लोकदोहोरी प्रशिक्षण सुरु

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोकदोहोरी क्षेत्रको विकास र प्रवर्धनका लागि गायन तथा संगीत प्रशिक्षणको शुभारम्भ गरेको छ ।

टोखास्थित प्रतिष्ठानको केन्द्रीय कार्यालयमा प्रतिष्ठानको कल्याणकारी कोषका संरक्षक दुर्गा रायमाझीको प्रमुख आतिथ्यमा ६ महिने गायन तथा संगीतको प्रशिक्षण सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजिले जानकारी दिए ।

शुभारम्भ कार्यक्रममा ‘हामी नदीका दुई किनारा’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ लगायत गीतका गायक सुदेशराज शर्मा, प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकाली, पूर्वअध्यक्ष चन्द्र शर्मा, महासचिव सुवास केसी, गायक दीपक खड्का, गायिका राधिका हमाल, देवी घर्तिमगर, पूर्णकला बिसी, रिता थापामगर अमृता लुंगेलीमगर, जमुना रानालगायत कलाकारको सहभागिता रहेको थियो ।

सहजताका साथ गुणस्तरीय प्रशिक्षण दिने तयारी प्रतिष्ठानले गरेको अध्यक्ष बिजिले बताए । उनले प्रशिक्षणले कलाकारितामा भएका घृणित तथा विकृतिलाई नियन्त्रणमा ल्याउन सहयोग मिल्ने र यसको सुरुवात आफ्नै कार्यकालबाट भएको जिकिर गरे ।

अध्यक्ष बिजिले भने, ‘गायन र संगीतबाट कलाकारितामा भविष्य खोजेर आउनेका लागि सहज र राम्रो वातावरणमा प्रतिष्ठानले यो अवसर प्रदान गरेको हो । यसमा इच्छा र चाहना हुनेहरू देशभरिकै जो आए पनि स्थान पाउनेछन् । साथै यहाँभित्र रहेका विकृतिलाई पनि बिस्तारै नियन्त्रण गरिनेछ ।’

उनले गत मंसिरमा भएको महाधिवेशनबाट प्रतिष्ठानको अध्यक्ष पद सम्हाल्दै आएका छन् । त्यसअघि गायक बद्री पंगेनीले प्रतिष्ठानको नेतृत्व गरेका थिए । त्यस्तै कल्याणकारी कोषका संरक्षक दुर्गा रायमाझीले प्रतिष्ठानको स्थापनाकालदेखि नै सुरु गरिनुपर्ने यो कार्य रमेश बिजिले सुरु गरेर राम्रो गरेको बताए ।

उनले भने, ‘प्रतिष्ठानको स्थापना भएको पनि यतिका वर्ष भइसक्यो, तर यस्तो कार्य हुन सकेको थिएन, यो कार्य बिजीको कार्यकालमा हुन सफल भयो ।’ त्यस्तै गायक सुदेशराज शर्माले कलाकार बन्नेका लागि प्रतिष्ठानले दिएको यो अवसर अहिलेसम्मकै प्रभावकारी भएको प्रतिक्रिया दिए ।

प्रशिक्षणका लागि चाहिने सम्पूर्ण वाद्यवादक सामग्री उपलब्ध गराउनमा सल्लाहकार पृथ्वी थकालीले सहयोग गरेको अध्यक्ष बिजिले जानकारी दिए । सल्लाहकार थकालीले यस कार्यले प्रतिष्ठानको गरिमालाई उचाइमा पुर्याउने बताउँदै प्रशिक्षणमा मौलिक लोक संस्कृति र गीत संगीतले समाज परिर्वतन गर्न लाभदायक हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी पूर्वअध्यक्ष चन्द्र शर्माले पनि प्रतिष्ठानले लोकदोहोरीभित्र रहेका विकृति र विसंगतिलाई विस्तारै निर्मूल पार्नुपर्ने धारणा राखे । उनले भने, ‘लोकदोहोरी क्षेत्रलाई विसंगतिका बारेमा धेरै ठाउँबाट आलोचना भइरहेको छ, त्यस सन्दर्भमा प्रतिष्ठानले कलाकारिता क्षेत्रमा रहेका विभिन्न नराम्रा गतिविधिलाई अन्त्य गर्नमा अहम् भूमिका खेल्नेछ ।’

महासचिव सुवास केसीले पनि कलाकारभित्र भएका फोहोर तथा घृणित पक्षको अन्त्यका लागि प्रतिष्ठानको नयाँ कदम सुरुवात् भएको जिकिर गरे । उनले भने, ‘प्रतिष्ठानले गायन तथा संगीत प्रशिक्षणबाट यस क्षेत्रमा भएका विभिन्न विसंगति र हरेक क्रियाकलापका अन्त्यका लागि नयाँ कदमअघि बढाएको छ, यस विषयमा सम्पूर्ण कलाकार सचेत भएर शुद्धीकरणका लागि अडिगरुपमा अघि बढ्नुको विकल्प छैन ।’

प्रतिक्रिया