सम्भावनाको खानी हो हुम्ला

एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको हुम्लाबाट स्वतन्त्र उम्मेद्वारको रूपमा विजयी हुनुभएका सांसद हुन् छक्कबहादुर लामा । उनलाई हुम्लीहरू बौद्धिक व्यक्तिका रूपमा हेर्ने गर्छन् । स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरे पनि उनको विजयमा नेपाल कम्युनिस्ट पार्टी हुम्लाको साथ थियो । उनी यतिवेला नेकपाककै नेताका रूपमा छन् । सहायक मन्त्रीसम्मको अनुभव रहेको लामासाग लामो समय हुम्लाको विकास, पर्यावरण र पर्यटन क्षेत्रमा काम गरेको अनुभव पनि छ । त्यसैगरी, हुम्लाको उत्तरी लिमी क्षेत्र र अन्य भागमा वातावरण, जडीबुटीलगायतको अध्ययन गरेका लामा कैलाश मण्डला नामक चर्चित पुस्तकका लेखक पनि हुन् । देश विदेशमा पर्यटन, पर्यावरण, संस्कृतीको बारेमा गेष्ट लेक्चररको रूपमा समेत उनले कक्षा लिने गरको छन् । हुम्ला जिल्ला हरेक दृष्टिले सम्भावना नै सम्भावना भएको जिल्लाको रूपमा विश्वास गर्ने लामासँग हुम्ला र त्यस क्षेत्रको विकास निर्माणसँगै जनताका हितमा गरिरहेको काम लगायतका बिषयमा सौर्य दैनिकका लागि लक्ष्मी रोकायाले गरेको संवादको सम्पादित अंशः

प्रतिनिधिसभाको सदस्यका रूपमा यहाँले हुम्लाको विकास निर्माणमा के कस्तो पहल गर्नुभयो, जिल्लाको मानव सूचकांकको अवस्था कहिले माथि उक्लन सक्ला ?
–२०४८ सालदेखि अहिलेसम्म विकासको अनुभव गर्ने हो भने तीन किसिमको सरकारमध्ये बृहत् योजनाको लागि केन्द्रीय सरकार, लघु आयोजनाको लागि प्रदेश सरकार, साना आयोजनाको लागि स्थानिय सरकार हुनपर्ने हो । तर, यसमा जनताले अहिलेसम्म बुझ्न नसकेको अवस्था छ । जनता प्रत्यक्ष गाँस बास र कपासको समस्यामा छन् ।

ठूला आयोजना यहाँको जनाताले मागेका छैनन् । साना साना विकासे आयोजना भए यहाँका जनतालाई पुग्छ । योजना सीधै सांसदसँग माग गर्ने चलन छ । हाम्रो नीति निर्माणले राज्यको संवैधानिक तीनवटै अंगसँग समन्वय गर्नुपर्ने अवस्था छ । एक खालका मान्छे सांसदले नीति निर्माणमै केन्द्रीत हुनुपर्छ भन्ने, योसँगै योजना दिनुपर्छ भन्ने मान्यता राख्छन् । सांसदको भूमिका कानुन मात्र नभएर सामाजिक परिचालकको रूपमा भूमिका खेलिरहेको छु ।

हुम्लाको सन्दर्भमा भन्ने हो भने हामी नेपालको पिछडिएको क्षेत्र कर्णाली, कर्णालीको पनि पिछडिएको जिल्ला हुम्ला रहेको छ । हुम्लामा बाख्रा र भेडाबाट नुन ओसार्ने, वस्तु विनिमयको अवस्थामा छौं । बजार अर्थतन्त्रको अवस्था आइसकेको छ, तर हुम्लाका जनताको स्तर त्यसमा पुगेको छैन । सरकारले बजेट दिन्छ, तर कर्णालीले सरकारको गौरवका योजना हालसम्म प्रदान गर्न सकेको छैन ।

बजेट माग्नका लागि प्रदेश सरकारलाई बेवास्था गरी सीधै काठमाडौं धाउने प्रचलन अहिले पनि छ । बजार अर्थतन्त्रको युग आई सकेको वेला जनता बस्तुविनिमयको अवस्थामा छौं । यसको लागि सहजिकरणको काम गरीरहेको छु । केन्द्रीय बजेटलाई भित्र्याउनको लागि प्रस्तावना लेख्नपर्छ, त्यो लेख्ने मानविय जनशक्तिको हुम्लामा कमी छ । त्यताबाट भित्रिएको रकम दक्ष जनशक्तिले शहरी भागमा मात्र खर्च गर्छ । जसले गर्दा हुम्ला आफैमा मारमा परिरहेको छ । अब भएका जनशक्तिलाई जिल्ला भित्रमा नै राख्न सक्ने वातावरण हुन आवश्यक छ ।

विकास र अर्थतन्त्रको सुधारमा सरकारले ध्यान दिनुपर्ने कुरा के–के हुन भन्ने ठान्नु हुन्छ ?
–विकास बाख्रालाई घाँस बाधेको अवस्था छ, बाख्राले बाँधेको घाँस तानेर खान नसको जस्तो अवस्थामा हुम्ला छ । केन्द्रमा रहेको विकासको योजना भित्र्याउन नसकिरहेको अवस्था अहिले पनि छ । विकासको लागि र बजार अर्थतन्त्रको लागि पूर्व शर्त तयार पार्नु पर्ने हो । युगको रूपान्तरण गर्नुपर्ने वेलामा हामी न घरमा न घाटमा भने झैँ छौँ । यसको लागि सही मार्ग निर्देश आवश्यक छ । बजेटलाई के कसरी तय गर्ने भन्नेमा अध्ययन गरेर योजना निर्धारण गर्नुपर्ने हो । त्यस्तो भएको छैन । यहाँको सामाजिक अध्ययन गरी वास्तविक जनताको अवस्था बुझेर नीती निर्माण बनेको छैन ।

त्यसैले बजेट जान्छ, तर जनता समक्ष पुग्दैन, खर्च नभएर पुनः माथि नै फर्कने अवस्था छ । पचास प्रतिशत अनुदानको रकम देशको अन्य भू–भागमा दिएमा व्यवसाय हुर्केको हुन्छ, ५० प्रतिशत रकम पाउँदा उसको व्यवसाय हुर्कन्छ तर, हामीमा व्यवसाय नै नहुर्कने अवस्था छ । ५० प्रतिशत अनुदानको हुम्लीका लागि कुनै औचित्य छैन । त्यो जनताको हातमा पर्दा नुन तेलमा नै सकिने गरेको छ । अझ विचौलियाको हात प¥यो भने त्यो रकम सम्वन्धित ठाउँमा पुग्न पाउँदैन । बजार अर्थतन्त्रमा स्थानीयलाई विश्व मानचित्रमा पु¥याउने चिज हो ।

सडक सञ्जालको समस्याका कारण हुम्ली जनता महँगीको पचेटामा छन् । हवाई माफियाबाट ठगिँदै छन् यी समस्याबाट हुम्लीले कहिले मुक्ति पाउलान् ?
–हुम्लाको तुम्चेसम्म सडक पुगेको छ । त्यसभन्दा माथि सडक बनाउनको लागि चट्टानी भू–भाग धेरै भएकाले समस्या भएको छ । उक्त सडक सेनाले बनाएको भए राम्रो हुने थियो । तर, ठेकेदारले दिलाएको छ । काम हुन नसक्ने भएकाले अब ठेक्का तोड्नुपर्ने अवस्था छ । जिल्लामा अवसर र मानव संसाधन धेरै छ । यस्तै, प्राकृतिक साधन स्रोत धेरै छ ।

सरकारले पनि यसलाई उच्च प्राथमिकतामा राखेको छ । मैले आफैले सांसद हुँदा लिमी लाप्चा सडक खण्ड जो पर्यटकीय हिसाबले अति नै भहत्व राख्छ त्यो निर्माणको लागि पहल गरेको थिए । त्यसलाई पुनः गुणस्तरिय बनाइ बाटोको अवस्था सुधार गर्न सकेमा हुम्लामा पर्यटक भित्र्याउन सकिने छ । त्यसो गर्न सकिएमा हुम्लामा लाखौँ डलर भित्रिने अवस्था छ ।

राष्ट्रिय प्रसारण लाइन हुम्लामा पुगेको छैन । यहाँका जनता दियालोको सहारामा बस्न बाध्य छन्, यसलाई सुधार गर्न के कस्तो पहल गर्नुभएकोछ ?
–विद्युत् प्रशारण लाइन जोड्नको लागि केही कदम सरकारले उठाई राखेको छ । हाल कालिकोटसम्म प्रसारण लाइन पु¥याउने नीति तथा कार्यक्रममा छ । विस्तारै सडक पुगेको स्थानमा सो लाइन पुग्ने अवस्था छ । यस्तै राष्ट्रिय गौरवका योजना हुम्लालाई चाहिएको छ । बजार अर्थतन्त्रमा उत्पादनको ठूलो भूमिका हुन्छ ।

हुम्लाका उत्पादन हुने जैविक खाद्यान्न बाहिर जाने र यसले यहाँको जनतालाई आर्थिक रूपमा सक्षम बनाउने छ । यस्तै, यहाँ वैज्ञानिक खेती प्रणालीको आवश्यक छ । त्यसको लागि पनि सडक र विद्युत््को आवश्यक हुन्छ । सरकारले त्यस तर्फ केही कार्यक्रम केन्द्रीय र प्रदेश स्तरमा ल्याएको छ । तर, यो सीमित वर्गमा मात्रै पुगेकाले सबैको पहुँचमा । सरकारले कार्यक्रम दिने तर नियन्त्रण र अनुगमन हुन नसक्दा प्रभावकारी हुन सकेको छैन ।

विद्युत्को लागि यहाँ प्रचुर सम्भावना । प्रचुर सम्भावना हुँदा हुँदै पनि राज्यले त्यसलाई उपयोग गर्न नसक्नु दुखको कुरा हो । कर्णालीमा हजारौँ किलावाटको विद्युत् क्षमता उत्पादन राख्ने कर्णाली नदी छ तर, यसलाई न सिचाँइका रूपमा न विद्युत्मा उपयोग गर्न सकिएको छ । मैले संसद्मा यो कुरा वेला वेला उठाए तर कुनै सुनुवाइ भएन । यसबारेमा आगामी दिनमा अझै जोडदार रूपमा पहल गर्नेछु । प्रदेशस्तरमा मैले सडक, पर्यटन, कृषि र विद्युत्मा नै जोड दिँदै आएको छु । अब बिस्तारै विकासले फड्को मार्ने र जनताले तत्काल राहत पाउने अवस्था बन्दै छ । जिल्लामा साना विद्युत् उत्पादन गृह रहे पनि यो प्रयाप्त छैन । त्यसमा पनि वेला वेलामा मर्मतको समस्या हुँदा उपभोक्ताले सास्ती खोप्ने गरेका छन् ।

हुम्ला पर्यटन क्षेत्रको लागि निकै सम्भावना भएर पनि राष्ट्रियस्तरमा चर्चा हुन सकेको छैन । यसको विकासको लागि के कस्तो पहल गर्नुभएको छ
–हो हुम्लामा धेरै पर्यटनको सम्भावना छ । यहाँका सुन्दर वस्ती अनि भौगोलिक बनोट, धार्मिक स्थलका कारण हुम्ला सुनमाथिको सुगन्ध भनेजस्तै छ । प्रख्यात धार्मिक स्थल मानसरोवर कैलाश दर्शनको लागि जिल्ला गेट वे हो । अन्तर्रािष्ट्रय स्तरमा कायम भएको अति नै सजिलो छाटो बाटो पर्छ हुम्लाबाट । त्यसैले हरेक वर्ष १० देखि १५ हजार पर्यटकले हुम्ला हुँदै यात्रा गर्छन । यहाँको हरेक ठाउँ प्राकृतीक सुरूम् सुन्दर छन् । सर्केगाडको राहदेवमा रहेको दुधेदह, चुवाँखोला, उत्तरी भागको लिमी उपत्यका यहि छ । केही दिनदेखि कोरोना भाइरसका कारण भारतीय पर्यटक नेपाल आउन कम भएको छ् । यसको यहाँको आयस्तर घट्ने देखिन्छ ।

यस्तै हुम्लाको लिमीको लाप्चा भञ्ज्याङबाट मानसरोवर दर्शन जाने बाटो उपयुक्त हुन्छ । त्यस ठाउँको प्रचार प्रसार र बाटोको स्तरिकरण गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ । हिजो चीनको ताक्लाकोट हुँदै मानसरवर दर्शन गर्न जाने भारतीयको संख्यालाई नेपालबाट नै दर्शन गराउन सक्ने बनाउन स्थानीय सरकारले पहल गर्नुपर्छ । हुम्ला नेपाल भ्रमण वर्षको अर्को गन्तव्य ठाउँ हो । हवाई जहाजको महँगो भाडाका कारण पर्यटकलाई खुम्च्याएको छ । हाल केही प्रचार प्रसार भएको भएता पनि अझ व्यापक रूपमा प्रचार गर्न आवश्यक छ । यहाँको पर्यटन प्रवर्धनका लागि मैले नै विदेशका केही पर्यटकलाई हुम्लाको प्राकृतिक, वनस्पतिलगायतका वातावरणीय अवस्थाको जानकारी दिई पर्यटन भित्र्याउन पहल गरेको थिए ।

यसै गरी यहाँको संस्कृति, सम्पदालाई संरक्षणमा गर्न सकेमा भविष्य राम्रो हुनेछ । संस्कृति हाम्रा बुहुमुल्य सम्पति हुन्, यसलाई जगेर्ना गर्नमा हामीनै लाग्नु पर्छ । यस्तै पशुपालनलाई जोड दिन सकेमा अझ आयआर्जन गर्न सकिन्छ । तिव्वतमा वन्य जन्तु संरक्षण क्षेत्र बनेकोछ त्यहाँ मासुको धेरै माग छ । हामीले पशुपालनमा जोड दिने र यसलाई व्यवसायिक बनाउने हो भने रोजगारीका लागि कहिँ जानु पर्दैन । हुम्लामा क्वारेनटाइनसम्म छैन, मैले हुम्लाको सीमा क्षेत्रमाा क्वारेनटाइनको स्थापना गर्न पहल गर्दैछु । यहाँको एउटा चौरीे १ लाख ५० हजार रूपैयाँमा बिक्री हुनसक्छ । हुम्लाका उत्पादनलाई विश्वव्यापारीकरण गर्न क्वारेनटाइन कार्यालय स्थापना गरी यहाँको उत्पादन बाहिर निर्यात गर्न सकिन्छ ।

यस्तै जडिबुटीको उत्पादन फारम बनाएर हुम्लामा मात्रै पाइने बहुमुल्य औषधिजन्य जडिबुटीलाई बाहि पठाउन सकिन्छ । हुम्लामा उत्पादन हुने स्याउ, ओखरलाई बाघवानी क्षेत्रमा विकास हाम्रा ध्यान जानु आवस्यक छ । यसले दीर्घकालिन रूपमा हुम्लीले लाभ लिन सक्छन् । सिमकोटमा रहेको विमानस्थल प्रयाप्त छैन । यसले क्षमतालाई धान्न योग्य छैन । एक जना भारतीयले हुम्ला भएर भ्रमण गर्दा १ लाख ५० हजारसम्म हुम्ला खर्च गर्छन । अर्को पनि विमानस्थल निर्माण गर्न सकेमा वर्षमा कम्तिमा ६ अर्ब रूपैयाँ पर्यटनबाट भित्र्याउन सकिन्छ । मैले अर्को विमानस्थलको परिकल्पना अध्ययन गरीरहेको छु । हाल स्याउ जोनको विकासलाई फलफुल जोनको रूपमा विकास गरी प्रयाप्त रूपमा आयआर्जन लिन सकिने अवस्था छ ।

हुम्लाका वस्तीको अन्वेषण हुन सकेको छैन । अनेक विशेषता भएर पनि हुम्लाका बस्तीलाई राष्ट्रिय मुल प्रवाहमा ल्याउन राज्यले कस्तो पहल गर्नुपर्ला ?
-हो वास्तवमा हुम्लाका रहेक बस्ती अन्वेषण हुन सकेका छैनन् । हुम्ला प्रकृति र संस्कृतिको दृष्टिले धनी जिल्ला हो । हुम्लाको हिमालय मानसरोवर हो, कैलाश हो । कैलाश मानसरोवर भनेको उत्तरको पठार र तराईको बीचमा रहेको संगम थलो हो । यो पूर्विय थलो अनुसार साँस्कृतिक र पूर्विय दर्शनको स्वर्ग र पातलको केन्द्रिय भाग हो । हामीले त्यो कुरा अरूलाई बुझाउन सकेका छैनांैँ । यो बुझाउन सकेमा हामी विकट होइन हामी कोर अर्थात् मूख्य भागमा पर्छौं । योसँग सम्वन्धित केही लिखित अनि मौखिक भनाई पनि रहेको छ ।

यसलाई हामीले रूपान्तरण गर्न सकेका छैनौं । त्यसैले हुम्ला पछाडि प¥यो, हामी पिछडिएको क्षेत्रमा प¥यौँ । हामी आदिवासी र पुरातन वस्तीका वासिन्दाले पुरातन रूपमा नै विकास गर्न आवश्यक छ । यहाँ ठूला नेता, कर्मचारी, विद्धान, अर्थशास्त्र र राजनीतिका विज्ञ, समाजशास्त्रका विज्ञ काठमाडौंंतिर केन्द्रीत भए । आफ्नो ठाउँ जित स्वर्ग जस्तै भएर पनि मानव संशाधनको कमी छ । राजनीतिमा भन्ने हो भने म सांसदसम्म हुनसक्छु त्यो भन्दा माथिको अवसर पाउन गाह्रो छ ।

यहाँका सबैको अवस्था यस्तै हो । राज्य सत्ताले पहुँच नै दिँदैन । राज्यले पहुँच नदिँदा त्यहाँ लक्षित कार्यक्रम जान गह्रो छ । हाम्रो आवाज ठाउँसम्म पुग्दैन । सामाजिक र आर्थिक रूपान्तरण भनेको ठूलो काम हो त्यो एकजना व्यक्तिबाट सम्भवन छैन । यद्यपी मैले आफ्नो स्तरबाट पहल गर्न छोडेको छौँ ।

देशले समृद्धिको नारा लगाइरहेको छ, हुम्लीका लागि हात मुख जोर्न कठिन छ । यसलाई सुधार गर्न के गर्नुपर्ला ?
–देश समृद्व बनाउन काठमाडौंबाट हुम्लालाई हेरी कार्यक्रम तय गरेर यहाँको जनताको अवस्थामा समृद्वि हुँदैन । जिल्ला समृद्ध बनाउन यहाँको वस्तुस्थिती अनुसार स्थानिय स्तरमा प्रभावकारी हुने कार्यक्रम तय गरिनु पर्छ । त्यसको लागि त्यहााँको जानकारको सल्लाह, सुझाबको आवश्यकता हुन्छ । हामीले जनस्तरबाट सल्लाह सुझाब दिनै पाएका छैनौं ।

काठमाडौंमा विकास र हुम्लाको विकासका लागि एकै प्रकारका योजना र बजेटले हुँदैन । हरेक सामान हवाई ढुवानी गरेर लैजाँदा निर्माणका मूल्य बढी हुन्छ । यसको मारमा हुम्ला पनि छ । कुनै पनि ठाउँको विकास गर्न सबैभन्दा पहिला सडक मार्ग चाहिन्छ । सरकारले सडकमा तय गर्ने रकम अब घटी घटाउमा ठेक्का दिने चलन हटाएर नेपाली सेनाको थप जनशक्तिको परिचालन गर्ने बारे सोच्ने वेला भएको छ ।

यस्तै, हुम्लाका हरेक बालीनाली औषधिय गुणयुक्त छन् । यहाँको वन, जंगल, खोलानालामा पाइने हरेक बोट औषधि हो । यसलाई उत्खनन् गरी उपयोगमा ल्याउने वातावरण बनाउन राज्यले सहयोग गर्नुपर्छ । यहाँको जडिबुटी सुनभन्दा कम मूल्यवान छैनन् । यहाँको वनजंगलमा पाइने सुन फलामको मूल्यमा विक्रि गर्न बाध्य छन् हुम्ली । ती औषधिय उत्पादनलाई विश्वव्यापारीकरण र प्रशोधन गर्न सक्यौं भने हुम्लाका किसानलाई आर्थिक उपार्जन तिर लम्काउन सकिन्छ ।

यसले रोजगारीको अवसरसमेत सिर्जना गर्छ । यस्तै, हवाईजहाजबाट हुम्ला पुग्न भन्दा सडक भएमा पर्यटकले सस्तोमा भ्रमण गर्नसक्छन् । यसले स्थानीय उत्पादनलाई बाहिरी बजारसम्म पु¥याउँछ । हुम्लाको स्थानीय चालचलन, संस्कृतिको जगेर्ना गर्नमा युवाको भूमिका ठूलो हुनेगर्छ । यसको सरक्षण र प्रवर्धनमा लाग्न सक्यौँ भने हाम्रो समृद्धि हुनेछ ।

प्रतिक्रिया