खोजखबर

रुपन्देहीमा राष्ट्रिय दादुरा प्रदेशस्तरीय खोप अभियान सुरु

सौर्य अनलाइन २०७६ फागुन १ गते १५:२३ मा प्रकाशित

मुख्यमन्त्री शङकर पोखरेलले एक नाबालकलाई पोलियो थोपा खुवाएर बिहीबार सैनामैना नगरपालिका– ४ स्थित मुर्गियामा अभियानको शुभारम्भ गर्दैै ।

खस्यौली । राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान आजदेखि रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियाबाट सुरु भएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक नाबालकलाई पोलियो थोपा खुवाएर अभियानको शुभारम्भ गरे ।

रुपन्देहीमा तीन चरणमा एक लाख नौ हजार ७९९ बालबालिकालाई दादुरा रुबेला र एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ । फागुन १ देखि ९ गतेसम्म सात पालिका, फागुन १३ देखि १७ एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म आठ पालिकाका ८१४ खोपकेन्द्रमा पोलियो थोपा तथा खोप लगाइने बताइएको छ । त्यसका लागि ९२८ कर्मचारी र एक हजार ६२८ स्वयंसेवक परिचालन भएको स्वाथ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल प्रदेशको गौरवको आयोजना भएको उल्लेख गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारमा चुनौती भएकाले प्रादेशिक अस्पतालको सटर हटाइएको जानकारी दिए । उनले उक्त अस्पताललाई विशेषज्ञ सेवा पाउने अस्पतालको रूपमा समेत रुपान्तरण गर्न खोजेको बताउँदै अझै पनि स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे । ‘स्वास्थ्यलाई मौलिक हकका रूपमा आत्मसात गरिएको छ र सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनेको छ, तर व्यवाहरिकरूपमा त्यस्तो देखिएको छैन’, मुख्यमन्त्री पोखरेलले भने ।

राष्ट्रियसभामा सत्तारुढ दलका सचेतक खिमलाल भट्टराईले जनताको स्वास्थ्य अधिकारप्रति सबैको साझा दायित्व आवश्यक भएको बताए । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको सेवा नगरपालिकामा सुरु भएको जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी, स्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठलगायतले पोलियो थोपा र खोपको फाइदाका विषयमा जानकारी दिएका थिए । संघीय सरकारले ३० लाख बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्ने र तराईका १९ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय