लेखक भोकै पर्ने प्रकाशक मोटाउने चलन निर्मूल पार्नुपर्छ

राम विनय

साहित्यकार राम विनय अर्थात् रामकुमार श्रेष्ठ नेपाली वाङ्मय क्षेत्रमा पाँच दशकदेखि निरन्तर सक्रिय हुनुहुन्छ । कविता, कथा तथा नियात्रामा कलम चलाउँदै आउनुभएका राम विनयका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । साहित्य अभियन्ताका रूपमा चिनिनुभएका राम विनय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जनसाहित्य लेखक संघ, नेपालका केन्द्रीय संयोजक समेत हुनुहुन्छ । कला साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्ने धारणा राख्दै उहाँले स्रष्टाले परिवर्तनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुहुन्छ । नेपाली समाजलाई समानतामूलक बनाउन कला साहित्यको भूमिका विशिष्ट रहने भएकाले यसको विकासमा सबै पक्षले ध्यान दिनुपर्ने बताउँदै उहाँले समाज रूपान्तरणमा स्रष्टाको पहल बढी जिम्मेवारपूर्ण हुने तर्क गर्नुहुन्छ । स्रष्टा राम विनयसँग नेपाली वाङ्मय क्षेत्रका विविध विषयमा केन्द्रित रहेर सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त कुराकानीः

० नेपाली साहित्यलाई कसरी नियालिरहनु भएको छ ?
नेपाली साहित्यको वर्तमान अवस्था उत्साहप्रद छ । पहिले सीमितरूपमा भएको साहित्यको अवस्थामा अहिले व्यापकता आएको छ । यो खुसीको कुरा हो । यसले समाजका विविध आयाम र परिवेशलाई समेत उठान गर्दै आएको छ ।

० मतलब नेपाली वाङ्मयको विकास सन्तोषजनक रूपमा भएको छ ?
यसले लिएको फराकिलो दायरा र विषयका कारण सन्तोषजनक रूपमा अगाडि बढेको मान्नुपर्दछ । साथै सिर्जनशील आयतनका दृष्टिले समेत सन्तोषजनक रूपमा विकास भएको छ ।

० नेपालमा प्रगतिशील साहित्यिक आन्दोलनको अवस्था कस्तो छ ?
नेपालमा प्रगतिशील साहित्यको आन्दोलनले गुणात्मक रूपले फड्को मारेको छ । प्रगतिशील साहित्यिक आन्दोलनका कारण नेपाली साहित्यको वर्तमान अवस्था विविधता आउन सकेको हो जसलाई हामीले ऊर्जाका रूपमा लिनुपर्दछ ।

० सांस्कृतिक रूपान्तरणमा स्रष्टाहरूको भूमिका कस्तो हुनुपर्दछ ?
आन्तरिकरूपमा समाजमा व्याप्त अन्धविश्वास, अवैज्ञानिक सोच र व्यवहार हटाउन, सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक क्षेत्रमा व्याप्त विकृति, विसंगति, अन्याय, अत्याचार, पापाचार, दुराचार, भ्रष्टाचार, नातावाद, कृपावाद, फरियावाद लगायत अनेकन् गलत संस्कारको निर्मूल पार्न त्यसको विरोधमा कलम चलाएर सामाजिक रूपान्तरणको अभियानमा लाग्नु स्रष्टाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यस्तै, बाह्य हस्तक्षेपको विरोधमा पनि त्यत्तिकै सशक्तरूपमा कलम चलाएर विरोध गर्नु महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

साहित्यलाई समाजको ऐना भनिन्छ । त्यो भनेको के हो ? जसरी ऐना हेर्नेले ऐना हेरेर आफनो अनुहार मिलाउँछ त्यसै गरी समाजमा भएको यर्थाथ अवस्थालाई साहित्यकारले उजागर गर्छ र अबको समाज कता लाग्नु पर्छ भनेर सही विचार, कला र मिठोे शैलीले लेखिएको मन छुने साहित्यले पाठकलाई अर्थात् जनतालाई उत्पे्ररित गर्छ भने त्यो सफल जनपक्षीय साहित्य हुन्छ । सामाजिक रूपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेल्छ । स्रष्टाहरू बहुसंख्यक जनताको सत्य र न्यायका पक्षपाती हुन्छन् । वर्तमान समयमा समाजवादी यर्थातवादी साहित्यले नै त्यस कुराको प्रतिनिधित्व गर्दछ ।

० राजनैतिक आन्दोलनलाई चीरस्थायी बनाउने संस्कृति निर्माणमा परिवर्तनकामी शक्ति चुकेकै हुन त ?
परिवर्तशील संसारमा कुनै पनि कुरा चीरस्थायी हँुदैन । आन्दोलनका स्वरूपहरू समय परिस्थिति अनुसार फरक हुनसक्छ र हुन्छ । परिस्थितिको निर्माण गर्न सक्नुपर्छ । तपाईंको भनाईको अर्थ राजनीतिले लिएको दूरदृष्टि, ध्येय, लक्ष्यको अभियानले दिगो बाटो समाउन नसकेको हो कि भन्ने भनाइ हो भने त्यो केही हदसम्म सही हो । तर केही पनि भएको छैन भने होइन । परिवर्तनको वातावरण निर्माण हुने अवस्था छ ।

० लेखनी र राजनीतिबीचको अन्तरसम्बन्ध कस्तो हुनुपर्दछ ?
राजनीति विशेष दर्शनमा आधारित निर्देशित राजसत्ता सञ्चालन गर्ने मियो हो । पानीजहाज चलाउने कर्णधार जस्तो अगुवा हो । मुलुकको सम्पूर्ण विषयमा यसको प्रभुता रहन्छ । लेखनी त्यसभित्रको एक भाग हो । जनपक्षीय लेखनीले राजनीतिले बहुसंख्यक जनताको पक्षमा काम गरेर, सत्य र न्यायको पक्षमा लागेर कल्याणकारी काम गरेको जनताले महशुस गरेको देख्न चाहन्छ । राजनैतिक सत्ताले जनताको सेवा गर्दाको गतिला विषयको सकारात्मक पात्रको सिर्जना गर्न सकिन्छ भने गलत कार्यका विषयमा खबरदारी गरेर लेखनी सक्रिय रहन सक्नु पर्दछ । यो नै राजनीति र लेखनीको अन्तरसम्बन्ध हो । दुवैको अन्तरसम्बन्ध वैज्ञानिक विश्वदृष्टिकोणमा आधारित हुनुपर्दछ । यो नै जनपक्षीय कुरा हो ।

० यहाँले कसरी यी दुवै क्षेत्रलाई संयोजन गरी रहनु भएको छ ?
राजनीतिको र लेखनीको वैज्ञानिक विश्वदृष्टिकोण समान छ भने यो संयोजन गर्न कठिनाई हुन सक्दैन । पहिले भनेजस्तै जनपक्षीय राजनीति भएसम्म जनपक्षीय लेखनी सँगसँगै सहयात्रामा लाग्न सक्छ । जनविरोधी कामले जनपक्षीय लेखनीको सहयात्रा हुन सक्दैन । हामीले वैज्ञानिक विश्वदृष्टिकोण अनुसारको राजनीतिसित सचेतना (चेतनाकरण) साहित्यकारहरूको संगठन र सिर्जनामा सशक्तिकरण गरेर राजनीति र लेखनीबीचमा संयोजन गरिरहेका छौँ ।

० विधागतरूपमा यहाँको साहित्यिक परिचय के हो ?
कविताबाट मेरो लेखनी सुरु भएको हो । मेरा तीन कविता संग्रह, एक कथा संग्रह र दुई नियात्रा प्रकाशित छन ।

० के भइदिए नेपाली साहित्यले सिर्जनशील फड्को माथ्र्र्याेे जस्तो लाग्छ ?
लेख्नु अन्तर्मनको वेदना, अनुभूति, भावना, विचार पोखेर मनलाई शान्त पार्नु मात्र होइन । कुनै कुराको लक्ष्य उद्देश्य हुन्छ । त्यो आ–आफनो दृष्टिकोण अनुसार प्रकट हुन्छ । स्वतन्त्र, उन्मुक्त निस्काम कर्मका साथ स्रष्टाको कलम चल्छ । यो कलमले पाठकको मन छुन सकेको हुन्छ भने लेखकको रचना प्रकाशन भएपछि बढीभन्दा बढी पाठकहरू समक्ष पुग्नुपर्छ ।

लेखक भोको भएर लेखिरहन सक्दैन । उसले आवश्यकतानुसार प्रतिफल पाउनुपर्छ । कतै कतै पारिश्रमिकको व्यवस्था भए पनि यो व्यापक छैन । यसलाई व्यापक पार्नुपर्छ । लेखक भोकै पर्ने प्रकाशक मोटाउने चलन निर्मूल पार्नुपर्छ । होइन भने जनकवि गोकुल जोशीले भनेजस्तै
भोक भोकै मर्न लागे कवि कलाकार ।
तडपाएर नमारि देउ, झुण्डयाएर मार ।

भनेजस्तै हुन के बेर ?
त्यसैले लेखेर मात्र होइन गतिलो प्रकाशन, वितरण र मूल्यको प्रतिफल यथोचित व्यवस्थापन गरेर लेखक बाँच्न सक्छन् । लेखक बाँचे मात्र नयाँ नयाँ सिर्जना बढ्ने साहित्य जगतले नयाँ नयाँ फड्को मार्नेछ ।

० अन्तमा
साहित्यका बारेमा चासो राखेर तपाईंले यी विषयहरू उठाउनु भयो । यस प्रकारको छलफल निरन्तर चल्नुपर्छ । हामी हरेक कुरालाई वैज्ञानिक विश्वदृष्टिकोणबाट सकारात्मक सोच र व्यवहारबाट अगाडि बढ्नु आजको आवश्यकता भएको छ । गतिशील समृद्ध र सुखी जीवनको लागि साहित्य हो । त्यसतर्फको सफलताको बाटोमा लागेर उपलव्धि हासिल गर्न सक्नेछौँ । धन्यवाद ।

प्रतिक्रिया