मदन भण्डारी एकेडेमी गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता सर्ने

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गर्ने भनेको नेपालसहित ४ राष्ट्रका फुटबल टोली सम्मिलित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पूर्व निधारित समयमा नहुने भएको छ । कोरोना भाइरसको संक्रमणका एसियामा फैलँदै जान थालेकाकारण पूर्व निर्धारित समयमा आउन सहभागी राष्ट्रका टोलीले आनाकानी गरेपछि प्रतियोगिता अर्को महिना मात्र आयोजना हुने सम्भावना बढेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले फागुन १५ गतेदेखि २४ गतेसम्म आयोजना गर्ने भनेको प्रतियोगितामा नेपालसहित मोरिसस, अफगानिस्तान र पाकिस्तानले प्रतियोगितामा भाग लिने तय भएको थियो ।

तर, मोरिसस र अफगानिस्तानले कोरोना भाइरसको संक्रमणको हल्लाले केहि समयका लागि प्रतियोगिता सार्न आग्रह गरेबमोजिम त्यहीअनुसार गर्ने तयारी भएको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बताए । ‘उहाँहरूको चासोलाई हामीले नजरअन्दाज गर्ने अवस्था छैन, ‘उनले भने, ‘अर्को महिनासम्म सर्न सक्ने सम्भावना छ । मिति केही दिनपछि तय हुनेछ ।’

दशरथ रंगशालामा हुने भनिएको मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबलमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने र शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । प्रतियोगितामा राउन्ड रोविनका ६ र फाइनल गरी ७ खेल हुने श्रेष्ठले यसअघि नै बताइसकेका थिए । सहभागी हुने भनिएका ४ राष्ट्रमध्ये अफगानिस्तान फिफा वरीयतामा सबैभन्दा माथि छ । फिफाको पछिल्लो वरीयताअनुसार अफगानिस्तान १ सय ४९ औँ, नेपाल १ सय ७० औँ, अफ्रिकिन राष्ट्र मोरिसस १ सय ७२ औँ र पाकिस्तान २ सय एकौँ स्थानमा छ ।

मंसिरमा १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० क्षेत्रीय टोलीको प्रतिस्पर्धा नेपाली दर्शकहरूले हेरिसकेकाले त्यो भन्दा पनि प्रतिस्पर्धात्मक प्रतियोगिता होस् भन्ने उद्देश्यका साथ यो प्रतिायेगिता आयोजना गरिएको श्रेष्ठले बताएका छन् । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको छ ।

एकेडेमीले गत वर्ष नै मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको घोषणा गरेपनि त्यतिबेला दशरथ रंगशाला तयार नभएका कारण योजना पछि सार्नुपरेको अध्यक्ष श्रेष्ठले बताएका थिए । एकेडेमीले दुई वर्षअघि बुटवलमा मदन भण्डारी गोल्डकप आयोजना गरेको थियो । त्यसपछि एकेडेमी अन्तर्गतकै क्रिकेट विभागले टियु मैदान परिसरमा क्रिकेट कार्निभल समेत आयोजना गरेको थियो ।

प्रतियोगितामा झन्डै २ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष श्रेष्ठले पुरस्कार राशि भने तय केही समयमा तय गरिने बताएका छन् । ‘नगद पुरस्कार त हामी राख्छौँ,’ उनले भने,‘ यसअघि घोषणा गरे अनुरुप नै हुन्छ वा थप घट केही दिनमा तय हुनेछ ।’ गतवर्ष एकेडेमीले पत्रकार सम्मेलन गर्दा विजेताले २५ हजार अमेरिकी डलर, दोस्राले १० हजार डलर प्राप्त गर्ने घोषणा गरेको थियो । नेपालले मार्च अन्तिम सातामा दशरथ रंगशालामा विश्वकप छनोटका खेल आयोजना गर्नेछ ।

प्रतिक्रिया