फर्केका छन् । बेलायतमा हालसम्म आठ नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए । आरणका अनुसार हाल दुई नेपालीको उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन् । अन्य १० नेपाली कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । बेलायतमा रहेका नेपालीहरूलाई उच्च सजगता र सतर्कता अपनाउन विशेष आग्रहसमेत गरिएको उनले बताए । उनका अनुसार यकिन तथ्यांक नभए पनि बेलायतमा डेढलाख नेपालीको बसोबास रहेको अनुमान छ ।

कोरोनाको महामारी कारण युरोपमा रहेका नेपालीहरूको अवस्था सामान्य रहे पनि जोखिम भने उच्च रहेको नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईले बताए । युरोपमा रहेका नेपालीहरूले गर्ने कामको प्रकृति हेर्दा धेरै नेपालीमा संक्रमण हुनसक्ने, तर नेपालीहरु खुल्न नचाहेका कारण पनि संक्रमितको यकिन तथ्यांक बाहिर नआएको राईको भनाइ छ ।

बेलायतपछि सबैभन्दा बढी नेपालीको बसोबास रहेको मुलुक पोर्चुगलमा दश हजार ५२४ मा कोरोनाको संक्रमण पुष्टि भएको छ । पोर्चुगलमा हालसम्म २६६ जनाले ज्यान गुमाइसकेका छन् । पोर्चुगलमा तीन नेपालीमा कोरोना संक्रमणको आधिकारिक पुष्टि भएको लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

उनका अनुसार संक्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । वाणिज्यदूत हमालका अनुसार अन्य केही नेपालीहरु कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन् । त्यहाँ रहेका नेपालीलाई कोरोनाको सम्भावित संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष सजगता र सतर्कता अपनाउन आह्वान गरिएको हमालले बताए

कोरोनाको महामारीबाट बच्न र समस्यामा परेका नेपालीहरूलाई सहयोग र समन्वय गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ पोर्चुगलले विशेष अभियान सञ्चालन गरेको संघका अध्यक्ष तिलकप्रसाद गैरेले जानकारी दिए । संघका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संयोजकत्वमा ‘टास्क फोर्स’ नै बनाएर समस्यामा परेका नेपालीको राहत र उद्धारका लागि परिचालन गरिएको गैरेले बताए । यकिन तथ्यांक नभए पनि पोर्चुगलमा करिब २५ हजार नेपालीहरूको बसोबास रहेको अनुमान छ ।

बेल्जियममा एक नेपालीलाई कोराना संक्रमण पुष्टि भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले जानकारी दिए । राजदूत थापाका अनुसार बेल्जियममा ९ हजारको हारहारीमा नेपालीहरु रहेका छन् । बेल्जियमसहित नेदरल्याण्ड्स र लग्जेम्बर्गमा रहेका नेपालीहरूलाई कोरोनाको संक्रमणबाट बच्नका लागि विशेष सुरक्षा, सतर्कता र उच्च सावधानी अपनाउन राजदूत थापाले आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्यालाई आधार मान्ने हो भने कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका बनेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रिया